कला

नेपाली आधुनिक कलाको पहिलो दशक

नेपाली आधुनिक कलाको शुभारम्भ सन् १९६० देखि भएको मान्नुपर्छ। यसलाई मान्नुपर्ने आधार भनेको यसवेला देखापरेका परम्पराभन्दा फरक ढंगका नेपाली कलाका शैली र प्रवृत्ति नै हुन्। यस वेला आधुनिक शैली र प्रवृत्तिका कलामार्फत कलाकार देखापरिसकेका थिए। आधुनिक कलाका शैली, प्रवृत्ति वा प्रक्रियाका आधार पश्चिमी कला नै थिए। विशेषगरी सबैजसो कलाकार नेपालबाहिर गई कलाको अध्ययन गरेको हुँदा उनीहरूले पश्चिमी कलाको दर्शन र शैलीबारे यथेष्ट ज्ञान र सीप हासिल गरेका छन्।  

नेपालमा पश्चिमी कलाशैलीको प्रभाव १९औँ शताब्दीको पूर्वार्धदेखि नै देखिएको थिथो। सन् १८५० सम्म आइपुग्दा यो कलाको शैलीले स्पष्ट स्वरूप धारणा गरिसकेको देखिन्छ। उदाहरणमा, त्यसबखतका भाजुमान र राजमानलाई लिन सकिन्छ। भाजुमानभन्दा राजमान अलि पाका हुन्। यी दुवै कलाकार अलगअलग घटनामा कलाकारका रूपमा उदाएको देखिन्छ। एउटै घटनामा वा एकै ठाउँमा भने यी दुई कलाकार कतै पनि देखिँदैनन्, यो अलि अचम्मलाग्दो कुरा छ।  

यसवेला छिमेकी मुलुक भारतमा पश्चिमी कलाको शैली र प्रवृत्ति राम्रोसँग झ्यांगिइसकेको थियो। यसैवेलाका भारतीय कलाकार राजा रवि बर्माको प्रसंग यहाँ ल्याउन सान्दर्भिक हुन्छ, जसले थियोडोर जेन्सन नाम गरेका बेलायती कलाकारसँग कलाका ज्ञान र सीप हासिल गरेका थिए। यसै अनुसार उनले पश्चिमी शैली र पद्धतिमा प्रशस्त मात्रामा नैसर्गिकवादी चित्र बनाएका छन्। उनी नै भारतमा पश्चिमी शैलीलाई अँगालेर चित्र बनाउने पहिलो चित्रकार मानिन्छन्। पछिल्लो कालमा यसका छापा प्रतिलिपि नेपालमै पनि प्रशस्तै ल्याइएका छन्। सन् १८५० मा औपचारिक रूपमा मद्रासमा पश्चिमी कलाका विद्यालय नै खोलिएको थियो। नेपाल र भारत पहिलेदेखि नै सामाजिक, आर्थिक र राजनीतिक दृष्टिकोणले नजिक भइरहेको अवस्थामा नेपाली कलाकार कसो यो कला शैलीसँग सम्पर्कमा आएनन् होला वा प्रशिक्षित भएनन् होला र ? तथापि हालसम्मको अवस्थामा आधिकारिक रूपमा यसबारे अभिलेखन पाइएको भने छैन। कलाकारको नाम पनि स्पष्ट भएर आउन सकेको छैन।

पहिलो विश्वयुद्धले युरोपेली सामाजिक संरचना, मूल्य–मान्यतालाई विध्वंश गर्‍यो। यसले सांस्कृतिक आस्थाको सिस्टमलाई विनाश गर्दै चुनौती दिएपछि कलाकार समेत जागरुक भए। फलस्वरूप यसले सर्जकलाई प्रयोगात्मक काम, अन्वेषण र कलागत खोज यात्रा गर्न प्रोत्साहित गर्‍यो।  

राजमान दृष्टान्त चित्रकार र भाजुमान व्यक्ति चित्रकारका रूपमा चिनिन्छन्। यी दुवैका कलामा पश्चिमी शैली र पद्धतिको सुगन्ध पाइन्छ। त्यसैले उनीहरूका कला परम्परागत कलाभन्दा केही फरक देखिन्थे। यसपछिका दिनमा पनि नेपाली कलामा पश्चिमी कला शैली र प्रविधिगत विकासको आरोह अवरोह लामै छ। यसबीचमा धेरै कलाकार देखिए पनि यहाँ चन्द्रमानसिंह मास्के र तेजबहादुर चित्रकारलाई विशेष रूपमा उल्लेख गर्नुपर्ने हुन्छ। किनकि यी दुवै कलाकार ललितकलामा विधिवत शिक्षा हासिल गर्ने पहिलो पंक्तिका कलाकार हुन्। यी दुवै कलाकारले गभर्मेन्ट स्कुल अफ आर्ट कलकत्ताबाट कलामा शिक्षा हासिल गरेका थिए। यी दुवै नेपाल फर्किसकेपछि नेपाली कलामा पश्चिमी शैली र पद्धतिको संस्थागत विकास भएको थियो। यसैले सन् १९३० पछिको काललाई समसामयिक कलाको पहिलो मोडको रूपमा व्याख्या विश्लेषण गर्ने गरेको छु। दोस्रो मोड सन् १८५० अनि तेस्रो मोड सन् १९६० पछि आउँछ। यस्तै, समसामयिक कलाको चौथो मोडको रूपमा सन् २००३ लाई मान्ने गरेको छु, जति वेला उत्तर आधुनिक कलाको उदय भयो। 

 परम्परागत कलाको निरन्तर विकाससँगै पश्चिमी शैलीबाट प्रभावित नेपाली कला पनि पल्लवित हुँदै अगाडि बढेको इतिहास छ। विशेषतः व्यक्ति चित्रमा यसले आफ्नो पकड बलियो बनाएको देखिन्छ। परम्परागत कलामा दृश्यचित्रले प्रवेश पाए पनि अहिले देखिएको प्रभाववादी दृश्यचित्रसँग यसको केही सम्बन्ध छैन। यसवेलासम्म कलाको विशेषता र स्वभावको विश्लेषण गरिएको थिएन। पश्चिमी शैलीको प्रभावको मात्र कुरा गरिरहँदाको अवस्थामा नेपाली समसामयिक कलाको नामले आफ्नो परिचय स्थापित गरेको देखिन्छ। यो समसामयिकताको प्रसंग अहिले पछिल्लो कालसम्म कायमै छ।  

संस्थागत रूपमा आधुनिक कलाको चरित्र र स्वभाव भने सन् १९६० पछि देखापरेको थियो। यसबखत पश्चिममा स्थापित भइसकेका स्वच्छन्दवादी वा यसअघिका नवशास्त्रीय कलाका प्रवृत्तिले हामीकहाँ त्यति प्रभाव पारेको देखिँदैन। जब पश्चिममा यथार्थवादको उदय भयो, यही यथार्थवादीको प्रभाव हामीकहाँ स्पष्ट उदाएको देखिन्छ। पछि प्रभाववादी कलाले नेपाली कलामा मात्र ठूलै प्रभाव पारेन, शैक्षिक प्रक्रियाको पाठ्क्रममा पनि यसले ठाउँ पायो। जुनसुकै विधाका कलाकार, औपचारिक कला शिक्षा लिएका वा नलिएका कलाकार पनि ह्यानमेड पेपर (पारदर्शी दृश्यचित्र बनाउने विशेष प्रकारको कागज), जलरंगका डब्बा र पानी राख्ने सानो भाँडा बोकी डाँडाकाँडा, नदीका किनारा र पुराना गाउँबस्तीतिर चित्र बनाइरहेका देखिन्थे। सन् ८० को दशकमा यही शैलीका दृश्यचित्रले नेपाली समसामयिक कलामा राज गरेको थियो। अहिले हामी उत्तर आधुनिकताको बहावमा बगिरहँदा समेत यो प्रभाववादको प्रभाव रतिभर घटेको छैन। बरु बढ्दो क्रममा छ।  

पश्चिमी यथार्थवादी शैलीबाट शुभारम्भ भएको पश्चिमी प्रभाव प्रभाववादी हुँदै अमूर्त कलासम्म आइपुगेको हो। यही उत्तरप्रभाववादी कलादेखि घनवादी, अमूर्त कला, अभिव्यञ्जनावादी, अतियथार्थवादी आदि सबैजसो आधुनिक कलाका शैली स्पष्ट रूपमा यसैवेला नेपालमा देखापरेका थिए। यस्ता कलाका शैलीले संस्थागत रूपमा गति लिएको पनि देखिन्छ। यसैवेला चारजना प्रमुख आधुनिक कलाकारका एकल कला प्रदर्शनी हुनुले पनि आधुनिक कलाको संस्थागत संरचनालाई गहकिलो टेवा पुग्यो। किनकि यसपछि एकल कला प्रदर्शनी गर्ने वा गर्नैपर्ने बलियो संस्कार बनेको देखिन्छ। यसपछि ७० को दशकमा आइपुग्दा आज देखिएका प्रमुख आधुनिक कलाकारका आ–आफ्ना एकल कला प्रदर्शनी भइसकेका थिए। यसले नेपाली आधुनिक कलाको एक अलग्ग स्वरूप, प्रकृति र विशेषतालाई स्थापित गर्ने काम गरेको मान्नुपर्छ। नेपालमा सन् १९६० देखि करिब १९७० सम्म आधुनिक कलाका सम्पूर्णजसो शैलीले प्रभुत्व जमाइसकेको थियो। यसकारण यसलाई नेपाली आधुनिक कलाको पहिलो दशक भन्ने चलन छ।  

यसैको सेरोफेरामा बसेर नेपालको आधुनिक कलाको व्याख्या विश्लेषण गर्न आवश्यक छ। नेपालमा परम्परागत कला, शास्त्रीय कला र पूर्व आधुनिक कला पछि मात्र आधुनिक कलाको उद्भव भएको देखिन्छ। नेपाली कलाको हरेक कालखण्डका आ–आफ्नै विशेषता छन्। तथापि १९औँ शताब्दीदेखि दुई अलगअलग धारमा विकसित भई अलगअलग शैलीका कला स्थापित भएको देखिन्छ। तेस्रो धारको रूपमा नेपाली परम्परागत कला र पश्चिमी पद्धतिको समिश्रण भएको पनि छ। नेपाली परम्परागत कलामा रहेको दोस्रो आयामिक कलाको धरातल तेस्रो आयामिक धरातलमा परिणत हुँदै दुरान्तर भेदका विशेषता यस्ता कलामा देखिन थालेका थिए। यस्ता कलाका शैलीलाई कसरी व्याख्या गर्ने भन्ने आफैँमा अलग्ग चुनौती छ। तथापि पछिल्लो कालमा आधुनिकलाको शैली नितान्त फरक स्वभावमा विकसित भएका कारण कुनै पनि अघिल्ला कलाको प्रकृतिसँग यसको तालमेल भएको देखिँदैन।  

१८औँ शताब्दी वा यसअघि नेपाली कलामा भारत र केही हदसम्म तिब्बत (चीन) का कलाको प्रभाव परेको छ। यसले गर्दा नेपाली कलाका आफ्ना विशेषता परिवर्तन हुँदै आएको देखिएको छ। तर हामी यसलाई समसामयिक कला र आधुनिक कलाको सन्दर्भमा व्याख्या गर्दैनौँ, यसका पनि केही कारण छन्।  

कलाको दर्शन, शैली र विकास 

पश्चिमी कलाको सन्दर्भ उठ्दा विशेषतः पश्चिमी राष्ट्रमा आधुनिक कला कसरी विकास भयो भन्ने बुझ्न आवश्यक हुन्छ। मोटामोटी रूपमा सन् १८६० देखि १९७० सम्म बनेका कलात्मक काम, जसलाई मूलतः निश्चित दर्शन र शैलीले निर्देशित गरेको छ। यतिवेला प्रयोगात्मक कामद्वारा पुरानो परम्परागत कलालाई विस्थापित गरिदियो। परम्परागत संकुचित मूल्य–मान्यतालाई बहिष्कार गर्दै नयाँ परिवर्तनका साथै प्रयोगधर्मी अभ्यासको थालनी हुन थाल्यो। मूलतः यस्ता कलागत क्षेत्र भनेको सेप, कलर र लाइन नै बन्न गयो। यी अनेक कुरालाई आधुनिक कलाको परिधिमा राखेर हेर्नुपर्ने हुन्छ। मूलतः न्यारेटिभ प्रवृत्ति ( जसलाई परम्परागत कलाको विशेषता मानिन्छ) लाई बहिष्कार गर्नुदेखि एक्सपेरिमेन्टेसनको गतिलाई लक्षित गरेर अगाडि बढेको देखिन्छ। यसका साथै समाज र कलालाई हेर्ने नयाँ ढंग, शुद्ध सफा विचार आदि यसका विशेषता हुन्।  

आधुनिक कलाको इतिहासमा नवप्रभाववाद, उत्तर–प्रभाववाद, बिन्दुवाद, फ्याबुलिजम्, घनवाद, अर्मूत अभिव्यञ्जनावाद आदिलाई आफ्नो क्षेत्रमा राखेको देखिन्छ। यसपछिका कलाका शैली र वाद अनगिन्ती छन्। यसलाई तानेर अमूर्त अभिव्यञ्जनावाददेखि, हार्ड एज पेन्टिङ, मिनिमालिजम् वा पपआर्ट र अपआर्टसम्म पनि पुर्‍याउने कोसिस गरेको देखिन्छ। यसरी हेर्दा प्रभाववाद वा यसअघिको यथार्थवाद आदिलाई प्रत्यक्ष रूपमा आधुनिक कलासँग जोडेको देखिँदैन। यस वेलाका कला नितान्त व्यक्तिगत स्वतन्त्रतापूर्वक कुनै वाद वा सिद्धान्तका आधारमा नटेकी संयोजन गरेको मानिन्छ। संयोजन आफैँमा आधुनिक कलाको अनिवार्य सर्त पनि हो। यसले कलाकारलाई दिशा परिवर्तन गरी उन्मुक्त भएर प्रबलताका साथ आफ्नो अन्तर्मनका प्रभावलाई एक्सपेरिमेन्टका रूपमा सिर्जना गर्ने बाटो खुलाइदिएको छ। कलाका परम्परागत मान्यतालाई भत्काउँदै यस बखतका कलाको निर्माण भएको स्पष्ट दृश्यावलोकन गर्न सकिन्छ। सेजानका दृश्यचित्र र स्थिर जीवनका चित्रमा दुरान्त भेदको सिद्धान्तलाई भत्काइएको छ। उनका चित्रका विषयहरू क्युबिक फर्ममा सिर्जना गरिएका छन्। कोण, सिलिन्डर र स्पेयर उनको कलाको आधारभूमि थियो। यसरी नै भ्यानगगले यसैमा थप अभिव्यञ्जना थपेका थिए। क्युबिक फर्म प्रयोग नगरी डरलाग्दा मोटा रेखालाई शक्तिशाली पात्रका रूपमा उनले उभ्याएका थिए। सुरातका बिन्दु मात्र प्रयोग गरेर बनाइएका एक्सपेरिमेन्टल काम नै आधुनिक कलाको मुख्य मार्गदर्शन बन्यो। यसपछि उदय भएको फ्याबुलिजम्का जन्मदाता मातिसले आधुनिक कलालाई अझ उचाइमा लिएर गएको व्याख्या गरिन्छ। आधुनिक कलाको प्रादुर्भाव र विकासको वातावरण बनाउने कला आन्दोलनको रूपमा यसलाई व्याख्या विश्लेषण गरेको देखिन्छ।  

पहिलो विश्वयुद्धले युरोपेली सामाजिक संरचना, मूल्य–मान्यतालाई विध्वंश गर्‍यो। यसले सांस्कृतिक आस्थाको सिस्टमलाई विनाश गर्दै चुनौती दिएपछि कलाकार समेत जागरुक भए। फलस्वरूप यसले सर्जकलाई प्रयोगात्मक काम, अन्वेषण र कलागत खोज यात्रा गर्न प्रोत्साहित गर्‍यो। कलाको नैतिकता, अनि कला यस्तो हुनपर्छ भन्ने व्याख्या विश्लेषण कलाकार स्वयं, कला समीक्षक, कलाविज्ञबाट शुभारम्भ भयो। यिनै पृष्ठभूमिमा आधुनिक कलाको जन्म भएको मानिन्छ। आधुनिक कलाको जन्म भएपछि छोटो कालमै यसका लागि दर्जनौँ यस्ता कलाका आन्दोलन भएका छन्। यसको निरन्तरता अहिले उत्तर आधुनिक कलाको नाममा अझ तीव्र गतिमा बढेर गएको छ।  

औचारिक कला शिक्षा 

नेपालको आधुनिक कलाको सन्दर्भमा पश्चिमी कलाको शैलीलाई आधार लिनुपर्ने अर्को मुख्य कारण भनेको कलाको औपचारिक शैक्षिक प्रक्रिया पनि हो। आजसम्म कला स्कुल र क्याम्पसमा पश्चिमी कला पद्धतिमै कला शिक्षा दिइन्छ। नेपाली कलाकार बाहिर गई कलाको शिक्षा लिएर नेपाल फर्केपछि पश्चिमी कलालाई पाठ्यक्रममा हुबहुजस्तो गरी समावेश गरिएको छ। विषय मात्र होइन, शिक्षण विधि–प्रक्रिया र माध्यम पनि एकैजसो प्रयोग भएको देखिन्छ। कला निर्माणका सामग्री समेत बाहिरबाट आयातीत गर्ने र सोही सामग्रीले कलाको सिर्जना हुन थालेको पनि देखिन्छ। यसो हुँदा नेपाली कलाको स्वरूप परम्परागतभन्दा नितान्त फरक ढंगको देखिन आएको हो। नेपाली परम्परागत कला वा लोककलाको निरन्तरता हुन नसक्दा आयातीत कलाको निन्दा गर्ने वा दोष लगाउने परिपाटी पनि देखिन्छ। भारतमा रङ र विषयमा सचेत भई पश्चिमी कला समावेश गर्दा कलाकार केही हदसम्म यस्ता दोषारोपणबाट बच्न सकेका छन्।  

नेपालमा सदियौँदेखि परम्परागत कला र लोककला समुदायमा व्याप्त रहे पनि यसबारे औपचारिक स्कुल खुल्न सकेको छैन। यसो हुँदा नेपाली आधुनिकलाका मापनका सूचांक पनि यही पश्चिमी दर्शन र शैलीमा आधारित छ। अहिले नेपाली परम्परागत पौभा, थांका र लोककला (नेवारी, मैथिली, थारु, भोजपुरी अवधि कला) लाई समसामयिक कला भनेर खुलेर भन्ने गरिएको छैन। न त ढुक्क भएर पराम्परागत वा लोककला भनेर अलग्गाउन सकिएको छ।  

ग्लोबलाइजेसनको प्रभाव  

दोस्रो विश्वयुद्धपछि ग्लोेबलाइजेसनको प्रभाव विश्वभरि देखियो। स्वभावतः नेपालमा पनि यसको प्रभाव तीव्र रूपमा बढेर गएको देखिएको छ। विशेषतः विकसित राष्ट्रका सामाजिक, राजनीतिक र धार्मिक दर्शन वा पद्धति कतिपय देशमा औपचारिक रूपमा प्रवेश भएको छ। अझ उपनिवेशमा गाँजिएका राष्ट्र त यसबाट अझ बढी मारमा परेका छन्। भारत पनि त्यसबखत उपनिवेशको चपेटामा पर्दा पश्चिमी मुलुकका सामाजिक, राजनीतिक, धार्मिक दर्शन र पद्धतिले सहजै प्रवेश पाएको देखिन्छ। भारतको छिमेकी मुलुक भएका नाताले यो प्रभाव नेपालमा पर्नु अस्वाभाविक भएन। कलाको आरोह अवरोह पनि यसै साथ गाँसिएको छ।  

आधुनिकलाको पहिलो दशक  

नेपालको आधुनिक कलाको कालखण्डको पहिलो दशकमा देखापरेका मुख्य कलाकार हुन्– लैनसिंह वाङ्देल, उत्तम नेपाली, उर्मिला उपाध्याय गर्ग, ठाकुरप्रसाद मैनाली, रामानन्द जोशी, लक्षमण श्रेष्ठ, मनुजबाबु मिश्र, शशिविक्रम शाह, विजय थापा, प्रमिला गिरी र दुर्गा बराल। यसबाहेक यसबखत मूलधारमा नरही पश्चिमी पद्धतिलाई अवलम्बन गरेर कला सिर्जना गर्ने कलाकारमा कुलमानसिंह भण्डारी, गोविन्दनारायण ज्यापु, दिलबहादुर चित्रकार, अमर चित्रकार, हरिप्रसाद शर्मा आदि देखिन्छन्। यसअघि जे जे स्कुल अफ आर्टबाट ओरिन्टल आर्टमा दीक्षित भएका कलाकार केशव दुवाडी र यसै बखतका सोही कलाको स्कुलबाट अध्ययन गरेर आएका कालीदास श्रेष्ठ पनि छन्, यी दुवै कलाकार बढी मात्रामा कलाको शैक्षिक प्रक्रियामा संलग्न भएको देखिएको छ।  

कलाकार तथा कलाविद् लैनसिंह वाङ्देल बेलायतबाट सीधै नेपालमा प्रवेश गरेका हुन्। उनका पुर्खा नेपालमै भए पनि उनको स्कुले पढाइ दार्जिलिङमा भयो। गभर्मेन्ट स्कुल अफ आर्ट कलकत्तामा पढेपछि कलाको उच्च शिक्षा लिन उनी बेलायत गएका थिए। यसो हुँदा विश्वको आधुनिक कलाको प्रत्यक्ष अवलोकन, अभ्यासदेखि कलाको गहन अध्ययन उनले गरे। वर्षौंसम्म युरोपेली कलालाई नजिकबाट छाम्न पाएकाले उनका कलामा प्रयोग भएका रङको छनोटदेखि संयोजन, प्रस्तुति शैली र प्रवृत्ति तत्कालीन पश्चिममा उदाएका चित्रभन्दा अलग्ग लाग्दैनन्। उनले नेपालमा पहिलो एकल कला प्रदर्शनी सन् १९६२ मा गरे। यसअघि दुईवटा एकल कला प्रदर्शनी बाहिर युरोपमै गरेका हुन्। उनले बेलायतमै बसेर पश्चिमी शैली र पद्धतिका कला बनाएका थिए। ती कला स्वभावतः नेपालमा नितान्त नौलो रूपमा आम भावकले पनि महसुस गरेका थिए। उनका चित्र विशेषगरी अमूर्त अभिव्यञ्जना र थोरै क्युबिक फर्मसँगै कलर एप्लिकेसनमा उत्तर प्रभाववादीका नजिक देखिन्छन्।  

यसबखतका अर्का कलाकार उत्तम नेपालीले पनि बालककालदेखि भारतको लखनउमा स्कुले जीवन बिताएका थिए। लखनउकै कला स्कुलमा अध्ययन सकेर उनी नेपाल फर्केका थिए। उनको पनि पहिलो एकल कला प्रदर्शनी सन् १९६२ मा भएको थियो। लखनउ आर्ट स्कुल, जहाँ उनले कलाको अध्ययन गरेका थिए, नन्दलाल बोसको छत्रछाया पर्दा भारतीय संस्कृति र परम्पराका विम्बलाई उनले नजिकबाट अवलोकन गर्न पाएका थिए। यसो हुँदा उनका सुरुका चित्रमा भारतीय ओरिन्टल आर्टको प्रभाव गहिरो छ। पछि उनी अमूर्त कलामा प्रवेश गरे। उनका चित्र विविधतामा छरिएका छन्। नेपाली परम्परागत मोटिफलाई प्रयोग गर्नेदेखि साहित्यकारसँग कोल्याबोरेटिभ रूपमा काम गर्ने प्रकृति उनीमा देखिन्छ।  

उर्मिला उपाध्यायको पहिलो एकल कला प्रदर्शनी सन् १९५९ मा भएको थियो। यसपछि १९६२ मा पनि उनले अर्को एकल कला प्रदर्शनी गरेकी छन्। भारतको जे जे स्कुल अफ आर्टमा अध्ययन गरी उच्च शिक्षाका लागि उनी युरोप गएकी थिइन्। उनको विवाह भारतीय नागरिकसँग हुँदा दुवै विदेशमा बढी मात्रामा बसे। नेपालमा बस्न पछि मात्र आएको देखिन्छ। उनको प्रिन्ट मेकिङका अमूर्त चित्र पहिलो कला प्रदर्शनीमै देखिएका थिए। जहाँबाट उनी पहिलो नारी आधुनिक कलाकार मात्र बनिनन्, यहीँबाट प्रिन्ट मेकिङ कलाको शुभारम्भ पनि भएको देखिन्छ।  

विजय थापाले बनारसबाट कलामा शिक्षा लिएका हुन्। उनी अध्ययनकै क्रममा काठमाडौं आई कलामा सक्रिय रहे। समकालीन कलाकारभन्दा उनी कान्छो भए पनि उनका चित्रले खास अर्थ राखेको देखिन्छ। उनी व्यक्तिचित्रमा माहिर मानिन्छन्। अहिले अमूर्त कलातर्फ अलि बढी मात्रामा व्यस्त देखिन्छन्।

ठाकुरप्रसाद मैनाली बरोदाबाट कलाको शिक्षा लिएका हुन्। उनकै कामबाट नेपाली आधुनिक मूर्तिकलाको शुभारम्भ भएको मानिन्छ। यस बखतसम्म कुनै आधुनिक कलाकार मूर्तिकलामा अध्ययन गर्न बाहिर गएको देखिँदैन। उनका अर्ध अमूर्त मूर्तिले नेपाली आधुनिक मूर्तिकलामा नयाँ आयाम ल्याएका थिए।  

रामानन्द जोशीले पनि जे जे स्कुल अफ आर्टबाटै कलाको अध्ययन गरे। उनी नेपाल फर्केपछि सन् १९६४ मा पहिलो एकल प्रदर्शन गरे। यसअघि उनले भारतमै एकल कला प्रदर्शनी गरिसकेका थिए। उनले नवतन्त्रकलाको नवीन शैली प्रारम्भ मात्र गरेरनन्, प्रभाववादी दृश्यचित्रको थालनी र संस्थागत रूपमा विकास पनि गरे। कला ग्यालरी खोल्नेदेखि कलाका कोचिङ कक्षा खोली युवा कलाकारलाई पश्चिमी कलाशैली र नेपाली संस्कृति, कला र परम्परालाई समायोजन गर्न सिकाए।  

लक्ष्मण श्रेष्ठले पनि मुम्बईको जे जे स्कुल अफ आर्टबाटै कला शिक्षा ग्रहण गरेका हुन्। पछि उच्च शिक्षाका लागि उनी युरोप गए। अमूर्त कलामा उनी माहिर मानिन्छन्। उनका विशालकाय अमूर्त चित्र देखेर नेपाली मात्र होइन, अन्तर्राष्ट्रिय आर्ट क्युरेटर पनि दंग पर्छन्। उनी आर्ट स्टुडियोमा पसेको थाहा पाएपछि अन्तर्राष्ट्रिय आर्ट कलेक्टरहरू उनको कला बुक गर्न हतार गर्थे। उनका कला करोडौँ मूल्यमा बिक्री हुन्थे।  

शशिविक्रम शाहले जे जे स्कुल अफ आर्ट र मनुजबाबु मिश्र बंगलादेशको ढाकाबाट कलाको शिक्षा हासिल गरेका हुन्। यी दुवै कलाकारले विशेषतः हिन्दू देवीदेवतालाई आफ्नो कलाको प्रमुख पात्र बनाउँछन्।  

प्रमिला गिरीले शान्ति निकेतन कलकत्ताबाट कलाको शिक्षा लिएकी हुन्। त्यस्तै, दुर्गा बराल स्वदीक्षित कलाकार हुन्। उनले कुनै कलाको औपचारिक शिक्षा लिएका छैनन्। प्रमिला गिरीले लामो समयदेखि नेपाली आधुनिक मूर्तिकलाको सिर्जना र प्रदर्शनी गर्दै आएकी छन्। उनका भैरवको थिममा सिर्जना भएका अर्ध अमूर्त मूर्तिहरू, क्यानभासमै धातुलाई टाँसेर बनाएका कला, खुला आकाशमुनि बनेका अनेकौँ आधुनिक मूर्तिले खास अर्थ राख्छन्।  

दुर्गा बराल कलाका हरेकजसो विधामा अति शक्तिशाली काम गर्न सक्ने एक मात्र आधुनिक कलाकार हुन्। मानव आकृतिलाई खेलाएर आधुनिक कला गर्नेदेखि कार्टुनकला, दृष्टान्त चित्र, दृश्यचित्र आदिमा समान रूपमा उनी माहिर कलाकार मानिन्छन्। २०२३ सालमा नेपालको पहिलो राष्ट्रिय कला प्रदर्शनीमा प्रथम भई आफ्नो कला अब्बल रहेको उनले सबुत दिइसकेका थिए।  

(मल्ल कलाकार र कला समीक्षक हुन्।)

प्रकाशित: १९ असार २०७८ ०५:३५ शनिबार

नेपाली आधुनिक कला