कला

जन्मदिनमा साहित्यकार पाँडेले घोषणा गरे राकुपा बाल वाङ्मय पुरस्कार

वरिष्ठ साहित्यकार रामकुमार पाँडेले आफ्नो जन्मदिवसको अवसर पारी राकुपा वालवाङ्मय पुरस्कार घोषणा गरेका छन्। असार २५ गते आफ्नो ७५ जन्मोत्सवका अवसरमा आयोजित भर्चुअल कार्यक्रम मार्फत पाँडेले पुरस्कार घोषणा गरेका हुन्।

वाङ वाङ्मय तथा अनुसन्धान केन्द्र, काठमाडौंको आयोजनामा भएको भर्चुअल कार्यक्रममा बालसाहित्यलाई प्रोत्साहन गर्न पुरस्कार स्थापना गरिएको पाँडेले बताए। केन्द्रका सल्लाहकारसमेत रहेका पाँडेले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘राकुपा बालवाङ्मय पुरस्कारको स्थापना २५ असार २०७८ मा गरिएको छ। यो पुरस्कार २० वर्षमुनिका बालक एवं किशोरले रचना गरेका प्रकाशित किताबमा उत्कृष्टलाई पुरस्कार समितिले तोकेको रकममा ३६५ थपेर बर्सेनि प्रदान गरिनेछ।’

नेपाली साहित्यका सुप्रसिद्ध हास्यव्यङ्ग्यकार, बालसाहित्यका स्रष्टा एवम् कथोपचारविधिका सर्जक, चित्रकार एवम् भूगोलविद् प्रा. पाँडेले पुरस्कारका लागि २ लाख ११ हजार १११ प्रदान गर्ने सहमति भइसकेको विज्ञप्तिमार्फत केन्द्रले जनाएको छ। सो रकमको ब्याजबाट प्रत्येक वर्ष २० वर्षमुनिका बालबालिकाहरूद्वारा लेखिएका कथाका कृतिमध्ये उत्कृष्ट ठहरिएको एउटा कृतिका स्रष्टालाई राकुपा बालवाङ्मय प्रतिभा पुरस्कार प्रदान गरिने केन्द्रले जनाएको छ। ‘यो पुरस्कार २०७९ सालदेखि प्रदान गरिने छ, केन्द्रको विज्ञप्तिमा भनिएको छ। पुरस्कार कति रकमको हुनेबारे भने पछि निर्णय हुने केन्द्रले जनाएको छ।

कार्यक्रममा साहित्यकार मित्रबन्धु पौडेलले उनको परिचय र योगदानको चर्चा गरेका थिए।

हास्यव्यङ्ग्यकारका रूपमा पाँडेको योगदान नेपाली साहित्यमा विशिष्ट रहेको छ। केशवराज पिँडाली, भैरव अर्याल, श्याम गोतामे आदि प्रवृतिका स्रष्टाहरूकै निरन्तरतामा पाँडेले थुप्रै कृतिहमार्फत नेपाली हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका छन्। 

नेपाली साहित्यमा उनका हास्यव्यङ्ग्य निबन्धकृतिहरू पाँडे पुराणका नाममा चर्चित छन्। उनको यही व्यक्तित्वलाई उजागर गर्दै पाँडेका पाँडेपुराणबारे एक कृति, उनको जीवनी र विभिन्न २५ व्यक्तिबाट उनका व्यक्तित्वका विभिन्न पाटालाई समेटेर लेखिएका २५ रचनाको सङ्ग्रह समेत गरी तीन कृति प्रकाशित गर्ने केन्द्रले जनाएको छ।

केन्द्रका अध्यक्ष प्रमोद प्रधानको सभापतित्वमा भएको कार्यक्रममानेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति एवम् केन्द्रका सल्लाहकार, वरिष्ठ कलाकार केके कर्माचार्य प्रमुख अतिथि रहेका थिए। पाँडेलाई साहित्यकारहरू घनश्याम राजकर्णिकार, तीर्थ श्रेष्ठले शुभकामना दिँदै साहित्यमा उनको योगदानको चर्चा गरेका थिए।

उपाध्यक्ष विजयराज आचार्यबाट केन्द्रको विज्ञप्ति वाचनसँगै सुरु भएको कार्यक्रममा नर्वेबाट प्रा. विशाल सिटौला, अमेरिकाबाट तीर्थ श्रेष्ठ, अमेरिकाबाटैसाहित्यकार सिर्जना शर्मा, बेलायतबाट कृष्ण बजगाईं, क्यानडाबाट साहित्यकार सुरेन उप्रेतीले शुभकामना प्रदान गरे। त्यसैगरी नेपाल बालसाहित्य समाजका अध्यक्ष प्राडा ध्रुव घिमिरे, केन्द्रका महासचिव अनन्त वाग्ले, केन्द्रकी सचिव मञ्जु ज्ञवाली, नाट्यकलाकार एवम् साहित्यकार केदार श्रेष्ठ, केन्द्रकी कोषाध्यक्ष शान्ति सापकोटालगायत संस्थाका आजीवन सदस्यहरुले शुभकामना दिएका थिए।

२००३ साल असार २५ गते जन्मिएका पाँडे हाल नर्वेमा रहेका छन्। पाँडेले आफ्नो जन्मदिनलाई वर्षभर हिरक जन्मोत्सवका रूपमा साहित्यका क्षेत्रमा विभिन्न काम गर्ने घोषणा समेत गरे। एक वर्षभित्रमा तीन भिन्न ग्रन्थ तयार पार्ने अठोट उनको छ। नर्वे बसाइका क्रममा पनि आफू साहित्यमा निरन्तर लागिरहेको उल्लेख गर्दै पाँडेले विभिन्न पुस्तक प्रकाशोन्मोख रहेको बताए।

जसमा ‘चिनाबिनाको मान्छे’ पारिवारिक सामाजिक इतिहास, ‘हाँसै हाँसो’ (हास्यव्यंग्यसंग्रह), हसाँउने कविता (हास्यव्यङ्ग्य  कविताहरूको संकलन) ,हाइकु हिमकन्या (हाइकु खण्ड काव्य), ईन्द्रलोक (हाइकु महाकाव्य), झ्याउ र च्याउ (नेपाली हाइकु संग्रह ) रहेका छन्। त्यसैगरी कथा जिउँदो सालिक (आफ्नै जीवनमा आधारित बालउपन्यास),  कथाकुथुङ्री (लघुकथासंग्रह), जीवनी रामकुमार पाँडेसँग जम्काभेट डा. यादवप्रशाद ढुङ्गाना, फेस टु फेस प्रा सिताराम अधिकारी लिखित पुस्तिका रहेका छन्।

त्यसैगरी भूगोल विधामा अल्टिच्युट जियोग्राफी, जर्नालिजम जियोग्राफी, रिकन्ट्रक्टिङ नेपाल अनुसन्धानमा आधारित पुस्तकहरूका पान्डुलिपि तयार भएको उनले बताए।पचत्तर वर्षमा आइपुग्दा साहित्यका विभिन्न विधा, उपविधाहरू र विद्धाका  विभिन्न विषयहरूका थुप्रै कृति सिर्जना भयो,पाँडेले भने, ‘यसमा सयभन्दा केही बढी पुस्तकका रूपमा छन् भने पाण्डुलिपिका फाइनल गरेका र गर्न बाँकी थुप्रै कृति छन्। आफ्नो जीवनकालमा सबै प्रकाशित नभए पनि पान्डुलिपिका रूपमा तयार गर्ने सिलसिला जारी छ।

प्रकाशित: २६ असार २०७८ ०२:०८ शनिबार