कला

कति राम्रो

बालकविता

कमला घिमिरे 

 

घाम हेर्‍यो  घाम राम्रो  

जुन हेर्‍योे जुन राम्रो  

अँध्यारो रातमा आकाशमा

चमचम गर्ने  तारा राम्रो  

 

संसारकै अग्ला हिमालहरू

भएको सुन्दर  देश हाम्रो  

हिमालबाट पग्लिएर

बगेका ती नदीनाला राम्रो  

 

हरियाली  डाँडा पाखा

वनजङ्गल र छहरा राम्रो  

वनपाखामा  फुलेका ती  

सुनगाभा र गुराँस  राम्रो  

 

तराईको समथर फाँट

अन्नको त्यो भन्डार हाम्रो  

सुनौलो रङमा झुलिरहेका

तोरी, गहुँ  र  धान राम्रो  

 

प्राकृतिक विविधताले भरिपूर्ण  

सुन्दर शान्त देश हाम्रो  

चार जात, छत्तीस वर्णको

संस्कृति र भाषा–भेष राम्रो  

 

शत्रुसामु कहिल्यै नझुक्ने,

पुर्खाका वीरताको गाथा हाम्रो

गोर्खाली वीरको पहिचान भएको  

नेपाल आमाको सन्तान राम्रो  

नेपाल आमाको सन्तान राम्रो।

प्रकाशित: १६ असार २०७८ ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App