कला

समाजसेवा

लघुकथा

लक्ष्मी पोखरेल

 

गोपाल र मैनाको आम्दानीको स्रोत अर्गानिक तरकारी खेती थियो । उनीहरूको उक्त बनिबुतो जिल्लामा कहलिएकै भएर बैंकले पनि सहजै ऋण थपिदिंदै गएथ्यो ।  उनीहरूले पनि खेती बढाउँदै लगे। तरकारी खेतीले उनीहरूको निम्नमध्यम जीवनस्तर माथि उकालिदिएको थियो । नानीहरू निजी विद्यालय जान्थे, थोरै वचत सञ्चितीले तीनचार वर्षसम्म सोचेजस्तै हुँदा टालीको छानो फेरेर जस्ता पाताले छाए।

यो खेप दैवले तर साथ दिएनन् । असिनापानीले बाली सोत्तर पारिदियो। त्यसैमाथि वैशाखे हावाहुण्डरीले आधी छानो उडायो। सुत्ने र राखनधरन गर्ने कोठा नाङ्गा भए।

बैंक गुहारे तर नाफाखोर बैंकले यो खेप पत्याएन। मैनाले झट्ट माइती सम्झी। ठूल्दाजु राजन ठूला बेपारी र कहलिएका समाजसेवी। गत साल राष्ट्रले तक्मा पनि दिएको हो। पत्रपत्रिकामा ठूलो कलेवरको फोटोसहित शुभकामना र बधाईका ओइरो थिए्।  

बडो आशले मैनाले फोन गरी।

उताबाट मधुर र मीठो स्वर सुनियो , “आज एकविहानै कसरी माइती सम्झिस् नानी ?”

“मलाई अप्ठरो परयो दाजु ! हजुरले जेष्ठ नागरिकका लागि चन्दा पनि दिनुभएछ । खुसी लाग्यो।”

“अरू” ? उताबाट कौतुहल तप्कियो ।

“दाजु मेरो पनि टिनको छानो हावाहुरीले उडायो। खेतीबारी मसियो । यो वर्ष थेगिदिनुपरयो।”

 एकक्षणको मौनतापछि दाजु बोले, “हुन्छ आइज,चाहिएको लेर जा केरे । तर मैले पनि ऋणै काढेको छु । तँलाई पनि मैले तिर्ने नै लाग्छ।”

भोलिपल्ट मैनाले बैंक दरभन्दा दोबरीमा माइतीको भरथेग व्यहोरी ।

प्रकाशित: २० असार २०७८ ०९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App