कला

मान्छे

लघुकथा

गीता तिवारी  

 

‘ए भगवान ! सबै चामलमा किरा परेछन् !’ खानै नहुने गरेर कुहिन ठिक्क परेका चामलको प्लास्टिकको थैलो हेर्दै रीताले भनी। सेता किरा परेका चामल देखेंर घीन मान्दै छोरीले भनी – अब के गर्ने होला है मामु !

छोरीको कुरा सुनेर रीताले भनी, “के गर्नु नि बाहिर भरयाङको छेउमा राख। जे गरे पनि गरौंला।”  

एकदिन रिता मन्दिर जाने तयारी गर्दै थिई, उसको  सानो छोराले मामु म पनि जान्छु भनेर जिद्दी गर्यो। हिँड्ने बेलामा रिताले फूल र प्रसाद एउटा झोलामा राखी भने अगि नै ठिक्क पारेर राखेको चामलको पोका अर्को झोलामा राखी।  

“ममी यो चामल किन लाने हो र मन्दिर ?” छोराले आश्चर्य मान्दै सोध्यो।

“त्यहाँ धेरै माग्ने हुन्छन्। तिनीहरूलाई दिनुपर्छ।” रीताले स्कुटर पुछ्दै भनी।  

उनीहरू मन्दिर पुगे। मन्दिरको प्रवेशद्वारदेखि नै लामबद्ध बसेका माग्नेहरू सबैलाई रिताले एकएक मुठी चामल दिँदै गइन। छोरालाई पनि माग्नेलाई चामल देऊ बाबु भनिन्। 

‘नाइँ म त दिन्न यो चामल । पैसा दिने भए मात्रै दिन्छु।’ छोराले भन्यो।

पूजा गरे सकेर घर फर्कदै गर्दा छोराले बालसुलभ जिज्ञासा राख्यो “मामु  ती माग्नेहरू हामीजस्ता मान्छे होइनन् ?”  

प्रकाशित: १८ असार २०७८ ०८:२२ शुक्रबार

अक्षर