शान्ति सापकोटा
काठमाडौं शहरमा मेरो जन्म घर,
वाग्मतीको अल्लि तल बाटोभन्दा पर।
सात वर्ष पुगीवरी आठ वर्ष लाग्दा,
गुनिउँ र चोलो पाएँ निदाएर जाग्दा।
उठ छोरी मुख धुन आज जन्म बार,
घरैभरि पाहुना छन् गर नमस्कार।
भन्नुभयो मेरी आमा केश सजाएर,
चट्ट परी बस अब टिकी लगाएर।
नङमा छ रातो पालिस ओठमा छ लाली,
जन्मदिन शुभ भन्दै बजेका छन् ताली।
बत्ती बाली थालीमाथि सगुनमा दही छ,
थाह पाएँ यो संसार रमाइलो रै’ छ।
फोटो खिच्नुहुन्छ बाबा क्लिक –क्लिक गरी,
देखाउनुहुन्छ भित्र तस्वीर थरीथरी।
गुराँसको फूलसरि फुल्नू सधैंभरि,
भन्नुहुन्छ सबै जना मलाई माया गरी।
प्रकाशित: ३१ असार २०७८ ०४:४७ बिहीबार