लता केसी
फेरि साउन महिना आयो। उनको मन चस्स भयो। पोहोरको घटना मानसपटलमा घुम्न थाल्यो। फोनमा दाइले भनेका थिए , ‘बुवालाई अस्पताल भर्ना गरियो। अन्तिम दर्शनलाई माइत आउनू भनेर !’
अलिकति औषधि खर्च र बाँचेकै अवस्थामा बुबाको इच्छा पूरा गरिदिने मन पनि लागेको थियो उनलाई ! माइत जान्छु भनेर घरमा खर्च र अनुमति मागिन्। घरकाले विरोध जनाउँदै भनेका थिए, ‘छोरी भएर माइती धान्न परेन। दाइ मरेका छन् र बाउ हेर्न पर्याे।’
ऊ बेला नमीठो वचन सुन्नुपरेको थियो। इच्छा मारेर घरै बस्नुपरेको थियो।
भोलि बुबाको वार्षिक तिथि ! माइती जान पाइने होइन। दुई भाग सिदा दान भए पनि यतै गर्नुपर्यो भनेर तयारी गर्न लागिन्। यसपाला कसैलाई केही सोधिनन् उनले। अलिकति जोहो राखेको पोको निकालिन्। चाहिने सामान सबै किनिन्।
पुरोहितलाई ‘भोलि बिहानै घर आउनू ’ भनेर खबर गर्न फोन उठाइन्। तर, निमेषभरमै मनले विरोध गर्याे, ‘आ... होस् है, बाँचेका बेला त केही गर्न पाइएन भने मरेपछि पण्डित पोसेर के नाटक गर्नु ? ’
प्रकाशित: ६ श्रावण २०७८ ०६:०९ बुधबार