कला

के तिमीसँग उत्तर छ ?

कविता

सूर्यप्रसाद लाकोजू

 

 तिमीले गाएका सुमधुर गीतहरू

 हाम्रा जीवनका प्रतिबिम्ब थिए

 हाम्रा मनोभावना नदीजस्तै 

कलकल बग्थे 

तिम्रो धुनमा 

हाम्रा मन उड्थे

 सिमलको भुवाजस्तै

 र हामी नाच्थ्यौ 

तालमा ताल मिलाएर 

सुरमा सुर मिलाएर 

तर आज तिमीले गाउँदै आएको गीतभित्र

 म तिमीलाई खोज्दै छु 

तिमी किन यति बेसुरा बनेको? 

सबैको प्रिय कोइली

काग बनेको देख्नुपर्दा 

हाम्रा आँखा कर्णाली बगाउँछन्। 

कुनैबेला तिमीभित्र

 देशभक्तिको सागर उर्लेको देखेको छु 

तिमीले यो धर्तीलाई 

माता सम्झेर पुजेको देखेको छु 

हिमाललाई छामेको 

पहाड र तराईलाई चुमेको देख्या छु

 तर आज

 आफ्नै माटोमाथि 

निर्भय भएर 

चील उडिरहँदा 

तिमी कसरी निर्धक्क सुत्न सक्यौ? 

आफ्नै आमाको चौटा लुछिंदा 

तिम्रो साहसको धारिलो हतियारमा 

कसरी खिया लाग्यो? 

तिमीभित्रको त्यो देशभक्तिको सागर 

कसले सुकायो, कसरी सुक्यो?

 यही प्रश्न मेरो विश्वासले मसित गर्दै निहुँ खोजिरहेछ 

म के जवाफ दिऊँ? 

मेरो विश्वासलाई विश्वास लाग्ने उत्तर भन मलाई ।

प्रकाशित: २० असार २०७८ ०८:४६ आइतबार

अक्षर