कला

मदन भण्डारी र केपी ओलीले भनेका थिए– शुभचिन्तक भएर बस्नू...

सबै कमिटीबाट निलम्बन वा निष्कासन गर्ने निर्णय भइसकेपछि वामदेव गौतमले सोधे, ‘अन्तिममा भन्ने तपाईंको केही छ कि?’

मार हान्नुअघि पानी छम्कने वधकको अगाडि जसरी टाउको हल्लाए पनि आखिर अर्थ निस्कने त मार हान्ने नै हो। जीवन मगरले जवाफ दिए, ‘पार्टीको निम्ति बूढा भएका बाआमा त्यागेर हिँडेँ। जीवनभरि बाआमालाई रुवाएर पार्टीको सेवा गरेँ। अहिले आएर काम गरिरहेको एक इमानदार कार्यकर्तालाई तपाईंहरूले जुन व्यवहार गर्नुभएको छ, यसले मेरा ती बूढा बाआमाको आँसुको श्राप तपाईंहरूलाई लाग्नेछ।’  

जीवन मगरजस्ता कार्यकर्ताका बूढा बाआमाको श्राप वामदेव गौतमहरूलाई कति लाग्यो वा लागेन, भौतिकवादी दुनियाँमा के हिसाब! तर, जीवनभरि बाआमालाई रुवाएर पार्टीको सेवा गर्ने कार्यकर्ताको बिचल्लीको कथा भने बेहिसाब छ। बाआमालाई रुवाएरै देश दुनियाँको मुहारमा खुसी छर्ने सपना बोकेर घर छाड्ने कार्यकर्ताहरू त्यति बेला एकअर्काप्रतिको ‘कमरेड्ली’ भावनामा मुक्ति युद्धमा होमिएका थिए । यति बेला ‘कमरेड’को स्थान ‘बा’ले लिएको छ।  

उतिबेलाका ‘कमरेड’ र यतिबेला ‘बा’को भावभंगिमामा प्रकट भएका नेता र तिनका पछुवाको राजनीतिक कलेवर कहीँकतै मेल खाँदैनन् । मेल खाँदो हो त, पदच्युत हुनुपरेको झोँकमा घरको बार्दलीबाट दशकौँ पुराना मित्रलाई धारेहात लगाएर बहुरंगी राजनीतिक विकृतिका अनेक मानक खडा गरिरहेका एमाले अध्यक्षले देख्ने थिए– अर्जुनधाराको सिस्नेमा घाँसदाउरा गरिरहेका झापा विद्रोहका मानकुमार तामाङलाई। र, टिमाई किनारमा सुकुम्बासी जीवन बिताइरहेका ठूलो दुर्गा अधिकारीलाई माओवादी नेता राम कार्कीले बासको व्यवस्था गरिदिँदा लज्जा महसुस गरेको थाहा पाइने थियो।  

२०२८ जेठ २ गतेदेखि झापामा ‘वर्गशत्रु खतम अभियान’ सुरु गरिएको थियो। त्यस्तो अभियान चलाउने कार्यकर्ता र समर्थकलाई विभिन्न ठाउँबाट समातेर केहीलाई ललितपुरको नख्खु जेलमा थुनिएको थियो । २०२८ वैशाख १० गते पूर्वी कोसी प्रान्तीय कमिटीसँग विद्रोह गरेका झापाली नवयुवाले गुरिल्ला संघर्ष चलाउने निर्णय गरेपछि झापाली विद्रोह सतहमा आएको थियो। केन्द्रीय कमिटी भन्ने कुनै संरचना नभए पनि उनीहरूले नेकपा झापा जिल्ला कमिटी भनेर संगठित हुँदै झापामै केन्द्रित रहेर गतिविधि थालेका थिए।

सो गतिविधिमा सामेल भएका केही झापाली युवा र तिनको समर्थनमा काठमाडौंमा गतिविधि गर्ने थप युवा नख्खु जेलमा थिए। त्यो जेलबाट सुरुङ खनेर २०३३ चैत १२ गते राति भागेका १५ कम्युनिस्ट कार्यकर्ताको कथा नै चर्चित जेल ब्रेक काण्ड हो। भाग्नेहरू थिए– अशोक न्यौपाने, कामेश्वर हलुवाई, गोपाल शाक्य, घनेन्द्र बस्नेत, जीवन मगर, धर्म घिमिरे, नरेश खरेल, नारद वाग्ले, प्रदीप नेपाल, भीष्म धिमाल, माधव पौडेल, राजेन राजवंशी, वीरबहादुर लामा, सिपी मैनाली र हर्क खड्का। तीमध्ये सबैभन्दा वरिष्ठ नेता थिए, सिपी मैनाली, जो झापा विद्रोह सुरु गर्दा २० वर्ष पुग्दै थिए भने जेल ब्रेक गर्दा २५।

आफू जन्मनुभन्दा अघिका ती जेल ब्रेकरहरूले नेपालको राजनीतिमा गरेको हस्तक्षेपका कथाबारे थाहा पाएदेखि बाल मस्तिष्कमा प्रभाव नपर्ने कुरै भएन। संयोगवश त्यो छापलाई लेखनमा उतार्ने मौका भने करिब २० वर्षपछि धारावाहिक रूपमै जुर्‍यो। एमालेको आधिकारिकताको दाबीबाहिर निस्केर ‘जनआस्था’ साप्ताहिक प्रकाशन हुन थालेदेखि जेलब्रेकअघि र पछिका जेलब्रेकरको जीवनको तिलस्मी कथा करिब दुई वर्ष लगातार लेख्दा प्राप्त प्रतिक्रिया प्रायः सबै उत्साहप्रद रहे। र, सोचेजसरी त्यो लेखन शृंखला बिसाउन बाँकी रहे पनि ती विद्रोहीमध्ये धेरैसँग बाक्लै सान्निध्य भयो । तीमध्ये कतिपय पात्र नेपाली राजनीतिको केन्द्रीय खेलाडी भए, अधिकांश मध्यम र केही त तृणमूल तहमै हराए, हराइरहेका छन्।  

अशोक न्यौपाने फ्रान्सको राजधानी पेरिस पुगेर सामान्य जीवन बिताउँदै केही वर्षअघि यस संसारबाट बिदा भए भने कामेश्वर हलुवाई राजनीतिको दृश्यमा देखापरेनन्। पहिलो संविधानसभाको चुनावमा जेल ब्रेकका अर्का सहयोद्धा एमाले उम्मेदवार नरेश खरेललाई तेस्रो स्थानमा छाड्दै माओवादीबाट धर्म घिमिरेले चुनाव जिते, झापा–१ बाट। तर, उनी राजनीतिको केन्द्रीय पात्र हुन सकेनन्। उनी २०७६ फागुन २० गते भारत पश्चिम बंगालको बागडोग्रा एसियन हाइवेमा मृत फेला परे।  

सोही चुनावमा झापा– ५ बाट हर्क खड्का पनि माओवादी उम्मेदवार भएर चुनाव लडे। तर, कांग्रेसका केशवकुमार बुढाथोकीसँग करिब नौ सय मतले हारे। झापा आन्दोलनका सैनिक कमान्डर मानिने खड्का जीवनका अनेक उकालीओराली पार गर्दै राजनीतिमा फेरि एकपटक जोडिएका भए पनि करिब दुई वर्षयता नेपालमा छैनन्, भारतको आसाम भासिए।  

मकवानपुरका जिविस सभापति र सांसद हुँदै नेकपाको केन्द्रीय सदस्यसम्म भएका वीरबहादुर लामा मिर्गौलाका बिरामी थिए, पोहोर कात्तिक ८ गते निमोनियासँग हारे र संसारबाट बिदा भए।  

त्यही संविधानसभामा अर्का जेल ब्रेकर भीष्म धिमाललाई पनि माओवादीले समानुपातिक प्रक्रियाबाट संविधानसभाको सदस्य बनायो। उनी काठमाडौंतिरै पशुपालनमा रमाए। राजेन राजवंशी झापा आन्दोलनलाई सघाउन पश्चिम भारत बंगालबाट आएका क्रान्तिकारी थिए। करिब अढाइ दशकअघि छोरीको विवाह खर्चका लागि केही सहयोग जुटिहाल्छ कि भनेर एकपटक काठमाडौं आएबाहेक उनको नेपाली राजनीतिसँग खासै नाता कायम भएन।  

यी सन्दर्भमा के देखिन्छ भने, जेल ब्रेकका पात्रहरू कि त राजनीतिमै भएनन्, कि झापाली विद्रोहको विरासत बोकेको एमालेमै रहेनन्, कि त एमाले भएरै सक्रिय रहे, रहिरहेका छन्। पार्टीबाटै निकालिसकेपछि वामदेव गौतमले अन्तिम इच्छा सोधेका जीवन मगर भने त्यस्ता पात्र हुन्, जो माथि उल्लेख गरिएका कुनै पनि कोटिमा पर्दैनन्। न उनी पार्टी छाडेर अन्त लागे, न त पार्टीमा रहनै पाए। न त नरहन चाहेका थिए।  

६ महिनाको अवधिमा २० शृंखला लामो जीवन मगरको अतीत लेखेको २६ वर्षपछि फेरि उनको बारेमा अलिकति लेख्न मन लागेको छ। त्यतिबेला उनले पढेका थिए र सुझाव पनि दिएका थिए। तर, आज समयले कावा खाएको छ। घरमा लडेर मस्तिष्कमा गम्भीर चोट लागेका उनको असार ७ गते ६३ वर्षको उमेरमा निधन भयो। कुटो, पन्यू र थोत्रो छाताको डाँठका भरमा नख्खु जेलबाट निस्कने अभियानमा सुरुङ खन्दा सबैभन्दा अगाडि र सुरुङबाट निस्कँदा सबै निस्किइसकेको सुनिश्चित गर्दै सबैभन्दा पछाडि निस्केका जीवनको मन्द मुस्कान, मधुर बोली र गम्भीर मुद्रा बिलाएको छ। उनीभित्र दबिएर रहेका राजनीतिक भाव पनि सदाका लागि माटामा विलीन भएका छन्।  

नख्खु जेल ब्रेकपछि सुरक्षित रूपमा झापा पुगेर पार्टीको काममा गाँसिएका उनी २०२९ को माघे संक्रान्तिका दिन नारायण श्रेष्ठ र कृष्ण कुइँकेलसँगै गौरादहबाट पक्राउ परेका थिए। श्रेष्ठ र कुइँकेलसँगै नेत्र घिमिरे, रामनाथ दाहाल र वीरेन राजवंशीलाई त्यसै वर्षको फागुन २१ गते इलाम जेल सार्ने नाममा सुखानीको जंगलमा लगेर गोली ठोकेर हत्या गरिएको थियो । जीवन भने १६ वर्षभन्दा कम उमेरको भएकाले जोगिएका थिए।  

जेल ब्रेकपछि भूमिगत राजनीतिमा सफलतापूवर्क सक्रिय रहे, जीवन। २०३५ चैत २७ गते जन्मदिनमै रत्नकुमार बान्तवाको हत्या भएपछि इलाम जिल्ला कमिटी सचिव भएर जीवनले पार्टीको जिम्मेवारी सम्हाले । २०३७ सालमा रुकुम, रोल्पा, सल्यान, प्युठानजस्ता मगरबहुल क्षेत्रमा सरुवा भए । रोल्पा र सल्यानको सचिव नै भए, ज्ञानु श्रेष्ठका नामले काम गरे। २०३९ देखि ध्रुव मल्ल बनेर कर्णाली, सेती, महाकालीमा पार्टीको काम गरे। जीवन नै जोखिममा हालेर गरेका अनेक एक्सनको परिणाम भने जीवनले सजायका रूपमा पाए, आफैँले रगत–पसिना बगाएको पार्टीबाट। उनीमाथि चारित्रिक अभियोग लाग्यो । कैलालीको फूलबारी, पच्चीस घरेमा काम गर्दाका उनका गतिविधि शंकास्पद भएको बताइयो। जीवनले त्यो आरोपलाई सधैँ खण्डन गरिरहे।  

पार्टी स्वतन्त्रताका क्षेत्रीय वाहक भनेर जीवनलाई मात्र होइन, त्यो विचारका समर्थक सबैलाई सिपी मैनालीको अन्धभक्तका रूपमा चित्रित गर्ने बेला थियो त्यो। २०३८ सालदेखि यो क्रम सुरु भइसकेको थियो। २०४० सालतिर आइपुग्दा यसले तीव्र रूप लिएको थियो। राजनीतिक स्वतन्त्रताका पक्षधरहरू हाबी हुँदै गएका थिए । त्यही राजनीतिक आग्रहका आधारमा गरिएको कोपभाजनको सिकार भएको महसुस गरेर जीवन यस संसारबाट बिदा भइसकेका छन्।  

त्यही क्रममा वामदेवले अन्तिम कुरा केही छ कि भनेर सोधेका थिए, त्यति बेला उनले जे भने पनि परिणाममा केही फरक पर्नेवाला थिएन। उनलाई सुदूर पश्चिम क्षेत्रीय कमिटीअन्तर्गत तीन अञ्चल (कर्णाली, सेती र महाकाली) हेर्ने गरी दिइएको ‘इन्चार्ज’को जिम्मेवारी खोसिइएको थियो । कैलाली र कञ्चनपुरको सचिवको जिम्मेवारीबाट पनि च्युत गरियो।  

त्यतिले मात्रै चित्त नबुझेर केन्द्रीय सदस्य वामदेव गौतमले केन्द्रीय कमिटीमा थप सख्त कारबाहीको माग गरे। सो कारबाहीका विरुद्ध केन्द्रीय कमिटी समक्ष अपिल गर्ने ठाउँ बाँकी भए पनि त्यो अपिल वामदेवमार्फत नै पठाउनुपथ्र्यो । तर, त्यस्तो अपिलको केही अर्थ भएन। एकपछि अर्को आरोप लगाउँदै, पुष्टि गर्दै र कारबाही गर्दै उनलाई पार्टीका सबै कमिटीबाट निष्कासन गरियो, पार्टी सदस्यताबाटै निलम्बन गरियो। अन्ततः २०४२ सालको भदौमा देशबाटै निकाला गरियो।  

‘उत्पादन संघर्ष गर्दै राजनीतिक काममा लगाउने’ भनेर भारत प्रवासमा खटाइएका उनी कारबाही फुकुवा हुने प्रतीक्षामा दिलीप थापाको नाममा पार्टीको काममा खटिइरहे, कारबाही फुकुवा भएन। बरु निलम्बन मात्र गरिएको पार्टी सदस्यताबाट निष्कासन नै गरिएको पत्र पाए। यसपछि पनि उनकोे अपिल सुन्दै पार्टीले कहिले राधाकृष्ण मैनाली, कहिले जीवराज आश्रित त कहिले केपी ओली रहेको आयोग बनाउने तर परिणाम फरक नपर्ने क्रम जारी रह्यो । उनको माग केही थिएन, पार्टीमा उपयुक्त काम गर्न पाऊँ भन्नेबाहेक। तर, उनलाई जीवनभरि पार्टीमा फर्कन दिइएन।

राजनीतिक अवस्था फेरियो । मुलुकमा पटक–पटक राजनीतिक व्यवस्था नै परिवर्तन भए। बनारसका विभिन्न छापाखानाको प्रुफ रिडिङको काम लिएर गुजारा चलाइरहेका उनी सिपीले फोन गरेर बोलाएपछि २०४७ सालमा स्वदेश फर्किए । कार्यकर्ताहरू नेता भए, नेताहरू झन् ठूला नेता भए। तर, उनको सक्रिय राजनीतिक जीवन बिताउने चाहना कहिल्यै पूरा भएन।  

व्यक्तिगत रूपमा पनि प्रायः सबैजसो ठूला नेतासँग उनले त्यो माग पूरा गरिदिन आग्रह गरिरहे। उनले नै भनेअनुसार मदन भण्डारी र केपी ओलीले यतिसम्म चाहिँ आश्वासन दिएका थिए रे– शुभचिन्तक भएर बस्नू, हरेक गतिविधिको मूल्यांकन हुनेछ। यसबीचमा अनेक राजनीतिक उतारचढाव भए, तर उनको जीवनमा कुनै फेरबदल आएन। आखिर सिपी मैनालीसँग बनारसमा बस्दा सिकेको छपाइशुद्धि हेर्ने कामलाई गुजाराको माध्यम र सिपीले नै जुराइदिएको जैतून रिखाम मगर भन्ने नामलाई पहिचान बनाएर उनले अन्तिम समयसम्म कान्तिपुर दैनिकमा श्रम गरेर जीवन बिताए। यस्ता हजारौँ राजनीतिक कार्यकर्ताको रगत, पसिना र तिनका हजारौँ बूढा बाआमाको आँसु आहालमा चलिरहेको छ, राजनीतिको नौका। यस्तो नरक यात्रामा पनि कुनै दिन त कसो बिराम नलाग्ला र ? राजनीतिको आदर्शवादी र आशावादी चाहनाले यस्तै अपेक्षा गर्छ, यथार्थ चालू रहन्छ। यही यथार्थ र आदर्शको चेपुवामा परेर किनारीकृत राजनीतिक यात्राका एक अतृप्त आत्मा जीवन मगरको मृत्युको मासिकीमा उनी र उनीजस्ता तमाम पददलित आत्माप्रति हार्दिक श्रद्धाञ्जलि, सहभोक्ताहरूप्रति हार्दिक समवेदना!

प्रकाशित: ९ श्रावण २०७८ ०२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App