कला

प्रवृत्ति

लघुकथा

प्रकाश खड्का अभियान

 

‘बुबा ! तपाईले मेरो लागि के गर्नुभयो ? स्कूल पठाउनुभयो। त्यो पनि निशुल्क सरकारी स्कुलमा । खानलाउन दिनुभयो तर आङ्ग ढाक्न र पेट भर्न मात्र। मेरा सबै आवश्यकता पूरा हुन्थे त एैले मेरो जीवन अर्कै हुन्थ्यो। गरिब किसानको घरमा जन्मिनु पनि महापापै भयो।’ छोराले बुबासंग असन्तोष प्रकट गरेथ्यो।

’बाबु, खुसी हौ न पढ्न पायौ। कत्तिले त पढ्न पाएका छैनन्। मेहनतको कमाइले बढाएँ , पढाएँ । तिमी आफैले केही गर अब त । म पनि कत्ति नै बाँच्छु होला र ?’ बुबाले सम्झाउने प्रयास गर्दै थिए।

‘केही गर्न कि त आफ्नो मान्छे  कि  त पैसा हुनुपर्यो।  त्यो दुवै छैन भने कसरीे लाग्ने उँभो ? बरु घरघडेरी बन्धकी राखेर भए पनि विदेश पठाइदिनु।’ छोराले घुर्की लाउँदै थियो।

आफ्नो भाग्य आफैले कोर्ने हो। गरिब किसानको छोरो अब्राह्म लिंकन अमेरिकाको सोह्रौं राष्ट्रपति भए। उच्च शिक्षा नपढेका विल गेट्स संसारका धनी भए। नहुनेले केही भएर देखाउनु नै सफल हुनु हो। यहीँ माटोमा खनजोत गरेर सुन फला बाबै।

हेर बाबै ! मैले तिमीलाई शिक्षा दिएँ।  संस्कार दिएँ र बस्नका लागि बास दिए। आमाबाबाको अखण्ड माया दिए। गरेर खान जमिन दिएँ। तिमीसँग ऐले हरचिज छ जसको सदुपयोग गरेर आफ्नो भविष्य आफैले निर्माण गर्न सक्छौ।’

बुबाको कुरा सुनेर एकछिन त छोरो सोचमग्न हुन्छ।

‘गर्छु भन्नेलाई नि केही गर्न दिँदैनन्।  किसानै बनाउनु थियो त किन पढाएको ? म त विदेश लागे’ भनेर गएको छोरो फर्केन। खेतीयोग्य जमिन बाँझै रह्यो। बुबाको मेहनतको पसिना बालुवामाथि नै पोखियो।  

प्रकाशित: ६ श्रावण २०७८ ०२:४२ बुधबार

अक्षर