कला

कवि एमबी थुलुङलाई ‘लिब्जु–भुम्जु पुरस्कार’

'लिब्जु–भुम्जु पुरस्कार’का लागि छानिएका कवि एमबी थुलुङ। तस्बिर : नागरिक

२०७७ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि एमबी थुलुङलाई प्रदान गर्ने निर्णय गरिएको छ। वाम्बुले राई भाषाको ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकामा वर्षभरी प्रकाशन भएका रचनामध्येबाट थुलुङको गीत ‘लिब्जु–भुम्जु पुरस्कार’का लागि उत्कृष्ट ठहरिएको हो। ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकाको पूर्णाङ्क ८३, २०७७ कात्तिक–पुस अंकमा प्रकाशन भएकामध्ये थुलुङको वाम्बुले भाषामा लेखिएको ‘आ कुपि ब्अिम्सै ख्राङ्मे’ (मेरो भाग्य सम्झिदै रुन्छु) शीर्षक गीत पुरस्कारका लागि छनौट भएको हो।

अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले २०५५ सालमा स्थापना गरिएको ५ हजार राशीको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि थुलुङलाई प्रदान गर्ने निर्णय गरेको जानकारी दिइएको छ। ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–३ उँबु निवासी कवि थुलुङ हाल दक्षिण कोरियामा छन्। थुलुङ स्वदेश आएपछि पुरस्कार हस्तान्तरण गर्ने जनाइएको छ। कवि थुलुङ भए पनि एक दशकभन्दा बढी समयदेखि वाम्बुले भाषामा रचना सिर्जना गर्दै आएका छन्।

थुलुङको गीति कविता वाम्बुले राई समुदायमा परापूर्वकालदेखि गाइँदै आएको राम्दले भाकामा रचना गरिएको छ। सो गीतमा वैदेशिक रोजगारीमा रहेका प्रेमी र गाउँघरमा रहेकी प्रेमिकाबीचको सुखदुःख, अतितदेखि वर्तमानको संवाद समेटिएको छ। ओखलढुंगाको दक्षिणी भेगको सामाजिक लोक जनजीवन, सांस्कृतिक परम्परा, मूल्यमान्यता, चालचलनलाई प्रतिबिम्बित गरेको गीतलाई गायक राज राई र गायिका एलिना राईले गाएका छन्। गीतमा स्वयं राज राईको संगीत रहेको छ।  

२०५६ सालदेखि ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका रचनामध्ये सर्वोत्कृष्ट एक रचनालाई पुरस्कृत गरिँदै आएको छ। नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पाराईले मातृभाषाका स्रष्टा प्रवर्द्धन गर्ने उद्देश्यले २०५५ सालमा पत्रिकाको नाममा ‘लिब्जु–भुम्जु पुरस्कार’ स्थापना गरेका हुन्। ‘लिब्जु–भुम्जु पुरस्कार’ पुरस्कारबाट हालसम्म १९ जना कवि पुरस्कृत भइसकेका छन्।

प्रकाशित: १७ असार २०७८ १०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App