एमसी सुमित
यो घर,
घर छ र नै
भयो जिन्दगीमा
सपना खोज्नलाई उड्ने भर।
यही घरमा
आफ्नै मुटुबाट निस्केका
रगतका रहरलाग्दा टुसाहरू
चिरबिर गर्दै फलाउँदा
कम खुसी भएका होइनन् आमा
मुसुक्क फक्रेको हो
रसिलो ओठ।
एक्लै थियो
बाटोमा काँडा पन्छाउने हात
एक्लै थियो
दुखको भारी उठाउने थाप्लो
छुनुमुनु गर्दै आशाको उज्यालो आभा
काखैभरि नाच्दा
कम खुसी भएका होइनन् आमा
धपक्क बलेको हो–
चम्किलो आँखा।
– आमा, फेर्नुपर्छ धुलेले धुल्याएको
यी ठेला र खापाहरू
आमा, फेर्नुपर्छ हुस्सेले मक्याएको
यी साटा र भाटाहरू
टाल्नुपर्छ भित्ता र भुइँ
नचुहिने पार्नुपर्छ छाना
र हुनुपर्छ
आमाका लागि सुन्दर घर।
क्म खुसी भएका होइनन् आमा
गजक्क फुलेको हो–
भरिलो छाती।
हो आमाका लागि
सुन्दर घर लिन
घामको किरण पछ्याउँदै
उडी गएका हुन्
पृथ्वी नाप्ने पाइलाहरू
खोजिरहेछन्–
आशा उम्रने बाटो
भाग्य बर्सिने बास
तर भरिएको छैन
आमाको हातमा राखिदिने
खुसी टिप्न ल्याएको सपनाको थैलो
दशतिर मन बाँडेर
सबैसबै सुखद् खबर
पर्खिरहेछन् आमा
उघारेर दैलो।
यो घर,
आमा हुँदासम्म त
थामिने हो थाम
झ्यालढोका ढकमक्क ढाकेर
कहिले फर्किने हुन्
आमाले पालेको अजम्बरी खुसी
आशै आशले तानेको यो उमेरको ढोका
बन्द हुने बेला भो
यो जीर्ण घरले
कतिञ्जेल देला भर।
प्रकाशित: १६ असार २०७८ ०८:३९ बुधबार