कला

अनुरोध

कविता

लक्ष्मीप्रसाद पौडेल 

 

खुब पढाए

गोष्ठी सेमिनार र कार्यपत्रहरूले

सभ्यताको पाठ म पाखोलाई

एउटा रूख झुन्डिएको थियो

मेरो अडेसामा दिनभर

कुकाठको सङ्गत गरिस् भन्दै  

रातभर ढुकेर सल्ला निम्ट्याउनेहरूले  

जोतेर कुदाए सालका ट्रक

अहिले बर्खाले दोष खेपिरहेछ  ।

 

नपर्खीकन जाने त समय रहेछ भनेको

तिमी पनि आयौ रे गयौ रे,

पानीको रेलमा बगेर

तिमीसँग अरू थुप्रै बगेछन्

सुन्तली र रामेका रहरहरू

वार्षिक बिदाईको यात्रा

वजेटको घर्काइ

हाई काढ्दैछ  

रमितेहरूको रत्यौलीमा।

 

आकाश फाटेछ, सिलाऊ

तिमीले बिस्ट्याएको मुत्र्याएको

विकास पोखिएर घर डुब्दैछ मेरो।

 

अझैं फेरि लेखिँदैछ रातो किताव

कालो नियतका हरिया पाना भरेर  

तिनै तहको गरागरासम्म पुग्ने गरी ।

 

कहिलेकाहीँ  चिन्ता लाग्छ

मेरो एक्लो चिन्ताले

कसैले नसुनेको चिन्ताले

वा

कानका जाली यथावत् बोकेर

श्रवणशक्ति गुमाएकाहरूसंग

जोडले चिच्याउँदा

मेरो चिच्याहट खेर जाने त होइन भन्ने आशंकाले

के म बोल्न बन्द गरिदिनु ?  

 

ए बाढीले नबगेका लासहरू हो

उठ, तिम्रो बस्ती बग्नुभन्दा पहिले नै

भगाइदेऊ कुम्भकर्णका निन्द्राहरू  

बगाइदेऊ रामनामीका पित वस्त्रहरू

चाकरका चोकरहरू ।

प्रकाशित: २० असार २०७८ ०५:५८ आइतबार

अक्षर