कला

मैले समाउने हाँगाहरूमा तिम्रो नजर किन

मुक्तक

सीता शर्मा

 

                १)

वसन्तहरू बदलिँदो छ उदाइरहन्छ बिहानी,

जिजीविषा अधुरै  छन्  बितिसक्यो  जवानी ।

ओठमा मुस्कान देख्यौ? एक कला हो साहेब,

हजार दमित पीडा बोकी चलेकै छ जिन्दगानी।

 

                 २)

सम्झाएर अतीत तस्बिर  छोइरहने नपार्नू प्रिय,

बल्झाएर घाउ यो  मुटुको  रोइरहने नपार्नू प्रिय।

गल्ती  तिम्रा हजार थिए सजाय मैले पाउनुपर्ने,

अल्झाएर दाग चौबन्दीमा धोइरहने नपार्नू प्रिय।

                 ३)

दुर्गा जस्तै पुजिनु भनी सधैं आशिष दिइरह्यौ,

सीतालाई झैँ  हर मोडमा अग्निपरिक्षा लिइरह्यौ ।

खिचिरह्यौ लक्ष्मणरेखा सधैं  मेरो  वरिपरि ,

अशक्त हुन्छन् नारी भन्ने एउटै भ्रममा जिइरह्यौ ।

                ४)

मैले समाउने हाँगाहरूमा तिम्रो नजर किन,

मैले रमाउने खुसीहरूमा तिम्रो नजर किन।

मेरो पनि जिन्दगी हो अलिकति बाँच्नु छ,

मैले लगाउने ती रंगहरूमा तिम्रो  नजर किन।  

प्रकाशित: २१ असार २०७८ ०७:५० सोमबार

अक्षर