कला

बलवान् समय

कथा

   दामोदर भण्डारी

 

अम्बरीष ठूला ज्ञानी र धर्मात्मा राजा थिए । भगवान्मा मन दिएर आशक्तिवहीन भई राजकीय वैभवको उपयोग गर्दथे। भगवानका अनन्य भक्त भएका हुनाले उनको रक्षार्थ भगवानले सुदर्शनचक्र खटाइदिनुभएकोथियो। अम्बरीषले धेरै वर्षदेखि एकादशीको व्रत लिंदै आएका थिए । एकपटक एकादशी व्रतको अनुष्ठानको समापनमा ठूलो यज्ञ र भोजको आयोजना गरिएको थियो । धेरै ऋषि, पुरोहित र ब्राह्मणहरूलाई निमन्त्रणा गरिएको थियो । यो यज्ञमा साठी करोड लैना गाई, सुनचाँदी र रुपैयाँपैसा दान गरेर निमन्त्रितहरूलाई तृप्त पारिएको थियो । यज्ञ सम्पन्न भएर भोज प्रारम्भ भएपछि मात्र दुर्वासा ऋषि आफ्ना शिष्यहरूसहित आए । अम्बरीषले दक्षिणा र भोजनका लागि विनम्रतापूर्वक आग्रह गर्दा नित्यकर्म गर्नै बाँकी भएकाले नित्यकर्म गर्न नदीतिर लागे । यज्ञ सम्पन्न गरिसक्ता अपरान्ह भएको हुँदो हो । ब्रह्ममुहुर्तमा गर्नुपर्ने नित्यकर्म अपरान्हसम्म नगरी बस्नु दुर्वासाको नैष्ठिक पतन थियो । शिष्यहरूसहित नदीमा गएका दुर्वासा धेरै बेरसम्म नदीबाट फर्किएनन्।

यता द्वादशी तिथि समाप्त भएर त्रयोदशी तिथि लाग्ने बेला हुन लाग्यो तर दुर्वासा फर्किएनन् । अम्बरीषले द्वादशी तिथिभित्रै केही खाएर व्रत पारण गर्नु थियो । आफूले आमन्त्रित गरेका ऋषिलाई भोजन नगराई आफूले भोजन गर्नु लोकनिन्दाको विषय हुन्थ्यो। द्वादशी तिथिभित्रै व्रत पारण नगरेमा वर्षौदेखिको एकादशी व्रत निष्फल हुन्थ्यो। अम्बरीष ठूलो धर्मसङ्कटमा परे । तत्काल विद्वतसभा राखेर समस्या प्रस्तुत गरे। विद्वानहरूले निकै विचार –विमर्शपछि राजालाई पानी पिएर व्रत पारण गर्ने सुझाव दिए। दशमी र एकादशी निराहार बसेर फुस्रो भएको अनुहार पानी पिएपछि रसिलो भयो।  

द्वादशी तिथि बितेपछि मात्र दुर्वासा फर्किए । अम्बरीषको अनुहार रसिलो भएको देखेर यसले मेरो उपेक्षा गरेर आफैं पहिला खायो भनेर रिसले आगो भए। अम्बरीषले भोजन र दक्षिणाका लागि विनम्रतापूर्वक गरेको आग्रह सुन्दै नसुनी एकोहोरो गाली वर्साउन लागे । तँलाई अहिले स्वाद चखाउँछु भन्दै एउटा जटा उखेलेर कृत्या उत्पन्न गरी अम्बरीषलाई भष्म गर्ने आदेश दिए । कृत्या अम्बरीषतिर जान लाग्दा सुदर्शनचक्रले कृत्यालाई भष्म गरेर दुर्वासालाई लखेट्न थाल्यो । गाउँ, शहर, पहाड, गुफा, जङ्गल, जल जहाँ गए पनि लखेट्न छाडेन । बाँच्ने आशामा भाग्दाभाग्दै ब्रह्मा, रुद्र, सनत्कुमार, कपिलदेव, धर्म मरीचि आदिसँग गुहार मागे तर कसैले पनि आश्रय दिने आँट गरेन । भगवान् रुद्रले आफू भक्तको अधीन भएकाले केही गर्न नसक्ने बताउनुभयो । रुद्र भगवानले सल्लाह दिंदै भन्नुभयो “जसको अनिष्ट गर्नाले तिम्रोे यस्तो दुर्गति भएको हो उसैसँग गएर क्षमा माग ।  तिम्रो विपत्ति टरेर शान्ति प्राप्त हुनेछ । ”

दुर्वासा फर्केर आई अम्बरीषसँग क्षमा याचना गरे । उनले सुदर्शनचक्रलाई शान्त पारेर आफ्नो प्राणको रक्षा गर्न अनुरोध गरे । अम्बरीषले सुदर्शनचक्र स्तोत्र पाठ गरेर शान्त बनाए। सङ्कटबाट आफ्नो प्राण बचाएको हुनाले अम्बरीषलाई धेरै आशीर्वाद दिएर आफ्नो आश्रमतिर लागे । यो विपत्ति उनको जीवनको पहिलो विपत्ति थियो । उनलाई निद्रा लाग्न छाड्यो। उनी गालामा हात राखेर सोच्न थाले ।

म अस्तिसम्म त्यस्तो बलवान थिएँ आज मेरो किन र कसरी यस्तो दुर्गति भयो ? आखिर दुनियाँमा सबैभन्दा बलवान् को रहेछ भन्ने उनलाई ज्ञान प्राप्त भयो। देवता, असुर, मनुष्य वास्तवमा कोही बलवान् हुँदो रहेनछ । सबैको एक दिन मेरोजस्तै दुर्गति हुँदो रहेछ । बरु हुँदो रहेछ त समय पो बलवान् । हिजो समय मेरो अनुकूल थियो । म बलवान् थिएँ । मैले जसलाई श्राप दिए पनि जे गरे पनि कोही चुइँक्क बोल्दैनथ्यो । आज समय मेरो प्रतिकूल रहेछ । त्यसैले जावो अम्बरीषलाई तह लगाउन खोज्दा मेरो यस्तो दुर्गति भयो।

यति ज्ञान भएर पनि दुर्वासालाई सन्तोष भएन । उनी झन् झोक्रिएर सोच्न थाले । “ब्रह्मत्व मेरो ठूलो शक्ति थियो । मैले त्यो शक्तिको दुरुपयोग गरें । त्यही ब्रह्मत्वको दुरुपयोग नै मेरो विपत्तिको कारण बन्यो । ब्रह्मत्वको दुरुपयोगले आफ्नै विनाश पो निम्त्याउँदो रहेछ ।” मनमा यस्तै कुरा खेलिरहे।

अम्बरीष जस्ता ज्ञानी, धर्मात्मा र सज्जनको अनिष्ट गर्न खोज्दा त आफ्नै अनिष्ट पो हुँदो रहेछ भन्ने ज्ञान प्राप्त भएपछि दुर्वासालाई अलिकति भए पनि सन्तोष प्राप्त भयो।

प्रकाशित: १८ असार २०७८ १०:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App