कला

उज्यालो

कविता

  इन्दिरा गौतम  

 

बिहानीको त्यो न्यानो घामले  

उज्यालो पखेटा फिँजाएर  

जब मेरो घरको  

मझेरीमा स्पर्श गर्छ  

अन्धकारमा निस्सासिएका

पिरै पिरमा निस्ताएका  

चर्किएर चोइटिएका घाउहरूलाई  

निस्फिक्री त्यो उज्यालोमा  

समर्पित गर्छु ।  

 

सपनाका बुँदाहरूले

आँखीझ्यालबाट

च्याउँदै गरेका हुन्छन् मलाई।  

ससाना चम्किला अणु–परमाणु  

विभिन्न आकृतिमा  

वाचाल हुन्छन्।  

अलिकति उज्यालो छुने प्रयासमा,  

लखेटिन्छन् एउटा कुनाबाट  

अर्को कुनासम्म  

सूर्यको कान्ति थाकेपछि  

अँध्यारोले ढाकिदिन्छ,  

विलीन हुन्छन् समयको चक्रमा

म र  

मेरा उज्याला रहरहरू।  

फेरि  

अर्को सूर्योदयको प्रतीक्षामा  

सङ्लो आकाशको खोजी हुन्छ  

एउटा  निस्पट्ट अँध्यारोपछि नै  

एक मुठी उज्यालोमा  

सुन्दर मुस्कान भरिएको बिहानी

अलिकति खुसीको खोजीमा  

हिंड्न खोज्छ यो मन।  

                   असम, भारत ।

प्रकाशित: १८ असार २०७८ ०५:५५ शुक्रबार

अक्षर