कला

अन्तिमाको हांसो

लघुकथा

विश्वनाथ खनाल  

 

सुन वर्णको गोलो सुन्दर अनुहार, हांस्दा ख‍ोपिल्टा पर्ने गाला, सेता मिलेका दन्त लहर, न अग्ली न होची उसको भौतिक परिचय यस्तो छ। मन सङ्लो झर्ना जस्तो निश्छल सबैसँग समान व्यवहार र हार्दिकता विशेष गुण हो। आउनुस् ! बस्नुस ! स्वागत छ यहांहरूलाई हाम्रो होटलमा। धम्पुसमा खानाको होटल चलाएर आफ्नो गुजारा चलाएर बस्ने स्थानीय समुदायको अन्तिमा मगरको सतही नालीबेली हो। उसको अन्तरहृदयमा चलिरहने आंधीहुरीबारे धेरै कम मानिसलाई थाहा छ।

कास्की मर्दी हिमाल ट्रेकिङ रुटमा काम गर्ने उत्तर आले आउँदाजाँदा अन्तिमालाई नभेटी एउटा न एउटा उपहार नदिई हिंडदैन थियो । अन्तिमा र उत्तरले जिन्दगीको सुखद सपना देखे। कहिले हुने हाम्रो मिलन ? गुराँसजस्तै फुलेर सोधेकी थिई उत्तरसँग। उसको अनुहारमा हेरेर भरोसा दिलाएको थियो अन्तिमालाई। यो भ्रमण सकाएर आएपछि तिम्रो बाआमासँग माग्न आउँछ।  नारीसुलभ गहना लाजले अन्तिमाको अनुहारमा घु्म्टो हाल्यो।

पोहोरको हिउँदे झरीमा आएको हिमपहिरोले मर्दी हिमालको बेस क्याम्पमा बास बस्ने एघार जनालाई एकै गांस बनायो। खबर सुनेर बेहोस भएकी थिई। अन्तिमाको आंखा साउने झरीझैं वर्षिरह्यो। हरेक दिन घरको माथि गएर मर्दी हिमाल हेरेर टोलाइरहन्छे। मनभित्र संधै उत्तरको यादको हिमपहिरो र आंधीले चिसो भैरहन्छे अन्तिमा। अचेल उसको हांसोमा गुराँस फुल्दैन – हांसो त फुल्छ तर गुजाराको एकछाक भातको व्यापार मात्र ...।

प्रकाशित: ९ श्रावण २०७८ ०४:३० शनिबार

अक्षर