कला

जोगी बा, नारद बा र सिमलबोटे देवी बा

संस्मरण

टङ्क भट्टराई

 

जोगी बाका लटरम्म दारी ! बाटाहुँदि भेट्दा केटाकेटीलाई जिस्क्याउने पनि । अग्लो ज्यान लामा दारी भएका उनलाई कतै मकै बारीतिर देख्यौं भने हामी भाग्थ्यौं । तिर्पालीको धारो पर्तिर बाँझे सिरानमा जोगी बाको घर । सेरा खोलानेरि ठूलो सेरोफेरो गरेर बसेका जोगी बा । ‘जोगीको घरबार हुँदैन कमण्डलु लिएर हिंड्छन्, खरानी घस्छन्’ भन्ने सुनेका हामीले सानैदेखि तर हाम्रा जोगी बा अरू जोगीभन्दा अलग । घरपरिवार र आफ्नै जिन्दगीबाट नभागेका व्यावहारिक जोगी बा ! कमण्डलुको ठाउँमा जजमानकाबाट ल्याएको रुमालको पोको हुन्थ्यो हातमा । जिउभरि खरानीको सट्टामा निधारभरि चन्दनको टीको ! गेरुवस्त्रको सट्टामा सेता कमिज सुरुवाल हुन्थे । अचम्म ! अरू जोगीभन्दा हाम्रा जोगी बा फरक । दुइटी बूढी ! घरभरि केटाकेटी ! गोठभरि वस्तुभाउ अनि पुर्खा र आपूmले आर्जेको पहाडदेखि मधेशसम्म प्रशस्त जग्गा । 

जोगी बाको वास्तविक नाम रत्नप्रसाद दाहाल । यो नामले उहाँलाई कमैले पुकार्छन् । मैले पनि पछि मात्र थाहा पाएँ । जोगी बाका छोराछोरी सबै मेधावी ! नवराज दाहाल मेरो सानैदेखिको साथी ! पढाइमा सा¥है तीक्ष्ण ! बोलाइमा प्रखर । उमाकान्त दाहाल मेरो सहपाठी । नवराजजी अहिले न्यायाधीश छन् । उमाकान्तजी झापातिर शिक्षक छन् । जोगी बाका दुई छोरी उर्मिला र इन्दिरा पनि नेपाल सरकारका माथिल्लो पदमै छन् । कहिलेकाहीं जोगीबाका घर जाँदा सराद्दे र व्रतका रोटी खान पाइन्थ्यो । गाउँघरका कार्जे र बिहेबटुलहुँदि मुग्ध लयमा पढ्ने, सिलोक भन्ने अनि मौका पर्दा रामै्रसँग ख्यालठट्टा गर्ने जोगीबासँग म सानैदेखि प्रभावित हुँ ।  

म जागिरको सिलसिलामा काठमाडौं आएपछि अनामनगरको कोठामा जोगी बा मलाई खोज्दै आइपुगें । भेट हुँदा सा¥है खुसी लाग्यो । आशिक दिएर गए ।  

जोगी बाले पहाड छोडेर झापा, चन्द्रगढी झरेको पनि निकै वर्ष भयो । खोर्साने आउँदा हाम्रो घरमा पसेर जहिल्यै मलाई सोध्ने गर्थे अरे जोगी बा !

एकचोटि म खोर्साने गएको बेला जोगी बा झापाबाट आए । उनलाई मैले निकै वर्षपछि देखें । जोगी बाले अँगालो हाल्दै भने, “तेरिमा मरा ठूलो भको ! फोनसोन गर्नु छैन । पहाडदेखि तेरो र पर्शे (परशुराम भट्टराई–हाल न्यायाधीश) को मलाई औधि माया लाग्थ्यो । ला, यो दश रुपियाँ । तँसँग छैनन् होला । यसले मलाई फोन गर् ।” जोगी बा जिस्किन थाले ।  

तराईको गर्मी उखपात थियो । म गञ्जी र कट्टूमा थिएँ । जोगी बाले जनै देखेनछन् । लौरो उज्याउँदै–“तेरिमा धर्म छाडा ! ला जनै !” भनेर गोजीबाट निकालेर दिए । मैले भित्र बाथरुममा गएर जनै लाएँ। अनि, जोगी बासँग आएर निकै बेर बात मारें ।  

पछि ०६८ सालतिर यज्ञनिधि दाइको घरमा जोगी बासँग भेट भयो । निकै बात मारियो । त्यो बेला मैले गोर्खा एफएममा साहित्यिक कार्यक्रम  सुरु गरेको थिएँ । यसो विचार गरें, “जोगी बालाई रेडियोमा सिलोक भन्न बोलाउनु परो ।” त्यही हप्ताको शनिबार उनलाई अनामनगर बोलाएर रेडियोमा कुरा गरें । सिलोक भन्न लाएँ । चौरासी–पचासी वर्षका जोगी बाले जोस निकालेर सिलोक भने । कार्यक्रम सकिएपछि बाहिर आएर धेरै खुसी भएको भावमा आँखाभरि आँसु पारेर भने, “टङ्क ⁄ मेरा लागि तिमीले यति गरेऊ । म पाखाभित्ताको मान्छे बोल्न के जान्दथें र !” बाहिर एकछिन चियापान गरेपछि सँगै फोटो खिच्यौं । त्यसपछि बिदावारी भइयो ।  

उही पहाडको जस्तै लामो दारी पालेका सेतो कमिज सुरुवाल लाएका ऋषितुल्य जोगी बा लौरो टेकेर बाटो लागे । साथमा सँगै आएकी छोरी इन्दिरा पनि थिइन् । मैले ओझेल नपरुञ्जेल परसम्म हेरिरहें । त्यसपछि जोगी बासँग कहिल्यै भेट भएन । केही वर्ष अगाडि उनी बिते।

खाल्ले स्कूलदेखि माथि पान्धारेनिर ठूलो रुद्राक्षको रूख थियो । हामी टिपिन समयमा रुद्राक्ष खान जान्थ्यौं । त्यही रुद्राक्षको रूखनिर नारद पण्डित (नारदप्रसाद खतिवडा) को घर थियो । नारद पण्डित गरुड पुराण भन्नमा निकै कहलिएका । गाउँमा मान्छे मरेका ठाउँमा  गरुड पुराण लाउँथे । म सानै भए पनि नारद बाले भनेको गरुड पुराण सुन्न जान्थें । गरुड पुराणको कथाले मनोवैज्ञानिक रूपमा धेरै त्रासदी उत्पन्न गथ्र्यो । तैपनि गाउँका सबै जनाले एकचित्त भएर सुन्ने हुँदा मलाई पनि त्यो पाप र पुण्यको कथा सुन्न मन लाग्थ्यो र जान्थें। त्यसका असल खराब पक्षबारे विश्लेषण गर्ने क्षमता थिएन । जेहोस् गरुड पुराण भन्ने नारद पण्डितसँग म राम्रैसँग प्रभावित भएको थिएँ ।  

पहाडबाट तराई झरी मैले ०५९ सालमा खोर्साने (हाल सुन्दर हरैंचा नपा– १०) मा घर बनाइरहेको बेला नारद बा तराईतिर घुमघाम गर्ने क्रममा सोध्दै–खोज्दै घर हेर्न आएका थिए ।  

नारद बा पनि ०६५÷६६ सालतिर खाल्लेबाट तराई (खोर्साने) बसाइ झरे । तराई झरेको केही महिनापछि पण्डित्नी आमै बितिन् । त्यही बेला घर गएको मौकामा म नारद बालाई भेट्न गएँ । निकै समयसम्म पहाडदेखि मधेशसम्मका कुराहरू गरियो । पहाड पनि एउटै गाउँ र मधेशमा पनि एउटै गाउँमा बस्न पाएकोमा मैले खुसी व्यक्त गरें । साथसाथै पहाडको दुःखी ठाउँ छोडेर छोराहरूसँगै बसेर सुखको बाटो काट्न झरेकी पण्डित्नी आमै आउनासाथ बितेकोमा भने दुःख पनि लाग्यो । त्यो बेलासम्म नारद बासँग मेरो त्यति हिमचिम थिएन । काठमाडौेंबाट खोर्साने गएको बेला म नारद बालाई जहिल्यै भेट्न जान थालें । उनी पनि बात मार्न आइरहे । सेतो कमिज सुरुवाल, रातो–रातो वर्ण भएका पण्डित बा मुखमा खैनी भने सधैं च्यापिरहन्थे । तराईमा गर्मी भएर होला बिहानदेखि बेलुकासम्म एउटा कालो छाता पण्डित बा कहिल्यै नछोड्ने । धर्मशास्त्रको राम्रो ज्ञान भएका र समसामयिक विषयमा पनि त्यत्तिकै रुचि राखेर कुरा गर्ने पण्डित बासँग भेटेर कुरा गर्दा मलाई पनि आनन्द आउँथ्यो । म प्रायः काठमाडौंमै भए पनि बेलाबखत फोनबाट नारद बासँग कुशलक्षेमका कुराहरू हुन थाले । ६७–६८ सालतिर नारद बा काठमाडौं आएर पुतलीसडकको मेरो डेरामा दुईतीन दिन बसे । पछि ७२ सालतिर फेरि काठमाडौं आएका बेला बूढानीलकण्ठ आएर पनि केही दिन बसे ।  

७० सालको तिहारमा गाईघाटबाट सिमलबोटे देवी घिमिरे आएका बेला नारद बा र अरू बूढापाका सहित रमाइलो पाराले देउसी पनि खेलियो । नारद बा देउसीमा औधि रमाए।

अठासी–उनासी वर्षकोे आयु बाँचेर केही वर्ष अगाडि नारद बाले पनि यो लोक छोडेर गए ।  

खाल्ले धारापानीको त्यो बूढो रुद्राक्ष अझै ढलेको छैन । पानधारेको पानी बगिरहेकै छ । नारद बाले यो भौतिक दुनियाँ छोडेर गए पनि मेरो सम्झनामा भने बाँचिरहेकै छन्।

खाल्ले पुछार सेरा गाउँको छेउमा एउटा ठूलो सिमलको रूखनिर देवी पुरेत (देवीप्रसाद घिमिेरे) को घर। दुई घर घिमिरे र आठ–दश घर भट्टराई बसेको त्यो टोलको नाम त्यही सिमलको बोटबाट ‘सिमलबोटे’ रहेको हो।  रातो माटोले पोतेको देवी बाको घर । घर नजिकै सेरा खोलो । खोला छेउमा बाक्लै उत्तीस र बाँसका रूखहरू । घरमुनि कलकल बग्ने सेरा खोलाको कुलो । देवी बाको सीम खेत हुँदै पूरै कटुवा खेत र आठमुरेको गैरी खेत सिञ्चित हुन्थ्यो त्यो कुलाले । हामी केटाकेटी कुटो बोकेर पानी रुँग्न जान्थ्यौं । एउटा सेतो धोती र कमिज लगाएर त्यतै डुलिरहने देवी पुरेत त्यही सीम खेत र सेरा खोलाछेउ डुलिरहन्थे । भैंसी चराउँथे । कहिलेकाहीं हाम्रो पानी मार्दिन्थे । हामी डराउँदै, छल्लिंदै पानी फर्काइरहन्थ्यौं र देवी बालाई दिक्क लाउथ्यौं । त्यति बेला देवी बाले देखे भने डरले कट्टू तान्दै भाग्थ्यौं।

पहाडबाट मोरङमा झरेपछि सुरुसुरुमा खल्लो लागे पनि पहाडमा मानेका परम्परा, संस्कृति, व्यवहारहरूलाई त्यहाँ पनि पछ्याउँदै गइयो । तिनै परम्परा चाडवाडहरूले विभिन्न ठाउँबाट आएका मान्छेहरूलाई क्रमशः जोड्दै लगे । रमाइलो हुँदै गयो । दसैं, तिहार, तीज, साउने सक्रान्ति आदि चाडहरूमा एक अर्कामा खुसी साटासाट गर्ने, भेला हुने, रमाउने जस्ता कुराहरूले फरक पृष्ठभूमि र ठाउँबाट आएका मान्छेहरूबीच सामाजिक सद्भाव र एकता बढ्दै गयो । विशेषगरी तिहारमा हामी गाउँलेहरू मिलेर घर–घरहरूमा देउसी खेल्थ्यौं । एकचोटि ७० सालकोे दसैं मानेर सिमलबोटे देवीप्रसाद बा गाउँलेहरूसँग भेटघाट गर्न भनेर खोर्साने आएछन् । म त काठमाडौंमै थिएँ । उनले मसँग फोन सम्पर्क गरेर यसपाला पहाडकै जस्तो देउसी खेल्ने भए म तिहारसम्मै यतै बस्छु भन्ने इच्छा व्यक्त गरे । म पनि खुसी भएँ । सहमति जनाएँ । तिहारमा घर जाँदा सिमलबोटे देवी बा पर्खिरहेका । निधारमा चन्दन, सेतो धोती र सेतो कमिज लगाएका अग्ला ज्यानका देवीप्रसाद गुरु उही पहाडकै जस्ता । चौरासी वर्षको उमेरमा पनि निकै हट्टाकट्टा । त्यो उमेरमा पनि दाँत एउटै नझरेका । ‘रोग मुला त भुटेका मकैसँगै क¥याम–क¥याम चबाउँछु’ भन्थे उनी । त्यो साल बूढाहरूसँग मिलेर दुई दिनसम्म भव्य देउसी खेलियो । चौरासी वर्षका सिमलबोटे देवी बा, पचासी वर्षका नारद पण्डित, पचहत्तर वर्षका जम्दार बा, पैंसठ्ठी वर्षका खगेश्वर खतिवडा, साठी वर्षका गणेश खतिवडा र अरू हामी चालीस वर्षमाथिका सिरानघर अर्जुन दाइ, पुण्य अधिकारी, मानबहादुर भिनाजु, हरि बुढाथोकी (ज्वाइँ) विनोद खड्का (चुइचुम्मा), तीनतले भोजकुमार सबै मिलेर पहाडको जोस निकाल्दै देउसी खेल्यौं । सबैले लौरो टेकेका, माला लगाएका । देउसेहरूमा म भट्याउने, भाइ अर्जुन मादल बजाउने, थापा भिनाजु रोटी र चामलको झोला बोक्ने । वातावरण बहुत रमाइलो थियो । बूढा र तन्नेरी मिलेर खेलेको त्यो देउसी साह्रै रमाइलो भयो । हाँसीहाँसी, नाचीनाची घरिघरि उटपटयाङ भट्याउँदै खोर्सानेका खाल्लेली गाउँलेहरूबीच खेलेको त्यो देउसी साह्रै अविष्मरणीय  रह्यो ।  

झण्डै ९५–९६ वर्षको लामो आयु बाँचेर देवी बा ०७८ साल लागेपछि भर्खरै बिते ।

 बाँझेका जोगी बा, पान्धारेका नारद बा र सिमलबोटेका देवी बा अब यो भौतिक दुनियाँमा छैनन्। यी बाहरूले जीवनमा के गरे ? कति गरे ? दुःख–सुखका उकालीओरालीहरू कति हिंडे ? जीवनका भुक्तमानहरू कति खेपे ? यी सबैको फेहरिस्त त मसँग छैन । तर, एउटा संयोग के भने जन्मथलो खाल्ले गाउँ छोडेर को कता, को कता भई अब भेट हुँदैन  कि भनेको बेला यी तीनै जना आदरणीय वृद्ध बाहरूसँग उनीहरू बितेर जानुअघि भेट हुने सुनौलो मौका मिल्यो । उनीहरू लौरो टेक्दै–टेक्दै मेरो घरसम्म आइपुगे । नअघाउने गरी गाउँका बात मारे ।

 ऊबेलाका दौंतरी, खेतबारी, घर–गोठ, वस्तुभाउ र धारा–पँधेराका कुरा गरे । केहीबेर घामजस्तै दिल खोलेर उज्यालो गरी हाँसे। कुरा गर्दै जाँदा घरि–घरि असार–साउनझैं धुम्मिए । जे होस् तराईको प्रचण्ड गर्मीमा एकछिन भए पनि गाउँका वर–पीपलजस्तै शीतल छहारी दिए । टाउकोमा हात राखेर आशीर्वाद दिए। अनि उही लौरो टेकेर पछाडि हेर्दै–हेर्दै गए । अनुहार धमिलो भयो । मन हुँडुल्किएर आयो । त्यसपछि भने भेट भएन । 

त्यसैले यी पितृहरूको सम्मान र सम्झनामा मैले केही शब्द अर्पण गर्ने प्रयास गरें । 

प्रकाशित: १९ असार २०७८ ०९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App