कला

‘कबड्डी' वैशाख मा चल्ने

काठमाडौं– रामबाबु गुरुङद्वारा निर्देशित फिल्म ‘कबड्डी'को पहिलो झलक सोमबार सार्वजनिक भएको छ। काठमाडौंको मण्डला थियटरमा पोस्टर, वेबसाइट र ट्रेलर देखाउँदै फिल्म आगामी वैशाख १२ मा रिलिज हुने जानकारी पनि गराइयो। मुस्ताङ र काठमाडौंमा छायांकन गरिएको यस फिल्ममा ‘लुट'का निर्देशक निश्चल बस्नेत निर्माता र अभिनेताका रुपमा संलग्न छन्।निश्चलको ब्ल्याक हर्स पिक्चर्स नामक ब्यानरमा निर्माण भएको फिल्म रामबाबु गुरुङद्वारा निर्देशित तेस्रो प्रस्तुति हो।
‘दयाहाङ राई र निश्चलको सहयोगमा फिल्म बन्न सम्भव भएको हो, राम्रो लागे सहयोग गर्नुस्, नलागे यहाँहरुकै इच्छा,' निर्देशक गुरुङले भने। उनले यसअघि ‘अनागरिक' र ‘ब्लक लिभ' फिल्म निर्देशन गरेका थिए। दयाहाङको पहिलो फिल्म ‘अनागरिक' नै थियो। 
‘त्यतिबेला मण्डला थियटरको भवन निर्माण सुरु हुँदैथियो र ‘लुट' पनि हिट भइरहेको थियो, मण्डला र ‘लुट'को टिमलाई मिसाएर फिल्म बनाइने योजनामा ‘कबड्डी' जन्मिएको हो,' अभिनेता दयाहाङले भने। 
निर्देशक रामबाबु र दयाहाङको आग्रहमा आफू पनि अभिनय गर्न तयार भएको निश्चल बस्नेतले बताए। उनका अनुसार पटकथाले उनको जस्तै ज्यान र रुप खोजेको थियो। ‘यो फिल्ममा धेरैजसो कलाकार शेयरहोल्डर छन्, त्यसैले यसलाई सबैले माया गरेका छन्, फिल्म हेरुन्जेललाई राम्रो बनेको छ,' उनले भने।
फिल्ममा रिश्मा गुरुङ, राजन खतिवडा, विजय बराल, शिरीष बाङ्देल, बुद्धि तामाङ, अरुणा कार्की, पशुपति राई, कमलमणि नेपाल, कविता आले लगायतका कलाकारले पनि अभिनय गरेका छन्। 
फिल्मलाई पपकर्न मिडियाले वितरण गर्दैछ। कार्यक्रममा माधव वाग्ले, प्रदीपकुमार उदय र छविराज ओझाले फिल्मको सफलताको कामना गरे। आधा सुर ब्यान्डको संगीत रहेको ‘कबड्डी'मा गोविन्द राईको नृत्य निर्देशन रहेको छ।

प्रकाशित: १९ फाल्गुन २०७० २३:०१ सोमबार