कला

बुद्धका सारीपुत्र र ओशोका अरूणलाई सम्झँदा

भगवान् बुद्धकै जीवनकालमा र उनको महापरिनिर्वाणपछि पनि बौद्ध परम्परामा एकसे एक भक्त, ध्यानी, सिद्ध र प्रख्यात महापुरुषको आगमन भएको छ। तिनीहरूमा अति समादृत व्यक्तित्व भए सारीपुत्र, जसलाई बुद्ध स्वयंले आफ्नो धर्म परम्पराका सेनापति भनी उपाधि दिएका थिए। उमेरमा बुद्धभन्दा केही वर्ष जेठा सारीपुत्र प्राचीन नालन्दामा एक धनी ब्राह्मण परिवारमा जन्मेका थिए। उनकी आमाको नाम रूपसारी थियो। जन्मदाखेरी सारीपुत्रको नाम उपासिता राखिएको थियो। त्यतिबवेला उपलब्ध शिक्षाको उच्च अध्ययन गरेका उपासिताले २० वर्षको युवावस्थामा आफ्ना अभिन्न मित्र कोलितासँगै जन्म र मृत्युभन्दा परको सम्बोधीको खोजमा घर छाडी हिँडेका थिए। दुवैजना हालको बिहार राज्यमा पर्ने राजगृह नगरमा त्यसवेलाका नाम चलेका गुरु सञ्जय बेठलीपुत्रको शिष्य बन्न पुगे। सञ्जय बेठलीपुत्रले सिकाएका धार्मिक अनुष्ठान सबै पूरा गरे पनि उपासितालाई आत्मज्ञान प्राप्त हुन सकिरहेकोे थिएन, त्यसैले उनी निराश थिए।  

एक दिन उपासिताले राजगृहमा भिक्षा माग्दै गरेका एक चम्किला भिक्षुलाई देखे। भिक्षुको शान्त, उज्ज्वल व्यक्तित्वले उपासिता अत्यन्त प्रभावित भए। अश्वजित नाम गरेका ती भिक्षु बुद्धका प्रथम पाँच शिष्य मध्येका एक थिए। अश्वजितले भिक्षाटनपश्चात् मागेको खाना खाँदै गरेका वेला उपासिताले उनलाई आफूसँगै ल्याएको पानी पेस गरे। भोजनपछि उपासिताले अश्वजितलाई सोधे, ‘तपाईं शान्त र आनन्दित देखिनुहुन्छ। तपाईंको गुरु को हुनुहुन्छ ? उहाँको के शिक्षण छ ?’ अश्वजितले आफ्ना गुरु तथागत बुद्ध भएको र चार आर्य सत्य, पञ्चशील, अष्टांगिक मार्ग आदि बुद्धको शिक्षण भएको कुरा बताए। साथै बुद्धलाई भेट्ने इच्छा भए उहाँ त्यहीँ राजगृहको गिद्धकुट पर्वतमा बसिरहेको कुरा समेत बताए। उपासिताले साथी कोलितालाई तथागत बुद्धको बारेमा सुनाए। हृदय थाम्न नसकी दुवै मित्रले बुद्धको संघमा सामेल हुन जाने सल्लाह गरे। यो निर्णय गरी गिद्धकुट पर्वत जाँदै गर्दा उनीहरूले गुरु सञ्जय बेठलीपुत्रलाई पनि आफूसँगै आउन आग्रह गरे। आफ्ना दुई प्रमुख शिष्यले छाडेर जान लागेको देखेर सञ्जय आत्तिए र उनीहरूलाई आफू बराबर नै आफ्ना चेलाको गुरु बनाइदिने प्रलोभन दिए। तर, उपासिताले मूर्खको गुरु बन्नुभन्दा तथागतको शिष्य बन्नु ठीक छ भनी गिद्धकुट पर्वततिर लागे। उपासिता र कोलिताहरू तथागतकहाँजान लागेको देखेर सञ्जय बेठलीपुत्रको संघका पाँच सय शिष्य पनि उनीहरूको पछि लागे।  

उता, गिद्धकुट पर्वतमा तथागत बुद्धले भिक्षुलाई प्रवचन दिइरहेका थिए। उपासिता र साथी कोलिता पाँच सय जनाको लस्करका साथ पर्वत चढ्दै गरेको देखी बुद्धले सभालाई भने, ‘ऊ हेर, मेरा धर्म सेनापति आउँदै छन्।’ उपासिता र कोलिताले बुद्धको चरणमा नमन गरे। बुद्धले उनीहरूलाई संघमा दीक्षित गर्दै क्रमशः सारीपुत्र तथा महामौद्गल्यान नाम दिए। बुद्धबाट दीक्षित भएको दुई हप्तापछि प्रवचनका वेला बुद्धलाई पंखा हम्किँदै गर्दा सारीपुत्रलाई सम्बोधी अर्थात् आत्मज्ञान उपलब्ध भयो। त्यसको केही दिनमा महामौदगल्यानले पनि आत्मज्ञान उपलब्ध गरे।  

सम्बोधीपछि बुद्धको आज्ञाअनुसार सारीपुत्रले बुद्धको शिक्षणलाई चारैतिर फैलाउन अथक कार्य गरे। बुद्धले पनि धर्मको मर्म बुझ्ने सवालमा सारीपुत्रको विद्वता, विनितपन तथा मैत्रीभावको खुब प्रशंसा गर्थे। सारीपुत्र बुद्धको सन्देश लिएर टाढाटाढा गाउँमा जान्थे। सारीपुत्र स्वयं बुद्धजस्तै सम्बुद्ध चेतनामा उपलब्ध भइसके पनि सधैँ इमानदार शिष्य बनी अपार कृतज्ञताले भरिएर गुरुको सन्देश फैलाउन जीवनपर्यन्त लागिरहे।  

श्रावस्तीमा वर्षवास गरेका वेला एक दिन बुद्धले घोषणा गरे कि तीन महिनापछि आफूले देहत्याग गर्नेछन्। यो सुनेर सारीपुत्रको हृदयमा गहिरो धक्का लाग्यो। उनले गुरुले देहत्याग गरेको आफ्ना आँखाले हेर्नुभन्दा पहिल्यै आफैँले शरीर छाड्ने निश्चय गरी बुद्धलाई सो कुराको अवगत गराए। बुद्धले पनि सारीपुत्रको इच्छालाई स्वीकृति दिँदै उनलाई कहाँ देहत्याग गर्न इच्छा छ भनेर सोधे। सारीपुत्रले आफ्नो जन्मस्थान नालन्दामा गएर देहत्याग गर्ने इच्छा जाहेर गरे। बुद्धले उनको कुरालाई स्वीकृति दिए र सारीपुत्रका भाइ भिक्षु चुन्दलाई उनीसँगै जाने निर्देश दिए। सारीपुत्रले बुद्धलाई तीनपटक परिक्रमा गरे। बुद्धप्रति अपार कृतज्ञता जाहेर गरेर उनी चुन्दको साथमा नालन्दा लागे। नालन्दा पुगेको केही समयपछि आफू जन्मेको कोठामा बसेर बुद्ध भएको दिशातर्फ प्रार्थनापूर्ण मुद्रामा नमन गर्दै सारीपुत्रले देहत्याग गरे।  

बुद्धको मार्गका धेरै भिक्षु र बौद्ध साधकको उल्लेख बौद्ध ग्रन्थ तथा साहित्यमा पाइन्छ। त्यसमध्ये बुद्ध पछि सबैभन्दा इज्जतसाथ उल्लेख हुने व्यक्तित्वमा बुद्धका धर्म सेनापति सारीपुत्र नै देखिन्छन्। जबसम्म बुद्धको नाम जीवित रहला बुद्धसँगै उनका धर्म सेनापति सारीपुत्रको नाम यस जगत्मा अमर रहनेछ।

सारीपुत्रले शरीर छाडेको करिब २५०० वर्षपछाडि यो पृथ्वीमा सद्गुरु ओशो रजनीशको ध्यान आन्दोलन संसारभर फैलिरहेको थियो। ओशोको मार्गमा दीक्षित शिष्य त लाखौँ भए, तिनमा पनि बुद्धका सारीपुत्रजस्तै ओशोको सन्देश विस्तारका लागि असीम गुरुभक्ति, लगन, त्याग र इमानदारिताका साथ कार्य गर्ने शिष्यको पंक्तिमा नेपालमा जन्मेका स्वामी आनन्द अरूणको स्थान अग्रस्थानमा आउँछ जस्तो मलाई लाग्छ।  

१९४४ जुन १६, तदनुसार २००१ असार ३ गते नेपालको सनातन आध्यात्मिक भूमि जनकपुरको लोहना भन्ने गाउँमा बुवा केदारप्रसाद सिंह र आमा सुमित्रा देवीका पहिलो सन्तानको रूपमा जन्मेका अरूणकुमार सिंह १९७४ अक्टोबर ११ मा सन्न्यास दीक्षा लिएपछि स्वामी आनन्द अरूणको रूपमा चिनिन थाले।  

१९६९ मार्च २९ मा पटनामा इन्जिनियरिङ पढ्दै गर्दा आचार्य रजनीशका रूपमा चर्चित ओशोको सान्निध्यमा पुगेका स्वामी अरूणलाई प्रथम भेटमै आचार्यको व्यक्तित्व तथा ध्यानको जादुले छपक्कै छोप्यो र आचार्यप्रति समर्पित भए। त्यस समयमा युवा आचार्यको बसोबास जवलपुरमा थियो। पछि, सोही वर्षको अक्टोबरमा आचार्यको निमन्त्रणामा भारतको द्वारिकामा सञ्चालित ध्यान शिविरमा विद्यार्थी अरूणले भाग लिन पुगे। भलै त्यसवेला आचार्यले विधिवत दीक्षा दिई शिष्य बनाउन सुरु गरेका थिएनन् तर युवा अरूणले आचार्यलाई मनमनै आफ्नो गुरु मानिसकेका थिए। सोही शिविरको समापनपछि अरूणको आचार्यसँगको एक अन्तरंग भेटपछि उनको आध्यात्मिक यात्राले नयाँ उडान लियो। सो भेटमा आचार्यले अरूणलाई बताए, ‘नेपालमा धेरै आध्यात्मिक सम्भावना छ, तिमीले साधना गरेर आफूलाई तयार गर्‍यौँ भने नेपाल एक दिन मेरो भगवा रंगमा रंगिनेछ, जसरी तिब्बत बुद्धको रंगमा रंगियो।’  

१९७० को जुनतिर आचार्य रजनीश जवलपुर छाडी बम्बईमा बस्न सुरु गरे। सोही वर्षको सेप्टेम्बर २६ तारिखमा मनालीको ध्यान शिविरमा २० साधकलाई दीक्षा दिई नवसन्न्यास आन्दोलनको सूत्रपात गरे। त्यस्तै, सन् १९७१ मा आचार्यलाई शिष्यले आदरपूर्वक ‘भगवान्’ भनी सम्बोधन गर्न सुरुवात गरेका थिए। यता, यही समयमा विद्यार्थी अरूणको जीवनमा धेरै उतारचढाव आए। जीवनमा समस्यासँग संघर्षरत उनलाई रजनीशकोे करुणाले तानेर साधनाको नयाँ गति प्रदान गर्‍याे। विद्यार्थी अरूणले दीक्षाका लागि गुरुसँग अनुरोध गरे, तर रजनीशले अरूणको इन्जिनियरिङको पढाइ नसकी दीक्षा दिन मानेनन्। करिब चार वर्ष बम्बईमा बसेपछि आचार्यले १९७४ मार्च २१ को दिन पुनामा रजनीश आश्रम स्थापना गरे। इन्जिनियरिङ पास गरिसकेपछि अन्ततः १९७४ अक्टोबर ११ मा अरूणकुमार सिंह रजनीशको नवसन्न्यासमा दीक्षित भई स्वामी आनन्द अरूण बन्न पुगे। दीक्षा लिएपछि स्वामी आनन्द अरूणले गुरुसँगै पुना आश्रममा बसेर साधनामा जीवनअर्पण गर्ने इच्छा गरे। तर, रजनीशले मानेनन्। किनभने कालान्तरमा स्वामी आनन्द अरूणले ओशोको सन्देश लिई संसारभरि घुम्नुपर्ने थियो।

सच्चा गुरुभक्त शिष्य जहिले पनि गुरु चरणमै बस्न चाहन्छ। चाहे अरू ठाउँमा संसारको सारा खजाना मिलोस्, गुरुको चरणमै उसको प्राण अड्किएको हुन्छ। मसँग स्वामी आनन्द अरूणको जस्तो गुरुभक्ति छैन नै, न उनको जस्तो साधनाको अपरिसिम उचाइ। तर, मेरो सानो विवेकले यो अनुभव गर्न सकिरहेको छ कि स्वामी आनन्द अरूणलाई भविष्यका यी सुन्दर परिकल्पनाभन्दा गुरुचरण नै प्यारो थियो। तर, रजनीशले स्वामी अरूणलाई सम्झाए, तिमी मसँगै बस्यौ भने धेरै व्यक्ति मेरो सन्देशबाट वञ्चित हुनेछन्, त्यसैले तिमी नेपालमै गएर ध्यान केन्द्र खोली मेरो काम सुरु गर।

सद्गुरुको आशीर्वचन शिरोपर गरी स्वामी आनन्द अरूणले नेपाल फर्केर आफ्नो घर ताहाचलको एक कोठामा नेपालको पहिलो ध्यान केन्द्र स्थापना गरे, रजनीशले त्यसको नाम दिएका थिए, आशिष ध्यान केन्द्र। स्वयंको ध्यानसँगै गुरुको सन्देश प्रचारका लागि स्वामी अरूणले अथक श्रम गरे। परिवारदेखि प्रशासनसम्म धेरै संघर्ष गर्नुपर्‍याे, तर हार खाएनन्। हृदयमा इमानदारिता अनि मनमा लगन भएपछि टाउकामा गुरुको आशीर्वाद सदा स्वामीजीको साथमा रह्यो। बिस्तारै रजनीशको सन्देशले गति लिँदै गयो नेपालमा। पोखरा लगायत नेपालका अन्य स्थानमा ध्यान केन्द्र खुल्न थाले। स्वामी अरूणले गुरूप्रेमलाई अन्तरहृदयमा राखी नेपाल तथा भारतका विभिन्न स्थानमा ध्यान शिविर सञ्चालन गर्दै साधकलाई नवसन्न्यासमा दीक्षित गर्न थाले। सन् १९८४ मा रजनीशले स्वामी आनन्द अरूणलाई बोधीसत्वको उपाधि समेत दिए। बोधीसत्वको अर्थ हो, जसले प्रेम र करुणाले भरिएर साधकलाई सत्यको मार्गमा डोर्‍याउँछ, आफ्नो मुक्तिलाई थाती राखेर अरूको कल्याणमित्र बन्छ।  

संसारभर नवसन्न्यास मुभमेन्टको कार्य विस्तार हुँदै गर्दा १९८१ जुनमा रजनीश अमेरिका गए। अमेरिकाको ओरेगनमा उनले रजनीशपुरम नामको सहर निर्माण गरे, जुन मानवीय सिर्जनात्मक लगनशीलता र क्षमताको अनुपम उदाहरण थियो। नवसन्न्यास मुभमेन्टले विश्वभर हाँगा फैलाउँदै गयो, सन् १९८४ तिर संसारभरि करिब पाँच सयवटा कम्युन, ध्यान केन्द्र र आश्रम स्थापना भइसकेका थिए। रजनीश र उनको नवसन्न्यास मुभमेन्टको लोकप्रियताले आत्तिएर अमेरिकी सरकार र धार्मिक मतान्ध संस्थाको षड्यन्त्रस्वरूप सन् १९८५ को अन्त्यतिर अमेरिकी सरकारले उनलाई बिनाकसुर गिरफ्तार गरी १२ दिनसम्म हिरासतमा राख्यो। त्यसपछि अमेरिकाबाट भारत फिर्ता गरिदियो।  

केही समय भारतको मनालीमा बसेपछि स्वामी अरूणको अनुरोधमा सन् १९८६ फेब्रुअरी ३ मा उनी नेपाल आए। स्वामी अरूणको अनुरोधलाई स्वीकार गरेर रजनीश आफ्नो बाँकी जीवनकाल नेपालमै बिताउन तयार भए तर षड्यन्त्रकारीले उनलाई नेपालमा बस्न दिएनन्। जम्मा ४७ दिनको नेपाल बसाइँपछि उनलाई हठात् विश्व भ्रमणमा जान बाध्य पारियो। विश्व भ्रमणमा पनि २१ देशले उनलाई आफ्नो देशमा बस्न दिएनन्। अन्ततः भारत फर्केर ६ महिना बम्बई बसेपछि उनी पुना आश्रममै फर्किए। पुना आश्रममा १९९० जनवरी १९ मा ओशोको रहस्यमय मृत्यु भयो, जसलाई धेरैले एक षड्यन्त्रपूर्ण हत्या भनेर पनि मान्छन्। हिन्दुस्तान टाइम्सका पुना संस्करणका सम्पादक अभय वैद्यले एक पुस्तक लेखेका छन्, ‘हु किल्ड ओशो’, जसमा ओशोको षड्यन्त्रमूलक हत्याका बारेमा रहस्यबाट पर्दा उठाउने कोसिस गरिएको छ।  

ओशोको देहावसानपछि उनका कम्युन, आश्रम र ध्यान केन्द्रमाथि पनि आघात पारियो, विश्वभरका पाँच सय केन्द्रमध्ये अधिकांश बन्द गराइए। यस्तो अवस्थाको सिर्जना गर्ने कोसिस गरियो कि ओशोको देहावसानसँगै उनको आध्यात्मिक मुभमेन्टको पनि देहावसान भएको छ। यस्तो विषम परिस्थितिमा बोधीसत्व स्वामी आनन्द अरूणले पहिला त ओशोको सन्देशलाई नेपालमा बलियो जग बसाले, अनि विश्वभर परिभ्रमण गरेर मृतप्रायः पारिएको ओशो मुभमेन्टलाई पुनर्जीवन भरिदिए। विश्वका महत्पूर्ण सहर र राजधानीमा ध्यान शिविर चलाए, नयाँ व्यक्तिलाई नवसन्न्यासमा दीक्षित गरे। आनन्द अरूण आफ्ना आराध्य सद्गुरु ओशोको ध्यान, प्रेम र उत्सवको सन्देश विश्वभर पुर्‍याउन अनवरत लागिरहेका छन्, हाल ७८ वर्षको उमेरमा पनि १८ वर्षे जोस, जाँगर र  ऊर्जा लिएर। कतिपय मान्छेले प्रश्न पनि तेर्साउँछन्, स्वामी अरूण ओशोका अन्तरंग शिष्य भएको भए सधैँ ओशोसँगै हिँड्नु, बस्नु र जीवन बिताउनुपर्ने हो नि ! बोधीसत्व स्वामीजी ओशोसँगै बसेको भए स्वामीजीको अगुवाइमा खुलेका नेपालका ओशो तपोवन, ओशो जेतवन, ओशो उपवनजस्ता आध्यात्मिक रूपान्तरणका आश्रमलगायत करिब सयवटा ध्यान केन्द्र अनि सारा संसारमा ओशोको देहावसानपछि शून्यप्रायः पारिएका ओशोका मुभमेन्ट पुनर्जागरण गरी नेपालबाहिर करिब एक सय ५० वटा केन्द्रको स्थापना कसले गर्‍यो?  

बुद्धका शिष्यले पालैपालो उनको सेवा गर्थे। बुद्धलाई शारीरिक समस्या देखिन थालेपछि कुनै एक शिष्यलाई सेवामा अनवरत रहने जिम्मा दिनुपर्ने आवश्यकता महसुस भयो। सारीपुत्रले सबैभन्दा पहिला बुद्धको सेवाका लागि आफू तयार रहेको घोषणा गरे। तर बुद्धले मानेनन् र आनन्दलाई त्यस कामका लागि चयन गरे। सारीपुत्र दुःखित भए तर बुद्धले सम्झाए कि सारीपुत्र मेरो देशनाका धर्म सेनापति हुन्। मैले उनलाई मेरो सेवामा अल्झाइराखेँ भने टाढाटाढा नगर र गाउँमा धर्मदेशनाको प्रचारमा व्यवधान पर्नेछ र यसले बुद्ध संघलाई ठूलो घाटा हुनेछ। हजारौँ व्यक्तिले उनको प्रज्ञाको फाइदा लिन पाउने छैनन्, किनकि जहाँ सारीपुत्र हुन्छ, त्यहाँ तथागत भए बराबर हो।  

यहीँनेर मलाई लाग्छ, ओशोले पनि भविष्यको आफ्नो कार्यलाई मध्यनजर राखेर स्वामी आनन्द अरूणलाई आफूदेखि भौतिक रूपमा टाढा राखी नेपालमै बस्न बाध्य पारे, आफ्नो ध्यान आन्दोलनको एक कर्मठ, इमानदार, निडर, करुणवान्, साधनामय, विवेकशील सेनापतिका रूपमा। जसरी सारीपुत्र बुद्धको धर्म सेनापतिका रूपमा अजरअमर भए, त्यसरी नै स्वामी आनन्द अरूणलाई पनि ओशो जगत्को आध्यात्मिक सेनापतिका रूपमा इतिहासले सदासर्वदा याद गरिरहनेछ।

प्रकाशित: १९ असार २०७८ ०३:२६ शनिबार

ओशो