कला

श्राद्ध

लघुकथा

हरिप्रसाद भण्डारी

 

 

“बुबा ! त्यो के गर्नुभएको ?”

“श्राद्ध गरेको नि बाबु ।”

“श्राद्ध भनेको के हो ?”

“हजुरबुवालाई खाना खुवाएको नि बाबु ।”

“अनि मरेका मान्छेले पनि खान्छन् त ?”

“हो त नि, हामीले सधैँ खाएपछि कहिलेकाहीँँ हजुरबुबालाई पनि त दिनुपरयो नि, होइन र ?”

“अनि कसरी खुवाउने त ? के उहाँ यो खान यहाँ आउनुहुन्छ ?”

“होइन, पठाइदिनुपर्छ ।”

बाबुछोराको वार्तालाप हुँदै थियो, श्राद्ध गर्ने काय समाप्त भयो । ब्राह्मणको आदेशअनुसार बुवाले पिण्ड उठाए र जलमा बगाउनका लागि घरदेखि केही तलको नदीतर्फ लागे ।

छोराका मनमा जिज्ञासा जागिरहेको थियो त्यसैले ऊ पनि सँगै गयो ।

नदीका किनारमा पुगेपछि बुवाले मनमनै केके भने अनि पिण्डको टपरीलाई नदीमा बगाइदिए । त्यो सबै देखेको छोराले फेरि सोध्यो—

“हजुरबुवाको खानेकुरा किन खोलामा बगाउनुभएको हो बुवा ?”

“मनमनै बुबा भएको ठाउँमा जा भनेर बगाइदिएको नि बाबु ।”

“ए, त्यसो भनेपछि हजुरबुवा भएका ठाउँमा पुग्छ त ?”

“पुग्छ बावु, त्यसैले त पठाएको नि ।”

सत्यतथ्य के हो, त्यस कुराले छोराका मनमा कस्तो असर पार्छ, भन्नेबारे विचारै नगरी बुबाले जवाफ दिए।

बुवाको कुरा सुनेर छोरोले अचम्म मान्यो तर केही बोलेन।

केही दिनपछि बुवा खेतमा काम गर्न गएका थिए । छोरो बुवाका लागि खाजाको कुम्लो बोकेर बेसीतिर जाँदै थियो । नदीका किनारमा पुगेपछि छोराले पहिलेको घटना सम्झियो अनि विचार गरयो, ‘आखिर यस नदीमा बगाइदिएको खानेकुरा स्वर्गसम्म पुग्छ भने खेतसम्म त झन् किन नपुग्ला र ?’  

त्यसपछि उसले ‘यो खाने कुरा मेरा बुवा भएका ठाउँमा पुगोस्’भन्दै खाजाको पोको नदीमा बगाइदियो र घर फर्कियो।

(नोट –  २०४८ सालमा लेखिएको प्रस्तुत लघुकथा लेखकको ‘अविरल यात्रा’ लघुकथासङ्ग्रह (२०६३) बाट साभार गरिएको हो।)

प्रकाशित: १३ असार २०७८ ०७:१८ आइतबार

अक्षर