कला

वातावरण र मन

कविता

कलानिधि दाहाल

 

चकमन्न !

सुनसान !!

निस्तब्ध !!!

सन्नाटा छाएको

त्यो एकान्त पहाड होस्

वा

कोलाहलमय वस्तीको  

सुदूर किनारा

जहाँ पहराको  

अतिशय टुप्पोबाट

इन्द्रेनीको पटुकी कसेर

साहसको  

लामो तुहिन समाउँदै

झरेको झरै छ

एउटा सुन्दर झरना!

असबाफ

दहमा फिँजिएर

टाढा – टाढासम्म

सिञ्चित माटोमा

उमारेर  

हरित कामनाका

–पिपिराहरू

हुर्काएर

–बोटहरू

अग्लाएर सुरिला

– बाँसहरू

टुप्पा नुहेर

तालकै तरङ्गमा

झुप्पा नुहेर

कुल्कुल बग्दै गरेका

– गौँडाका जलआवाजमा

झर्दै गरेका

ससाना छाँगासँग

प्रेमालिङ्गन गर्छन्

मधुमासका  

–प्रेमिल जोडीझैँ

चुरुम्चुरुम

अग्ला

तर सारै सुन्दर

पाउमाथिका जङ्घा फटाएर

मृगशावक

र माउका वथानहरू

चारो चर्छन्

भोका मान्छेका

खुशी जमातले

खाना लिइसकेपछिको  

क्षणजस्तै

निर्भय!

निराकार!!

निरन्तरको आनन्दानुभूति

उद्वेग उचालिएको

रहस्यभित्र आप्लावित

मनोदशाको

यसभन्दा अर्को

कुनै क्षण हुनसक्छ र ?

लोखर्केहरू!

पुच्छर हल्लाएर

पत्करभित्र

केही लुकाउँदैछन्

भोलिका लागि

माहुरीहरू

झुन्ड–झुन्ड भुन्भुनाएर

सहस्र

पुष्परस दोहन गर्दै

विशालकाय चाकामा

टल्पल!

टल्पल!!

भर्दैछन् मह भोलिका लागि

भौतिक भूत सवार

जडहृदयवाहक

भ्रष्ट  

अनाचार उन्मुख

लोभी मान्छेको

चरम उदाहरण

अर्को कसैले दिन सक्छ र ?

सही गुरु भन्नोस्

वा

असल नेता

सच्चा अभिभावक भन्नोस्

वा

निस्वार्थ आमाबाबु !

असल मित्र÷मित्राणी भन्नोस्

वा

सृष्टको प्रथम मुहुर्त

यसभन्दा अर्को

कतै पाउन सकिन्छ र ?

सक्नुहुन्छ ?

गौण राख्नोस् आमाबाबु

–स्वार्थका सीमा हुन्

सक्नु हुन्छ ?

बिर्सनोस् गुरुभक्तिका भजन

–लेनदेन हो खतम

सक्नुहुन्छ ?

प्रणयराग बन्द गर्नोस्

–दुई शरीरको स्वार्थ हो

र फर्कनोस्

सुनसान!

चकमन्न!!

सन्नाटा!!!

विस्फारित

एकान्त झरना नजिकबाट

भत्कन्छन्

हाम्रा पुराना

अन्ध पर्खालहरू

र जन्मन्छन्

नवचेतनाका

ऊर्ध्वगामी लहर

लहरीहरू!!!

प्रकाशित: २० असार २०७८ ०७:५४ आइतबार

अक्षर