शेखरकुमार श्रेष्ठ
१) समय
बिहान उठी हात र मुख पहिले धुन्छु म,
आँगनीबिच गएर उफ्री व्यायाम गर्छु म।
घामको ज्योति जिउमा पारी ढोग्दछु सूर्य म,
घामझैँ चम्कूँ, उज्यालो छरूँ, पृथ्वी ढोग्छु म।
चिया र नास्ता खाएर केही किताब पढ्छु म,
किताब, कापी कलम, खाजा झोलामा राख्छु म।
म खाना खान्छु, म स्कुल जान्छु, हत्तार गर्दिनँ
समय ख्याल गरेर हिँड्छु, धोकामा पर्दिनँ।
समयसँगै काममा लागे, सबैको पियारो
समय खेर फालेन भने, पर्दैन अपठ्यारो।
२) किताब
बाहिर गाता भित्र छ ज्ञान पल्टाई हेरौँ न,
समाज, गाउँ, देश र विश्व के के छ पढौँ न।
पढेर मात्र हुँदैन बुझी अभ्यास गरौँ न,
अक्षर, शब्द, वाक्य र पाठ किताब हेरौँ न।
कविता, कथा, भाषाको ज्ञान गणित यसैमा,
कलाको घर, प्रविधि सीप बुद्धि छ यसैमा।
कसरी जान्ने, कसरी गर्ने, नयाँ के गर्ने हो ?
शब्दमा वर्ण, पाठमा वाक्य, अर्थ नि खोज्ने हो।
मान्छेले गर्ने अनेक काम यसैमा लेखेको,
पहिले के भो ? अहिले के छ ? यसैमा भनेको।
भविष्य पनि, यसैमा छ रे खोतली पढौँ न,
ब्रह्माण्ड अट्ने, वर्णको खेल सबै जानौँ न।
३) ईश्वर
मुस्लिम जान्छन् मस्जिद
हिन्दू जान्छन् मन्दिर
सबैले खोज्ने रहेछन्
परमात्मा ईश्वर।
गिर्जाघरमा जिसस
गुम्बाभित्र बुद्ध छन्
खोज्ने सबले ईश्वर
नाम भन्ने भिन्न छन्।
ध्यानमा बसी सबैले
मनभित्र खोज्दछन्
मानिसकै मनभित्र
सबैको ईश्वर छन्।
सेवा गरे मानिसको
आत्माभित्र पुगिन्छ
आँसु पुछ्न सक्यो भने
ईश्वर नै भेटिन्छ।
प्रकाशित: १ श्रावण २०७८ ०८:४४ शुक्रबार