कला

मेरो सानो भाइ

बालकविता

सरस्वती श्रेष्ठ सरू

 

दिदीसँग म पनि  

क क गर्छु भनेर  

बजाउँदै थपडी

आयो भाइ मनेर

 

मेरो हात समाती

किताब लियो तानेर

हेरी हाँस्यो मुसुक्क

रमाइलो मानेर

 

देख्यो चित्र गाईको

बाँबाँ गर्दै करायो

अर्को पाना पल्टाई

देखाउँछ खरायो  

 

पढ्न थाल्छ ल ल लु

आफ्नै लय झिकेर  

लेखेँ भन्छ क क कु

धर्को तान्न सिकेर

 

म नि जान्छु स्कुल

भन्दै झोला बोक्दछ

रुँदै –रुँदै पछ्याई  

मेरो बाटो रोक्दछ

 

मिठी ल्याउँछु भरे म  

मेरो प्यारो सानुलाई

उस्को हात फुत्काएँ  

बल्लतल्ल फकाई 

 

खाजा खाने रुपियाँ  

राखी थोरै बचाई

हाक्का आऊ दिदीको

ल्याएकी छु मिठाई।

प्रकाशित: ९ श्रावण २०७८ ००:४६ शनिबार

अक्षर