कला

सबैको साझा घर

बालकविता

 मन्जु ज्ञवाली 

 

आँगनमा हकरले अखबार फाल्या छन् ,

जाऊ बाबु ल्याऊ त केके खबर छन्।

खुरुरु एकैछिनमा तल पुगें म,

सुलुलु सर्प देखें कस्तो तर्सें म।

 

यसो हेर्दा छिर्केमिर्के डोरीजस्तो छ,

सर्प हो कि डोरी हो कस्तोकस्तो छ।

ए आमा, ए बाबा तल आउनुस् न,  

कत्रो ठूलो सर्प रैछ यस्लाई मार्नुस् न।

 

खैखै भन्दै बाबा दौड्दै तल आउनुभो ,

बडेमानको लठ्ठी बोकी दादा आउनुभो।

धुप, ध्वजा, टिका बोकी आमा आउनुभो,

भागभाग पर भन्दै दिदी आउनुभो।  

 

मारौं – मारौं यसलाई दादा भन्नुहुन्छ,  

मार्नु हुन्न नाग देउतालाई आमा भन्नुहुन्छ।  

मट्टितेल छर्के भाग्छ दिदी भन्नुहुन्छ  

पर्यावरण जोगाउनु छ बाबा भन्नुहुन्छ।

 

नजिस्क्याए नचलाए त्यस्ले टोक्दैन,  

हावालाई शुद्ध पार्छ हानि गर्दैन।

मार्नु हुन्न जीवजन्तु तिनलाई पिर्नु हुन्न ,

अनाहकमा कसैलाई दुःख दिनु हुन्न।

 

पृथ्वी यो सबैको साझा घर हो ,

बाँच्न पाउने सबैको अधिकार हो।

प्रकाशित: ३ श्रावण २०७८ ०८:४० आइतबार

अक्षर