कला

‘छोरी छोरी नै हो, छोराजस्तो होइन’

केही गिनेचुनेका सफल महिलामध्येकी बन्दना राणाले समेत पहिलोपटक छोरी जन्माउँदा छोराको चाहना गर्ने परिवार र आफन्तको दबाब महसुस गर्नुपरेको थियो। युएन सिडो अनुगमन समिति अध्यक्ष समेत रहेकी बन्दनाले १७ वर्षको उमेरमा पहिलो सन्तानको रूपमा छोरी जन्माउँदा सामाजिक दबाबका कारण उनी डिप्रेसनमा समेत गएको अनुभव आइतबार महिला पत्रकारको छाता संगठन सञ्चारिका समूहले आयोजना गरेको छोरीको महत्वबारे जुम छलफलमा सुनाइन्। युएनएफपिए र कोराडको सहकार्यमा आयोजना गरेको छलफल कार्यक्रममा राणाले छोराछोरीबीचको लैंगिक विभेदबारे विश्वको कानुन र नेपालमा कानुनी व्यवस्थाबारे प्रस्तुति गर्ने क्रममा उनले ३५ वर्षअघि आफूले भोगेको समाजको दबाबबारे खुलेरै बोलिन्। ‘मेरो श्रीमान् आफ्नो बाबुआमाको एउटै छोरा हुन्। ससुरा तथा परिवारको चाहना छोरा नै थियो,’ राणाले विगत सम्झिन्, ‘मेरो गर्भमा पहिलो सन्तान बस्दा परिवार र आफन्त जोकोहीले मलाई देख्यो कि तिम्रो अनुहार कति उज्यालो तिमीले त छोरै पाउँछौ भन्थे। म १७ वर्षकी किशोरीको दिमागमा अब जसरी पनि छोरा पाउनुपर्ने मानसिक दबाब नै प¥यो,’ उनले थपिन्, ‘तर जब मैले अस्पतालमा छोरी पाएको सूचना पाएँ, तब मैले परिवार र आफन्तको इच्छा पूरा गर्न नसकेको भन्ने मेरो कलिलो दिमागमा बस्यो र म डिप्रेसनमा पुगेँ।’

उनी फेरि २१ वर्षको उमेरमा दोस्रो सन्तानको आमा बन्ने समय आयो। त्यतिखेर पनि आफन्त र परिवारमा अब त पक्कै छोरा पाउने भन्ने चर्चा चल्न थाल्यो। तर यो वेला राणाले आफूलाई अलि दह्रो बनाइसकेकी थिइन्, दोस्रो सन्तान जे पाए पनि स्विकार्ने भन्नेमा। ‘आजभन्दा ३५ वर्षअघि लिंग छनोट गरेर बच्चा जन्माउने प्रविधिको विकास भएको थिएन। म अहिले यो कुरा सोच्छु कि त्यतिवेला यो प्रविधि भएको भए सायद मेरो कान्छी छोरीको जन्म हुन्थेन होला। किनभने सामाजिक कुसंस्कारले दह्रो जरा गाडेको समाजमा हामी छौँ,’ उनले भनिन्, ‘आज प्रविधिकै कारण पनि समाजमा व्यक्तिले दोस्रो सन्तान छोरा पाउने लालसामा गर्भमै लिंग पहिचान गरी गर्भपतन गर्ने गरेका छन्। सरकारले यस्तो अपराध रोक्नुपर्छ। अनि मात्र छोरी पाउने अधिकार सुरक्षित हुन्छ।’ उनले आजको समाजमा पनि थुप्रै आमाहरूले पहिलो सन्तान छोरी भए दोस्रो अनिवार्य छोरो पाउने चाहना राख्ने गरेको अनुभव सुनाइन्।  

‘मेरो छोरी त छोराजस्तै छे, ऊ त छोराजस्तै बाइक चलाएर हाम्रो मान बढाएकी छे’ जस्ता शब्द तपाईं आफ्नो छोरीप्रति प्रयोग गर्नुभएको छ ? छ भने त्यस्ता शब्द प्रयोग गर्न आमाबुवाले अहिलेदेखि नै बन्द गर्नुपर्छ। किनभने छोरी छोरीजस्तै नै हो। उसको आफ्नो छुट्टै अस्तित्व हुने नेपाली कांग्रेसका सांसद राजन केसीको अनुभव छ।

कार्यक्रममा सांसद केसीले छोरा र छोरीबीचको विभेद दूर गर्न घरपरिवारले छोरालाई छोराजस्तै र छोरीलाई छोरीजस्तै हुर्काउन सुझाव दिएका छन्। उनले आमाबुवाले छोरीलाई अर्काको घरमा पठाउने पर्ने मानसिकता साथ सानैदेखि हुर्काउने परम्पराले गर्दा छोराछोरीबीच विभेद कायम रहेको औँल्याए। उनले आफू ०७२ को संविधान बनाउने कार्यमा सहभागी रहेकै समयमा पनि संविधानमै महिला सशक्तीकरणका, छोरीलाई सम्पत्तिको अधिकार लगायत विषयमा व्यवस्थापन गरेको बताए। जसका कारण आज हरेक क्षेत्रमा एक महिला उपाध्यक्ष अनिवार्य राख्ने व्यवस्थाले केही हदसम्म महिलालाई अवसर सिर्जना गरेको र महिलाहरू आफ्नो क्षमताले अघि बढिरहेको समेत बताए।  

‘छोरी अलि बोल्ड र राम्रो भयो भने फ्याट्ट कस्तो छोराजस्तो छोरी भनेर भन्छौँ तर त्यो लैंगिकहिंसा हो। किनभने यो शब्दले नै छोरा बलिया र राम्रो र छोरीलाई कमजोर भन्ने बुझाउँछ,’ सांसद केसीले भने, ‘छोरीको महत्व छोरीकै पहिचानमै हुन्छ। मेरा छोरीमाथि म गर्व गर्छु। मेरो पहिलो सन्तान छोरा त्यसपछि दुई छोरी छन्। दुवै सक्षम र आमाबुवालाई धेरै माया गर्ने छन्। छोराले वंश धान्ने, छोरा पाए आमाबुवा स्वर्ग जाने नानाथरीका समाजका कुरीति कुसंस्कारलाई बदल्न आवश्यक रहेको छ। छोरीहरूलाई सम्पत्तिको अधिकारको व्यवस्था गरेर छोराछोरीबीचको लैंगिक विभेद दूर गर्न सरकारले कानुन ल्याउनुपर्ने मेरो माग हो।’

वागमती प्रदेशकी सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले छोरीहरू बल, बुद्धि, विवेकले नै उत्कृष्ट भएको अनुसन्धानले नै देखाएको जनाउँदै उनले छोरीलाई अवसर दिने नीति तथा कार्यक्रममा प्रदेश सरकारले व्यवस्था गरेको बताइन्।  

गण्डकी प्रदेशकी सामाजिक कार्यकर्ता बिना सिलवालले धर्मगुरुहरूले समेत धर्मको आड लिएर नानाथरी सामाजिक कुसंस्कारका कुरा गरेर महिलाको अधिकार दबाउँदै आएको अनुभव सुनाइन्।  

नेतृ रामकुमारी झाँक्रीले लैगिंकहिंसा गर्ने जोकोहीलाई पनि सबैले प्रश्न गर्नुपर्ने र उनीहरूलाई राज्यको कुनै पनि पदमा समेत बहिष्कार गर्नुपर्ने धारणा राखिन्। संघीय सांसद विद्या भट्टराईले लैगिंक हिंसाविरुद्ध सबै राजनीति दल एकजुट हुनुपर्ने जनाइन्। ‘यस्ता विषयलाई दलहरूले राजनीतिक एजेन्डा बनाएर अघि बढ्नुपर्छ,’ भट्टराई भन्छिन्, ‘सामाजिक विकृति र गलत सोच परिवर्तन गर्नेतर्फ काम गर्नुपर्छ।’

एसएनएफपिए र कृपाले सन् २०१२ मा गरेको एक अध्ययनले नेपालमा पहिलो सन्तान छोरा वा छोरीमा कुनै प्राथमिकतामा नभए पनि दोस्रो सन्तान छोरा नै चाहना गर्ने महिला ४४ प्रतिशत रहेको र छोरीको चाहना राख्ने २८ प्रतिशत महिला रहेको देखाएको छ। यसैगरी गर्भपतन गर्ने महिलामध्ये १२ प्रतिशतले भ्रूणको लिंग पहिचान गरेर छोरी भएका कारण गर्भपतन गरेको पाइएको थियो।  

पहिला दुई छोरा हुने महिलाहरूको तुलनामा पहिला दुई छोरी हुनेहरूमा तेस्रो बच्चाको लैंगिक अनुपातमा उच्च असन्तुलन देखिएको कार्यपत्र प्रस्तोता डा. समीक्षा कोइरालाले बताइन्। ‘विद्यमान लैंगिक असमानताका कारण छोरीको अवमूल्यन भइरहेको छ,’ डा. कोइरालाले भनिन्, ‘प्रजनन दर घटिरहेको तथा छोरीभन्दा छोराको चाहना बढेको हुनाले गर्भपतन हुने गरेको हो।’

प्रकाशित: १९ असार २०७८ ०५:४२ शनिबार

अक्षर लैंगिकहिंसा