नन्दलाल आचार्य
“राधा ! तिम्रो उत्साह मरेकोमा म पिरलोमा परेकी छु। हप्ता दिनदेखिको तिम्रो निष्क्रियताको कारण बुझ्न सक्छु ?”
अमृता मिसको प्रेमपूर्ण प्रश्नको मसँग तितो जवाफ थियो। प्रेमको स्वाद आनन्ददायक हुन्छ तर खेद मात्रै मसँग थियो। असत्य बोलेर उहाँको चित्त नबुझ्ने र सबैका सामु सत्य ओकल्न म नसक्ने भएपछि ढुंगो बन्दा कुरो टर्छ भनेर म चूपचाप बस्दी भएँ।
उहाँले पटकपटक सोध्नुभयो। मैले आँखाभरि आँसु बनाएँ तर शब्द चुहाइन। साथीहरूको झक्झकाहटलाई पनि बेवास्ता भावले हेर्दी भएँ । सबै थाके र हारेर चुप लागे।
घण्टी लाग्यो मिस बाहिरिनुभयो। मेले गहिरो श्वास फेर्नासाथ कार्यालय सहयोगीमार्फत मिसको कार्यकक्षमा पुर्याइएँ । मनमा ढयाङ्ग्रा बजिरहेको थियो। आमाको माया नपाएकी मलाई उहाँले काखमा बसाएर आँसु पुछिदिँदा हिउँझैँ पग्लिहालेँ।
एकान्तको त्यस माहोलमा हामी दुई नारी मात्रै थियौँ। म मन खोलेर बगाउन थालेँ। उहाँ अगस्ती बनेर श्रवण गर्न थाल्नुभयो।
“मेरी आमाको मुहार मलाई थाहा छैन। दाजु विदेश पसेको तीन वर्ष भयो। म सत्र वर्षकी भएँ। तीन महिनादेखि पर सरेकी छैन।’
मिस प्रश्नको झटारो हान्न तयार देखिनुभयो। त्यसलाई रोक्तै मैले थपेकी थिएँ, “दाजु गएदेखि बुबा रक्सी खाएर अर्धचेत अवस्थामा घर आउनुहुन्थ्यो। उहाँलाई समाल्न खोज्दा बेग्लै गन्ध महसुस हुन्थ्यो। म लठ्ठिन्थे र बेहोस हुन्थेँ। बिउँझिदा...!”
बुझेको आभाष देखाउँदै मिसले नै मेरो मुख थुनिदिनुभएको थियो र, भन्नुभएथ्यो, “रक्षकको भक्षण प्रवृतिको भण्डाफोर गर्नुपर्छ। होससहित अन्यायको विरोधी कित्तामा उभिनुपर्छ।”
प्रकाशित: १ श्रावण २०७८ ०१:१८ शुक्रबार