कला

परिष्कार परिष्कृत

कविता

मञ्जुला तामाङ सुब्बा  

 

सूर्योदयभन्दा अगावै पुज्नु छ

मैले मेरा देवता ।

स्नान गर्छन् सबै प्रायः पूजाअघि

म गर्दछु स्नान सधैँ पूजापछि

फलफूल, धुपदीप, प्रसाद चढ़्दैनन् पूजामा मेरा ।

न पहिरिन्छु सुकिला सफा वस्त्र

न लिँदछु कनै व्रत–उपवास

परिष्कृत भक्त हुँ म

परिष्कार हुन् मेरा देवता।

 

कुनाकाप्चा, नाली–झोड़ा

मैला–कुचैला

सड़क किनारा मन्दिर मेरा

बस्छन् देवता आराध्य ।

 

हो ! कठिन छ साधना मेरा

चिम्लिन्छन्  आँखाहरू दुवै

दुर्गन्ध विषालु खाल्डोभरिका

अठ्याउँछ घाँटी श्वासप्रश्वास

फैलाउँछ अनियमितता।

परीक्षा नै हुनुपर्छ मेरा देवताका

सडेगलेका, सुकिला–नुकिला

ठूला–साना, पोकापन्तेरा

छरपष्ट छरिएका

सभ्य शिक्षित प्रकृतिप्रेमी

समाज सुधारकहरूका

अफालिएका चेतना डङ्गुरहरू ।

परिष्कृत भक्त हुँ म

परिष्कार हुन् मेरा देवता ।

 

अनुपस्थितिमा मेरा

निस्सासिन्छन्

गल्ली–गल्छेँड़ीहरू

रसिएर यत्रत्र कुद्छन् मेरा फोहोर देवता

अस्तव्यस्त ठूल्ठूला अधमरा

विकसित ढ्वाङहरू ।

चिच्याउँदै, छरपष्टिँदै, घस्रिँदै

लगाउँछन् मुक्तिका गुहारहरू ।

 

टन्टलापुर घामले रनक्क तात्तिएर

लालाक–लुलुक भई

अङ्कमाल गर्छन् शरीरभरि मेरा ।

अविरल पानीको गह्रौं

थोपाहरूमा सोसिएर

लुटुपुटु गर्छन्

निथ्रुक्क भिजेका वस्त्रभरि मेरा ।

 

फल प्राप्ति हुँदैनन्

प्रशस्त देवता मेरा छन् असन्तुष्ट ।

चर्को सिटी मन्दिरका घण्टी मेरा

जगाउने बाध्यता मेरो,

भाषण छाँटी मस्त निदाएका

पर्यावरणविद् जमातमा।

परिष्कृत भक्त हुँ म

परिष्कार हुन् मेरा देवता ।।

                घुम, दार्जिलिङ (भारत) ।

प्रकाशित: १७ असार २०७८ १२:५६ बिहीबार

अक्षर