कला

स्वार्थबिना आफ्नो सन्तान पनि आफ्नो हुन्न यहाँ

मुक्तक

 कमला घिमिरे 

 

                   १)

अर्कालाई खुच्चिङ भन्नेले आफ्नो भविष्य कैल्यै सोच्दो रैनछ,

आपत्तिमा गिड्गिडाउने मान्छेले अरूको भलो खोज्दो रैनछ।

कति स्वार्थी हो दुनियाँ बलेको आगो मात्र ताप्ने सबै,

उज्ज्वल भविष्य त आफ्नोबाहेक अर्काको रच्दो रैनछ।

                  २)

स्वार्थबिना आफ्नो सन्तान पनि आफ्नो हुन्न यहाँ,

पानीजस्तै तल बग्ने हो माया पछाडिकालाई छुन्न यहाँ।

माया नभए पनि थोरै मानवीय संवेदना भए हुन्थ्यो,

सिर्फ आफ्नोमा मात्र हो,अर्काको पीडामा कोही रुन्न यहाँ।

                     ३)

जसले अरूलाई केही गर्दैन उसैले अरूबाट बढी खोज्दो रैछ,

जसले लिन मात्र जानेको छ दिन कहिल्यै नखोज्द‍ो रैछ।

थाहै छैन, लिनुमा भन्दा दिनुमा कति आनन्द आँउछ,

परिस्थिति नबुझी जसोतसो आफ्नो उठाउनु सोच्दो रैछ।

                 ४)

पौन नजान्ने प्राणी महासागरमा पर्दा कस्तो हुन्छ होला ?

तारिदिने कुनै अपरिचित भेटे उसको पाउ नै छुन्छ होला।

जस्तै  मुनामदनमा मदनले भोटेको पाउ छोएथे,

गरेको गुन उल्टो भएर फर्कँदा मन कति रुन्छ होला।

                ५)

बलेको आगो ताप्दाताप्दै त्यसैबाट जल्न पनि त सकिन्छ,

निभ्यो भनेर नछोडौँ, सानो मिहिनेतले बाल्न पनि त सकिन्छ।

भनिन्छ विषबिनाको सर्प र ईख बिनाको मान्छे कामै छैन,

जिरो माइनसमा पनि संघर्ष गरौँ पछि सान्दार चल्न पनि त सकिन्छ।

प्रकाशित: ३ श्रावण २०७८ ०२:२२ आइतबार

अक्षर