कला

चङ्गा बनिनन् चैती

बालकथा

शान्ति सापकोटा

 

चैती भाइबैनीसँग खेल्दै थिइन्। परबाट बाआउँदै गरेको देखिन् । बासँगै एकजना महिला पनि थिइन् । चैती जुरुक्क उठिन् । उनी उठ्दा कुर्तासुरुवालबाट हल्का धुलो उड्यो। बाको डरले उनी  भुइँतिर झुक्दै उभिइन्।

“छोरी यही हो ।”, बा’ले चैतीलाई देखाउँदै भने।

“धेरै सानी छे त”, महिलाले भनिन्।

“हेर्दा मात्र सानी हो, बाह्र पुगिसकी। काम साहुनीले सिकाइहाल्नुहुन्छ।”,  

बा’ले महिलातर्फ हेर्दै भने, “यो कहिले स्कूल जान्छु भन्छे। कहिले किताब चाहियो भन्छे । आफूलाई बिहानबेलुका चुलो बाल्न मुस्किल छ । कसरी स्कुल पढाउनु ?”  

“कुरो बुझेँ”, महिलाले भनिन्, “मैले पढाइदिनु पनि परयो, होइन त ?”  

महिला चैतीको नजिकै गएर भनिन्, “काठमाण्डु जाने हो नानी? खान–लाउन दुःख हुँदैन। स्कूल पनि पठाउँला तर मैले भनेकोचाहिँ मान्नुपर्छ ।” 

पढ्न पाइने सुनेर चैती खुशी भई। ऊ काठमाण्डु जान राजी भई । यो देखेर बा’का आँखामा आँसु भरिए। चैतीले भनी, “दुःख नमान्नुस् बा । मैले पढ्ने रहर गरेँ।”  

“के गर्नु छोरी, जग्गाजमिन खोलाले बगायो । भाइबैनी पनि छन्..।”  

चैती त्यसै दिन ती महिलासँग काठमाण्डु लागी। उसको काम सुरु भयो । बिहानै घर बढार्नु, भाँडा माझ्नु, कोठा सफा गर्नु र लुगा धुनु अब उसका दिनचर्या भए। उसले सबै काम सिक्दै गई तर महिनौ बित्दा पनि उसलाई स्कूल पठाउने कुरा निस्केन । उसको पढ्ने रहर मर्दैमर्दै जान थाल्यो। चैतीका हात पटपटी फुटेका थिए। काम गर्दागर्दै आफ्ना उमेरका केटाकेटी स्कूल गएको देख्दा उनको मन अमिलो हुन्थ्यो। 

त्यस घरमा एउटा सानो कुकुर थियो। त्यही कुकुर चैतीको राम्रो साथी बनेको थियो। कुकुर चैतीको आँखामा हेथ्र्यो र कुरा बुझेजस्तै गथ्र्यो । चैतीसँगै लुटुपुटु हुन्थ्यो।

चैती काठमाडौं पुगे पनि ऊ त्यो घरबाट कतै निस्कन पाएकी थिइनँ । त्यसैले काठमाण्डू शहर कस्तो होला भन्ने जिज्ञासा उसको मनमा अझै उस्तै थियो। एकदिन पल्लो घरको ‘कान्छा’सँग उसको आँखा जुध्यो। कान्छालाई उसले पहिले पनि देखेकी थिई। काम गर्ने मानिस भए पनि उसको हातमा जहिले पनि किताब हुन्थ्यो। यो देख्दा चैतीलाई झन् पढ्न रहर लाग्थ्यो।  

“के हेरेकी तिमीले ? तिमी त्यहाँ काम गर्न बसेको हो ?”, कान्छाले सोध्यो।  

चैतीले मुन्टो हल्लाएर सहमति जनाई।

“म पनि यो घरमा काम गर्छु । आज स्कुल बिदा। छत सफा गर्न लागेको ।”, कान्छाले भन्यो।  

“स्कूल पनि जान्छौ हो ?”, चैतीले सोधी।

“हो म स्कूल जान्छु । तिम्लाई पठाउँदैनन् ? विद्यालय जान पाउनु त हाम्रो हक हो नि ।”, कान्छाले भन्यो ।  

“मलाई पनि मन छ तर बुझिदिने कोही छैनन्”, चैतीले दुःख मान्दै भनी ।  

कान्छाले भन्यो, “म त स्कूल पनि जान्छु। अरू किताब पनि पढ्न पाउँछु । मेरो घरको आन्टी लेखक हुनुुहुन्छ । दराजभरि किताब छन् । छानीछानी पढ्न पाइन्छ । तिमी पढ्न सक्छ्यौ भने म दिउँला किताब । पढेर फिर्ता दिँदा हुन्छ ।”

चैतीको अनुहार उज्यालियो। उसले भनी, “साँच्चै हो ? मैले २ कक्षा पास गरेको छु । पढ्न सक्छु ।”  

कान्छाले एकैछिनमा दुईतीनवटा किताब ल्याएर चैतीलाई दियो। चैतीले किताब जतनले राखी। ऊ काम सकेपछि रातिराति किताब पढ्थी। 

यसरी किताब पढ्दै जाँदा उसलाई झन् स्कूलको रहर जाग्न थाल्यो। ऊ स्कूल जान नपाएकोमा दुःखी हुन्थी। कहिले त रुन्थी पनि। एकदिन उसलाई रोएको देखेर साहुनीले झर्कंदै भनिन्, “किन रोएको ? खान–लाउन पाएकै छेस् ।”  

चैतीले पनि आँट बटुलेर भनी, “खान–लाउन त पाएको छु नि। स्कूल पठाउँछु भन्नुभाथ्यो, बिर्सिहाल्नुभयो। बरु मलाई मेरै घरमा पठाइदिनुस् । भाइबैनीसँग खेल्न त पाउँथेँ ।”  

“चुप ! खुरुखुरु काम गर् !”, साहुनी झपार्दै बाहिर गइन् । चैती रुँदै झ्यालमा अडेस लागी। उनका आँखा अगाडि एउटा चङ्गा आकाशबाट झ्यालनिरै खस्यो। चङ्गाको धागो डन्डीमा अल्झियो। चङ्गा लड्खडाउँदै झ्यालबाट तल झरयो । चैतीले चङ्गाको धागो छोई र मनमनै भनी, “आहा यो चङ्गा उडाउन पाए !”

“चैती ! ए चैती !” साहुनीले भान्साबाट बोलाइन्।

उनले आफ्ना ठुल्ठुला आँखा घुमाउँदै भनिन्, “भाँडा धुनु पर्दैन ? भात पकाउने बेला भैसक्यो ।”

चङ्गा उडाउन मन गर्ने हातले चैती भाँडा माझ्न थाली । ऊ भाँडा माझी सकेर झ्यालतिरै गई। चङ्गा चुँडिएर भुइँमा झरिसकेको थियो । भुइँमा च्यातिएको चङ्गालाई हावाले हल्लाउँदै थियो। चैतीका आँखा आकाशमा परे। त्यहाँ पनि रङ्गीचङ्गी चङ्गा नाचिरहेथे। उसले मनमनै भनी, ‘म पनि चङ्गाजस्तै उड्न पाए माथिमाथि, धेरैमाथि। आखिर को होला है मलाई उडाउने र सम्हाल्ने धागो !’

कान्छाले दिएका सबै किताब पढेर सकिएछन् । उसले फेरि छतमा गएर कान्छालाई बोलाई। कान्छा बोलेन। घरमा कोही थिएनन् । उसले बिस्तारै गेट खोली। ऊ अलि परसम्म जान चाहन्थी तर कान्छाको आवाज आयो, “कहाँ जान लागेकी चैती?”  

चैतीले हत्तपत्त किताब देखाउदै भनी, “यी तिम्रो किताब फर्काउन आएकी । मलाई अरू किताब देऊ न ।”  

“त्यति त उतैबाट भनेको भए भइहाल्थ्यो नि । ल तिमी तिम्रै छतमा जाऊ, म मेरैमा जान्छु । म तिमीलाई मनपर्ने किताब दिन्छु”, कान्छा यति भन्दै घरभित्र गयो र गेट लगायो।

काम गरेर बचेको समयमा चैती कान्छाले दिएका किताब पढ्थी र फिर्ता गर्थी । जति किताब पढ्यो, उति उसको मनमा अनेकौ प्रश्न आउँथे। “कान्छाले विद्यालय जान पाउने, म किन नपाउने?  मलाई पढाउँछु भनेर किन विद्यालय भर्ना नगरिदिएको होला?” 

उसको मनमा एउटा विचार फुरयो । चैती उठी । ऊ कौसीमा गई । कान्छाको घर बन्द थियो। घडी हेरी, भर्खर चार बजेको छ । अब त घण्टी पनि लागेको होला । म उसको स्कूल हेर्छु । बरु कान्छा बस्ने घरमा बस्न पाए पनि हुने । उसकी साहुनीले त स्कूल भर्ना गर्दिन्थिन् होला । ऊ गेटतिर गई । गेट खोल्नासाथ साहुनी आइन् ।  

“फेरि कहाँ जान लागेकी ? भाग्न थालेकी ? तँलाईं त अब ताल्चा लगाएर राख्छु । भाग्लिस् खुब ।”  

साहुनीको व्यवहार उसलाई निको लागेन। यसरी थुनिएर बस्नुपर्दा उसलाई रातभर निद्रा परेन। किताब पढेरै समय बिताई। एउटा किताबमा आफूजस्तै सानी केटीलाई दिनभर काममा लगाएको र पढ्न नपाएको कथा पनि रहेछ। उसलाई त्यो आफ्नै कथाजस्तो लाग्यो।  कथाको अन्त्यमा केटीले विद्यालय जान पाएको कुरा थियो । यसले चैतीको मन फुरुङ्ङ भयो । साँच्चै उसले आफूलाई चङ्गा सम्झी र उडाउने धागो पाएको अनुभूति गरी ।  

‘म पनि यही फुच्ची केटीजस्तै साहसी हुन्छु ।’, उसले मनमनै भनी। बिहानीपख चैती झपक्क निदाई । साहुनीले कानैमा आएर चिच्याइन् । चैती झस्की । उसले आँखा मिच्दै हेर्ने कोसिस गरी।  

–म मन्दिर हिँडेकी । खाना पकाएर राख् है ? दायाँबायाँ नगर्नु नि । सुनिस् मेरो कुरा ? खुब भात लागेको ! हेर न मोटाएर !”,  

साहुनीले चोर औँला ठड्याइन् । उनी सरासर बाहिर गइन्। साहुनीको गाडी बाहिरियो । गेट लाग्यो। बाहिरबाट ताल्चा झुन्डियो। चैतीले सबै कुरा सानो कोठाको सानो झ्यालबाट हेरिरही ।  

उसले खाना पकाई। किताबका पाना पनि पल्टाउँदै गई । किताबको अन्त्यमा कथाकी त्यस केटीलाई उद्धार गरेको संस्थाको सम्पर्क नम्बर थियो। उसले फोन डायल गरी र आफ्नो कुरा बताई। 

घाम माथि आइसकेका थिए। चैतीले गेटमा खलबल सुनी, “घर त यही हो, केटीले दिएको ठेगानाअनुसार तर यहाँ त ताल्चा पो छ त ।”

टिर्र–टिर्र ! फोनको घण्टी बज्यो। उसले फोन उठाई। आवाज आयो, “यहाँ त ताल्चा लगाएको छ नानी !”  

“हो, मलाई ताल्चा लगाएर मन्दिर जानुभएको हो। जहिले पनि बाहिर निस्कँदा यस्तै गर्नुहुन्छ साहुनीले ।”, चैतीले भनी।

टिँटिँ...। गेटमा मानिस देखेपछि गाडीको हर्न बज्यो। निधारभरि रातो अक्षता, गलामा माला सजाएकी महिलाले कपालमाथि गगल्स अड्याइन्। चालक गाडीबाट झरे। गेट खोले। साहुनीले गगल्स मिलाइन्। परबाट नियालिरहेका मानिस नजिकै आए। चैती पनि हिम्मत बटुलेर गेटसम्म आई र भनी, “मलाई पढाउन भनेर ल्याए पनि स्कूल जान दिनु भएन। त्यति मात्र हो र ? मैले पिटाइ पनि खानुपर्छ । नपत्याए हेर्नुस् त।” उसले ढाडमा बसेको सुम्लो देखाएर रुँदै भनी।  

ती महिलाले गाडीबाट ओर्लेर चेपारो घस्दै भनिन्, “हेर छोरी ! तिमीलाई मैले पढाएको त हो नि। विद्यालय जानै मानिनौ। तिमी विद्यालय जान नमानेर त मैले अलिअलि पिट्न बाध्य भएँ । हो कि होइन, भन त ?”

“साहुनी ! हजुर झुठ बोल्दै हुनुहुन्छ ।”, चैती चिच्च्याई।

“ठूलो मानिसले पनि कसरी झुठ बोल्न सकेको होला?”, उसले छक्क पर्दै भनी ।

आखिरमा चैतीलाई ती संस्थाका मानिसले लिएर गए। ती महिलालाई पनि पुलिसले सोधपुछ गर्न लग्यो। 

चैती चङ्गा बनिन्। चङ्गा बनेर धागो पनि खोजिन्। छिनेर जाने धागो । आजभोलि ऊ  आफैं पखेटा हालिरहेकी छे । उड्ने सपना देख्न थालेकी छे।  

प्रकाशित: १८ असार २०७८ ०७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App