कला

रुम्जाटार

लघुकथा

नवराज शर्मा  

 

जहानियाँ शासनको बेला उसको  हजुरबुबा आन्दोलनमा  होमिनुभएको थियो। प्रजातन्त्र आए केके न होला भन्नुहुन्थ्यो। पर्चामा नारा  लाग्थ्यो,  “जहानियाँ शासन मुर्दावाद ।”

 समातिनुभो ।  सर्वस्व भयो । धन्न “बाहुन” भएकाले जोगिनुभो।  मुडेर चार भञ्ज्याङ मात्र कटाए रे। प्रजातन्त्र आयो।  फर्किनुभो ।  भएको दस रोपनी जग्गामा पाँच रोपनी जग्गा जसोतसो फिर्ता पाउनुभो।  

चार दशकपछिको आन्दोलन ताका उसको बुबाले हजुरबुबालाई  सोध्नुभएको थियो रे, “आन्दोलनमा जाने होइन बुबा ?”

“अघाएँ बा !” हजुरबुबाको  जवाफ थियो।

आन्दोलनमा होमिएका  उसको बुबा मच्चीमच्ची नारा लगाउनुहुन्थ्यो  “पञ्चायती व्यवस्था मुर्दावाद ।”  

भएको जागिर गुम्यो।  “शिशु प्रजातन्त्र ” जो कहिले युवा भएन, जन्मियो।  दुई वर्षको तलब नपाए पनि जागिर बहाल भयो। चप्पल लाउनेहरूले महल  ठड्याए।  यसपल्ट उसको पैत्रिक सम्पत्ति घटेन ; घर मात्र  थोत्रियो र भत्कियो।

“शिशु प्रजातन्त्र” पाइयो ; त्यसैमा सन्तोक गर्नुभो।

 त्यसपछि पनि आन्दोलन भयो।  त्यसबेला उसले  बुबालाई  सोधेको थियो “आन्दोलनमा जाने होइन बुबा ?”

“जाँगर छैन।” बुबाको जवाफ थियो।

उसका दाजुभाइ सबै आन्दोलनमा होमिए।  उनीहरू नारा लगाउँथे, “निरंकुशतन्त्र मुर्दावाद।”

लोकतन्त्र हुँदै गणतन्त्र आउन्जेल धेरैले धेरै कुरा गुमाए , थोरैले धेरै कुरा पाए।  कत्तिको सर्वस्व गुम्यो , केही चिल्ला गाडी चढ्ने भए। ठुलाठुला परिवर्तन भए।

डाँडा नकाटिए  पनि , जागिर नगुमाए पनि ; दाजुभाइमा एक मात्र बाँचेको ऊ एकदिन गणतन्त्र दिवसको दिन जागिरको लागि विदेशियो।

हजुरबुबाले  त्यतिबेला किन  “अघाएँ बा !” भन्नुभो , बुबाले  किन “जाँगर छैन।” भन्नुभो ; बल्ल बुझ्न थालेको छ ऊ। लोकतन्त्रसँगै लोकहरू किन विदेशिए , गणतन्त्रमा गणहरूले योग्यताभन्दा बढी अवसर कसरी  पाए , ऊ गम्छ। हिसाब गर्छ।  अन्त्यमा सुसाउँछ सल्लाझैं ’ घुमिफिरी.. !’  

प्रकाशित: १६ असार २०७८ १२:०१ बुधबार

अक्षर