कला

प्रश्न

कविता

लक्ष्मण अर्याल  

 

बाबु, तिम्रो कविताले मेरो पुरिएको घर उप्काउँछ त ?  

एकजना वयोवृद्ध बाले आशाको घुयेंत्रो फाल्नुभो कवितिर  

कविको बोली बन्द भो  

चुरिफुरी गलेर निमन भो ।

 

बाले परारको विपत्तिमा यसैगरी  

सिंहदरबारलाई अचानक भेट्दा  

सोध्नुभएको प्रश्न काटीकुटी यस्तै थियो  

तर फरक यत्ति हो  

सिंहदरबार वाक्पटु थियो  

बाको प्रश्न आकाश भई नबिलाउँदै  

उत्तरको पसारो पसारेर  

एक जोडा संवेदित आँखा  

र चेपारे मुखको गुन्द्री ओछ्याएर  

बाका मनमा  

बिरालोको चालमा

बाभित्र सुटुक्क पसेको थियोे  

त्यो चोर बिरालो सिंहदरबार  

त्यसपछि  

बा भन्नुहुन्थ्यो – सिंहदरबार छ ।  

 

पोहोर सालको अस्मेल असमञ्जसमा  

बाले एकजना ज्वारीकोटधारी पण्डित भेट्दा  

यसैगरी  बाँध्नुभएथ्यो एउटा बच्चा प्रश्न –  

तिमी त नजिक छौ पण्डित नानी  

सायद कुरा सुन्छन् तिम्रा  

यो कहरबाट उम्कन चाहन्छौं  

अलिकति भनसुन  

अलिकति खासखुस  

बस् यत्ति भए पुग्छ  

पण्डित पनि के कम थे र  

पुराणको कुटुरो फोएर  

अलिकति संवेदनाले धोएर  

बा भित्र चारा हालेर धर्मको  

बोले पण्डित – मन धुनुहोस्, ढुक्क हुनुहोस्  

उनी छन् बा उनी तारनहार  

पण्डितकै शब्दको सापटीमा  

त्यसपछि बाले गर्जँदै भन्नुभएको याद छ  

– उनी छन्।  

 

दोहोरो विपत्ति आयो यसपालि  

पहिलोमा परिवारले भने – बा घरै बस्नुस्

बाहिर सैतान छ।

बा निस्कनुभएन घरबाट  

तर पनि कताकताबाट  

विश्व भ्रमणको त्यो यात्री

सोध्दैखोज्दै बा कहाँ आइपुग्यो  

तर पनि बा कत्ति आत्तिनुभएन  

नआत्तिएरै बाले विपत्ति जित्नुभो  

जब बा तङ्ग्रिनुभो  

तब बग्रेल्ती क्यामरा बोकेर तिनीहरू

बा कहाँ धाए र भने –  

यो उमेरमा जित्नुभो  

कस्तो लागिरहेछ यहाँलाई ?

के भन्नुहुन्छ सिंहदरबारलाई ?

बाले मुख बिगारेर भन्नुभो –  

      शमशेरको नाति यो सिंहदरबार  

      त्यो निर्लज्ज पाजी  

      जुरुक्क उठ्छ, मुख धुन्छ अनि नास्ता बजाउँछ

      र भन्छ – तिमीलाई दूधभात पनि मिल्या छैन ?

      के गर्न सक्ला र यो अधबेस्राले  

तर पनि कोसिस गर्न सके गर

कुरा तार्न सके तार  

मुर्दा शान्ति आउनुअघि  

एक जोडा सुई व्यवस्था गरिदिन भन्नू  

जिउ रहे घिउ खाउँला बाबु ।

क्यामेराहरूले पनि आशाको खेती छरे  

अनि सोझा बा भन्न थाल्नुभो एकाएक –  

क्यामराहरू पनि रैछन् हाम्रा मुन्छे ।  

 

यसै साल अकल्पित विपत्ति हठात आउँदा  

बाले सर्वस्व गुमाउनुभो  

– घर जस्तो घर पनि रहेन

– सम्पत्ति जस्तो सम्पत्ति पनि रहेन

– न टेक्ने ठाउँ न समाउने लौरो

बा धुरुधुरु  रुनुभो  

भावना बोकेर जीविका चलाउने  

कविको भावुकताले भन्यो –  

  बा नरुनुस्  

  रोएर पनि जीविका चल्छ र बुढा !

 सहाराविहीन हुनुभएछ यसपालि बा  

 सारै गल्नुभएछ  

 कवितिरै फर्कनुभो र  

 एक जोडी ओसिएका आँखाले बोल्नुभो –  

 बाबु,  

के तिम्रो कविताले  

मेरा पुरिएको जीविका उप्काउला त ?

प्रकाशित: १२ असार २०७८ ०७:१७ शनिबार

अक्षर