कला

भरोसा

लघुकथा

उमाकान्त पोखरेल

 

अस्तित्व एक जीवंत समग्रता हो। प्रत्येक चीज अन्य हरचीजसँग सम्बन्धित छन् । घाँसको एक सानो पत्ता पनि हजारौं–लाखौं प्रकाश वर्ष दूर स्थित ताराहरूसँग जोडिएका छन्। यो रहस्य एक अनौठो रहस्य भएर आज पनि हामीमाझ स्थापित छ।

आफ्नो सुविधाको लागि नै भए पनि मानिसले पहिलेदेखि नै ईश्वरको परिकल्पना गरेर हाम्रो मानसपटलमा स्थापित गरिदिएका हुँदा हामी सबैको मनोविज्ञानमा यसले प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पारेको अवस्था छ।

निशान ८ वर्षको छ। उसले सुनेको छ ईश्वर दयालु हुन्छन् । ईश्वरले प्रत्येक दुः खी मानिसलाई मद्दत गर्छन्।

उसलाई २ सय रुपैयाँको जरुरत छ। उनका बुबा उपचारार्थ हस्पिटलमा छन्। उनलाई भगवानको ठेगाना थाहा नभए पनि भगवानलाई एक पत्र लेख्छन् र हुलाकमार्फत सो चिट्ठी प्रेषित गर्छन्। हुलाक कर्मचारीलाई उक्त  पत्र अनौठो लागेर पत्र खोलेर पढछन्। पत्रमा लेखिएको थियो – मेरा बुबा ज्यादै विरामी हुनुहुनुन्छ। उहाँलाई उपचार नगरे मृत्यु निश्चित् छ तर उपचारको लागि मसँग एकपैसा छैन।

– हे ईश्वर ! मलाई बस् एकपटक २ सय रुपैयाँ पठाइदिनुहोस् । त्यसपछि म कहिल्यै तपाईसँग केही माग्ने छैन।

यस्तो पत्र देखेपछि हुलाक कर्मचारी आश्चर्यमा परेर विचार्छन् –“केही न केही त गर्नै पर्याे नत्र यो बालक निरास हुनेछ।”

उनी पनि त्यति सम्पन्न नभएकाले अन्य सबै साथीसँग थोरैथोरै मागेर उनले १ सय ९५ रुपैयाँ जम्मा पार्छन् र सोच्न थाल्छन् – धन्य, पूरा रुपैयाँ जम्मा नभए नि केही त जम्मा भयो । उनले बालकलाई रुपैयाँ पठाउँछन्।

मनी अर्डर पाएपछि निशान रिसाउँछन् र ईश्वरलाई भन्छन् – “सुन्नुहोस् भगवान्– तपाईले अर्काे पटक पैसा पठाउँदा हुलाकमार्फत नपठाउनुहोला किनकि हुलाकका कर्मचारी खराब रहेछन् । उनीहरूले आफ्नो कमिसन कटाएछन् पाँच रुपैयाँ।”                          

प्रकाशित: ३ श्रावण २०७८ ०३:१३ आइतबार

अक्षर