कला

आँखाका मौन आवाज

कविता

सपना थापा 

 

क्षितिजबाट आउँदै गरेको बादल देखेर

पहाडबाट गुज्रदै गरेका परेवाका हुल देखेर  

मलाई थोरै विगतमा लगिदिन्छ

अनि

कपाल सम्याउँदै गर्दा  

ऐनामा परावर्तन भएको मेरो आँखामा

माइती देशका झल्काले सम्झाउँछ

आफ्नो कपाल जब ऐनामा हेर्छु  

अनि

हिउँझै फुलेकी आमालाई सम्झिन्छु

सम्झनामा डुबुल्की मारेर  

छ हजार चार सय अठहत्तर किमी लामो दूरी  

मेरो मनले एकै सेकेण्डमा

पूरा गरेर नेपाल पुग्छ  

जब ऐनामा आफ्ना दाँतसँग

बाबाका फुस्केका दाँत देख्छु  

अनि सम्झन्छु

माइती देशमा खाएका मिष्ठान्नहरू

मकैको खोयामा देखिएका डोबहरूभन्दा

असंख्य सम्झनाका डोबहरूले

मलाई तानिरहन्छन् नेपालतिर

एकनास भुकिरहेको कुकुरको

साङ्लोलाई त मैले फुकाइसकें

तर सम्झनामा अडिएको साङ्लोलाई

म फुकाउन सक्दिन

अनि छोरीलाई  

लिएर पर बादलमा देखाउँदै भन्छु

ऊ त्यो बादलपारि तिमीलाई

यहाँभन्दा माया गर्ने मामाघर छ

छोरीले मेरा आँखाका आँसु पुछ्दै

अमुक र मौन तरीकाले भन्छे–

आमा, तपाईका आँखामा मातृप्रेम छचल्किरहेछ,  

जो म हजुरको काखमा बसेर पाइरहेछु।  

प्रकाशित: ३ श्रावण २०७८ ०७:२४ आइतबार

अक्षर