कला

मनसुन

लघुकथा

निर्मला बराल 

 

मनसुनको समय थियो। मानव बस्तीभन्दा अलि पर्तिर एउटा अत्यन्त सुन्दर जंगल थियो। त्यहाँ विभिन्न फलफूल लगायत वरपीपलदेखि सिसौ र चन्दनसम्मका रुखहरू थिए। त्यो जंगल थरीथरीका पन्छीहरूको वासस्थान थियो।

सुखदुःख, आपत–विपत जे जस्तो आइपरे पनि उनीहरू एक अर्कामा साट्दै उनीहरू भलाकुसारी गर्दथे। एकदिन मान्छेहरूको एउटा जमात हातमा आरा र बन्चरो बोकेर त्यस जंगलमा आइपुग्यो। जंंगल फाँडेर भवन निर्माण कार्य अघि बढाउन उनीहरू, काट्नुपर्ने रुखलाई धमाधम चिन्ह लगाउन थाले। आफ्नो रुखमा पनि चिन्ह लाएपछि सिसौको रुख साह्रै दुखी भयो। निराश हुँदै उसले चन्दनको रुखलाई भन्यो, ‘हेर भाइ चन्दन, यी मान्छे हाम्रो  बास उठाउन आएका। आज मेरो पालो आयो, भोलि फेरि कसैको । होइन, यी मान्छेले प्रकृति दोहन र सम्पूर्ण जीवजगत्मा त्यसको भयंकर दुष्परिणामबारे कहिले बुझ्लान्। ’  

उसको कुरा सुनेर छेउछाउका सबै रुखहरू डराए।   ‘अरूभन्दा पनि पीर त बरा ती गुँड लाएर बसेका  कोइली, जुरेली र मैनाको पो छ मलाई । सबै बेघर हुने  भए। फेरि तीनका अण्डा, साना उड्न नसक्ने बचेराहरूको पो बिचल्ली हुने भो।’ चन्दनले दुखेसो पोख्यो। 

‘हामीलाई त काटे –काटे, तर  यी बिचरा बोल्न नसक्ने पक्षीहरूको बारेमा त विचार गर्नुपर्छ नि । उनीहरू न प्रतिकार नै गर्न सक्छन् ।’  वरले पनि चिन्ता व्यक्त गर्‍यो।

अचानक आकाशमा चँदुवा टाँगे जस्तो भएर आयो। एकैछिनमा घनघोर वर्षा भयो । हेर्दाहेर्दै बाढी आयो मान्छेहरू कसैले कतै भाग्ने मौका नै पाएनन् । कोही रुख चढेर बाँचे। रुख चढन नभ्याउनेहरू कतिलाई  बाढीको भेलले बगाएर लग्यो।  रुखहरू र पन्छीका गुँडहरू भने सबै  सुरक्षित रहे।

प्रकाशित: १६ असार २०७८ १०:२८ बुधबार

अक्षर