कला

सिमौ म त गाँउमै छु

कविता

जीवनजित राई

 

सिमौ  

म त गाउँमै छु है

सिली नाच्ने ठाउँमै छु है  

कहाँ– कहाँ पुग्यौ  

कति शहर चाहार्यौ

कति संसार नाप्यौ

म त यहीँ गाउँमै छु है

म त त्यहीँ ठाउँमै छु है ।

 

हरेक साल साकेलामा तिमीलाई  

खोज्छ ढोल र झ्याम्टाहरूले

तिमीबिना झर्न मन गर्दैन सरुवा

कठुवाले तिम्रो साथ खोज्छ

वाबुले तिम्रै स्पर्श माग्छ

वाइविरो बाज्दै खा’को सम्झन्छु

आजकाल त वाइविरो पनि फिक्का लाग्छ

साकेला नाच्दा सिलिहोमा तिमीलाई खोज्छ

मोछामा सिलीले तिमीलाई खोज्छ  

तर,

यसपालि पनि तिमी आइनौ

फिक्काभो उँभौली

जमेन साकेला,

ओइलायो लिम्चुङबुङ

सिमौ  

म त तै गाउँमै छु है

हलेसीकोे ठाउँमै छु है  

कहाँकहाँ पुग्यौ  

कति डुल्यौं

कति घुम्यौं

कति संसार चाहार्यौ

म त यहीँ ठाउँमै छु है ।

 

सुन्या छु आजकाल  

हङकङबाट युके गा ’छौ रे

साकेला छाडेर हिपप नाच्छौ रे

गाउँको सिम्माबाट परिवर्तन भा छौ रे

साकेला भाका बिर्सिएर इङलिस गाना मात्र सुन्छौ रे

गुन्यैचोली बिर्सिएर मिनिस्कट लाउँछौ रे

किन हो म त जान्दिनँ

म यो मान्दै मान्दिनँ

सिमौ  

म त गाउँमै छु है

साकेला फुल्ने ठाउँमै छु है  

तिमी कहाँ–कहाँ चाहार्यौ  

कस्ती भइसक्यौ

म त त्यही ठाउँमै छु है  

म त त्यही थोत्रो भोटोमै छु है  

म त त्यहीँ धुलो खेलाउँदै छु है ।

 

सिमौ अब त गाउँ आऊ

युकेसिउके नजाऊ

भो हङकङ नधाऊ

घरमै पित्री मनाऊ

गाउँमै साकेला जमाऊ।

प्रकाशित: १३ असार २०७८ ०५:५१ आइतबार

अक्षर