बालकृष्ण गजुरेल
असार दुई गते धुमधाम पानी पर्यो । कतै तराई त डुबाउने होइन ? मनभरि प्रश्नको बिटो बोकेर म निदाउने प्रयास गरेँ । केको निदाउनु ? मेलम्ची नदीले घर थर्कायो । सुन्दै डरमर्दो आवाज। बाहिर निस्केर टर्च बालेर हेर्दा त खोलो घर नजिक आइपुगेछ।
“लौ ! अब सत्तरी मुरी धान फल्ने खेत त सक्यो । अब घर पनि बाँकी राख्दैन । सुरक्षित ठाउँतिर लागौँ ।” म चिच्याएँ ।”
मेरो आवाज सुनेर परिवार मेरो पछि लाग्यो । दर्के पानी तथा घरखेत सकिएको पीडा अथाह थियो । कतै शून्यमा पुगेर भिकारी बन्नु भन्दा त खोलामा फदालौँ झैँ लाग्यो । चार कोसबाट साल बोकेर बनाएको घर भूकम्पले सक्यो । भूकम्पपछि बनाएको घर मेलम्ची नदीले सक्यो । घरमाथि पानीको ड्याम र सिरानीमुनिको बमको भरोसा नहुने रहेछ। आफ्नै ज्यान धरापमा। घरमा खाने अन्न सकियो । धान पेल्ने मिल खोलाले बगायो । ज्यान पाल्न मेला जानुपर्ने बाध्यता थपियो।
दिनभरको बाउसे सकेर म रुखमुनि झोक्राएर बसेको थिएँ। गाउँका श्यामलाल नजिक आएर भने, “बाबू धेरै पिर नगर्नु । मेलम्चीले घरखेत मात्र लगेको हो।”
उत्तर दिनुपूर्व आँखाबाट अश्रुधारा झरे । बोल्नलाई पनि कठिन भयो तर जवाफ दिनु थियो । मैले भक्कानिएर भने, “ यो अवस्थामा पनि पिर नगरम् र ?”
उनी अगाडि आए । ढाडस दिँदै भने, “आफ्नो जीवन धान्ने किसान र कृषि पेशा कहिले जीवित छ र ? बरु झन्झट घटाउन तपाइँहरूलाई एकै पटक मेलम्चीले सिध्यायो ।
– हेलम्बु–६, सिन्धुपाल्चोक।
प्रकाशित: २० असार २०७८ ०४:२७ आइतबार