कला

झुटको खेती कहिलेसम्म ?

कविता

अभिषेक सापकोटा  

 

धरहराको अन्तिम तल्लामा पुगेर

रानीपोखरीतिर नियाल्दै सरकारले भन्यो–

देशमा विकासको लहर चल्यो

त्यतिबेलै असनको गल्लीमा

भारी बोकिरहेको भरियाले

निधारबाट बगेको पसिनाको धारा

दाहिने हातले पुछिरहँदा

उसको मुटुमा अभावको

चिसो सिरोटो चलिरहेथ्यो

भन्नेहरूले कारोनालाई राजनीति भन्दिए

बुझ्नेहरूले मिलाएरै राजनीति बुझे

तर आम जनताले कहिल्यै बुझ्न सकेनन्

सरकारले लासमाथि गरेको राजनीति

व्यापारीहरूले माक्स र सेनिटाइजरमाथि

गरेको राजनीति

न्यायाधीशले न्यायालयमाथि गरेको राजनीति

 

हरेक विहानीमा सरकारले परिवर्तनको

नारा लगाउँदा

झल्याँस्स ब्यूँझन्छन्

सडक पेटीमा निदाएका भोका पेटहरू

बलात्कारपछि हत्या भएका हजारौं

बालिकाको आत्मा ।

निर्मला जस्ता कलिला नानीहरू

सोच्न बाध्य हुन्छन्,

विकास भाषणमा हुन्छ कि काममा  

हरेक दिन सरकार परिवर्तनको

समाचार सुनेर कसरी निदाउँदो हो

अक्सिजनको अभावमा चिसो भुइँमा

पछारिएको एक विरामी

महिनौदेखिको घरबेटीको कचकच

भोको पेटमा पनि

आफ्नो कर्तव्य नभुलेकी नर्सले

कसरी गर्दी हो

फूलजस्ता नानीहरूको मृत्युको घोषणा !

 

हरेक दिन बाकसमा शिल प्याक भएर

आकाशको बाटो हुँदै आउने

युवाको शवले कसरी हेर्दो हो

देशको पछिल्लो राजनीतिक परिवर्तन !

दुई वर्षदेखि एउटै किताबको पानामा

एउटै कक्षाकोठामा

अल्झिएको विद्यार्थीले

कसरी निर्धारण गर्ला

यो देशको सुकुमार भविष्य !

 

हाम्रो विडम्बना

राहतभन्दा अगाडि पुग्छन्

भाषणका भिडियो क्लिपहरू

शान्ति र समृद्धिको नारा

विकास र परिवर्तनको स्वर

सार्वजनिक गरेर

देशमा परिवर्तनको लहर आउला त !

कोरोनाको यो महामारीमा

एम्बुलेन्सभन्दा अगाडि शव बहान पुग्छ

डक्टरभन्दा अगाडि काल पुग्छ

 अस्पतालमा आइसियु बेड अभाव हुँदा

साइरन बजाउँदै

हरेक साँझ शीतल निवास पुगेर

निर्धक्क निदाउँछन् दुई जोर आँखा ।

यी आँखाले कहिल्यै देख्लान त !

जनताको फाटेको मन र

देशको यथार्थ चित्र ।

 

स्वाथ्य, शिक्षा र हरेक ठाउँमा

राजनीति गर्ने सरकार देखेर

निर्मलाको आत्माले सोच्दो हो

कलिला नानीहरूलाई बलात्कार गर्ने

बलात्कारीमाथि सरकारले

राजनीति गर्न सकेन ।

 

लासमा पनि पैसा देख्ने सरकारले

कोरोना खोपमा कमिसन देख्यो

अक्सिजनमा कमिसन

औषधिमा कमिसन

कहिलेसम्म चल्छ सरकार

जनताको लास माथिको बार्गेनिङ ?

प्रकाशित: १५ असार २०७८ ०८:३० मंगलबार

अक्षर