कला

हावाको चाल

कविता

रमेशचन्द्र अधिकारी

 

नाचिरहेको छ हावा बाहिर

फर्फराइरहेको छ झ्यालको पर्दा ,

भित्र मनमा ज्वारभाटा उठ्लाझैं गरी

रहरह पछारे लैजालाझैं गरी

बेतोडलेबेजोडले चलिरहेको छ हावा।

हावा चलेरै हो

मान्छेहरू चल्मलाइरहेका ?

यो सोच पनि त हावाजस्तै हो

नत्र एक्कासि कसरी आउँदो हो ,

अनि नचाउँदो हो

हल्लाउँदो हो मान्छेको मथिङ्गल ?

कसरी वौरिदा हुन्

ती सास सकिन लागेकाहरू फेरि

कसरी सकिँदा हुन्

श्वासप्रश्वासमा अभ्यस्तहरू ।

हावा खुस्किएजस्तै किन भएको छ

यो समय आजभोलि

किन भएको छ निर्मम

र नाच नाचिरहेको छ हाम्रो सभ्यतामाथि

प्रश्नवाचक भएर ?

पात हुनेहरू पनि

अनियन्त्रित हाँसिरहेका जस्ता

पातकी भएकाहरूको त

मगजमा अर्कै बास्ना चलाउँदो हो हावाले

र व्यापार गराउँदो हो व्याभिचारको।

प्राण वायु – हावा

अपान वायु – हावा

सोच अनि सोचको पराकाष्ठा पनि हावा

रोगी हावा – निरोगी हावा

विधि – प्रविधि सबै – सबै

यो संसार हावाबाट निर्देशित छ

कस्ले चलाइरहेको छ यो हावा ?

पख, मलाई आँखा बन्द गर्न देऊ

म आफू भएको अनुभूति गर्न चाहन्छु।

प्रकाशित: १३ असार २०७८ ११:२३ आइतबार

अक्षर