कला

नेपाली पर्फोर्मेन्स आर्टको ऐतिहासिक रूपरेखा

नेपाली समसामयिक कलाको इतिहासमा पर्फोर्मेन्स आर्टको औपचारिक शुभारम्भ सन् २००३ मा भयो। यस वेला यो पर्फोर्मेन्स कलाको स्वरूप कला कार्यशालाको एउटा महत्वपूर्ण अंगका रूपमा देखापरेको थियो। २७ कलाकार सम्मिलित ‘कक्सिङ द नेचर’ नाम गरिएको यो कार्यशाला आफैँमा अजब–गजब कलाको आन्दोलन थियो। सूत्र भन्ने एउटा कलाकारको समूहले कलागत आह्वान ‘क्यानभासबाट बाहिर आऔँ’ भन्ने नाराका साथ काठमाडौंमा अवस्थित ओशो तपोवनमा यो कार्यशालाको आयोजना गरेको थियो। नोभेम्बर ३० देखि डिसेम्बरको ६ सम्म भएको यो कला कार्यशालामा अत्यधिक समसामयिक कला प्रयोग भएका थिए। ओशो तपोवनभित्रै रहेका जमिन, रूख, पोखरी, सिँढी, डिल, खोल्साखाल्सी, खोला, झ्याङ, अनि प्राकृतिक अवयव कलाकारका पात्र र सहपात्रका रूपमा उभिएका थिए। मूलतः इन्स्टलेसन आर्टले बढी मात्रामा थिचे पनि पर्फोर्मेन्स आर्टकासाथै साइट स्पेसिफिक वर्क, अर्थ वर्क, कन्सेप्चुअल आर्ट आदि उत्तरआधुनिक कलाका सबैजसो प्रवृत्तिलाई यो कार्यशालामा समेटिएको थियो। विशेषगरी यसवेला कन्सेप्चुअल कला अर्थात् कलामा अवधारणाले प्रवेश पाएको थियो। कलामा यसको पकड यति बलियो भयो, पछिल्लो कालमा आएर सामान्यतः कुनै प्रकारका कलामा पनि यस अवधारणाको उपस्थिति अनिवार्य भएको देखिन्छ।

कलाकार रित्तो हात जानुपर्नेदेखि कला कार्यशाला अवधिभर ओशो तपोवनबाट बाहिर जान नपाउने नियम थियो। सामान्यतः यस्ता कार्यशालामा कलाकार आफूलाई चाहिने सामग्री लिएरै जान्छन्। लिएरै आउन आग्रह पनि गरिन्छ। कार्यक्रमको सुरुका दुई दिन ओशो तपोवनको वातावरणलाई अवलोकन मात्र गर्नुपर्ने बाध्यात्मक थप नीति–नियम पनि बनाइएको थियो। जसले गर्दा पहिलेदेखि मनमा रहेका कल्पना मेटिएर नितान्त नौला भावना र विचार आओस् भन्ने उद्देश्य राखिएको थियो। यी र यस्तै नवीन कुराले यो कला कार्यशाला त्यसअघि हुने गरेको भन्दा नितान्त फरक हो भन्ने सोच कलाकारमा पर्न गएको आभास समेत हुन्थ्यो। मूलतः कला कार्यशालाकोे यो मुख्य विशेषता हो। कला सिर्जना गर्नुअघि बाध्यात्मक, नीति–नियममा बाँधेर, परम्परादेखि अभ्यास हुँदै आएको कलाका शैली र प्रवृत्तिलाई भाँच्दै अलग्ग धारमा प्रवेश गर्ने/गराउने चेष्टा भएको थियो। जुन सम्भवतः कलाको इतिहासमा सर्वथा नौलो प्रयोगका रूपमा स्थापित भएको छ। त्यति वेला यसको परिकल्पना अनि डिजाइन गर्ने, कार्यान्वयन गर्ने आफैँ पनि सर्जकको रूपमा संलग्न हुने कलाकारमा गोपाल कलाप्रेमी श्रेष्ठ, सुजन चित्रकार, अस्मिना रञ्जित र मनीषलाल श्रेष्ठ आदि थिए। 

जापानी प्रख्यात पर्फोर्मेन्स कलाकार याको ओनो भन्ने गर्थिन्– सायद कला संज्ञा होइन, यो क्रिया हो। यसैको मूर्तरूप दिन उनले सन् १९६४ मा एउटा कलाको सिर्जना गरिन्, जसको नाम कट पिस थियो। जहाँ भावकलाई कैँची दिएर आफूले लगाइराखेको कपडा टुक्राटुक्रा गरी काट्न उनले आग्रह गरेकी थिइन्। सम्भवतः यसले उत्पन्न गर्ने भावकको मनोभाव र यसबाट प्रतिक्रियास्वरूप गर्ने क्रियाकलाप आदि नै उनको कलाको ध्येय थियो। 

त्यसवेला यो कला कार्यशालालाई अजीव खालको कलाका रूपमा आम दर्शकले अवलोकन गरेका थिए। निरन्तर रूपमा ओशो तपोवनको जंगलभित्र कलाकार सिर्जनामा मस्त थिए, तथापि यसको औपचारिक उद्घाटन अन्तिम दिन गरिएको थियो। जहाँ प्रवेश गर्न १० रूपैयाँ शुल्क राखिएको थियो। अझसम्म कुनै पनि कलाको कार्यक्रममा कहीँ नभएको शुल्क प्रथा यो कार्यक्रमको मुख्य विशेषता थियो। यसका साथै हजारौँ दर्शकले यसलाई एक कला मेलाको रूपमा अवलोकन गरेका थिए, यो आफैँमा एक अलग्ग इतिहास बन्न गएको छ। यसरी कला कार्यक्रममा आजको दिनसम्म शुल्क राख्ने गरिएको छैन। यस्ता कलाको कार्यक्रममा यत्रो भीड जम्मा हुन सकेको पनि देखिँदैन।  

यो कला कार्यशालामा मूलतः ४७ वटा काम निर्माण हुँदा मात्र चारवटा पर्फोर्मेन्स कलाका काम भएका थिए। ओशो तपोवनमै बस्ने एक स्वामीले गरेको काम यहाँ समावेश गरिएको छैन। त्यसवेला पृथ्वी श्रेष्ठको ‘रिस’ शीर्षकको काम, सलील सुवेदीको ‘भ्रम बाँच्ने आधार हो’ काम र शीर्षकविहीन अस्मिनाको दुईवटा काम सिर्जना भएका थिए। खोलाको स्वाभाविक प्राकृतिक शक्तिसँग वा यसको आवेगलाई रोक्न खोज्दै मानवले जोरी खोज्दा जहिले पनि मानवको हार भएकोे सन्दर्भ पृथ्वीको कलामा थियो। पिङको निश्चित उडानमा मानवले लिन सक्ने क्षणिक आनन्द मात्र भ्रम हो भन्ने अवधारणाका साथ सलीलको काम थियो। अस्मिनाको काममा अघिल्लो क्षण अँगालो मार्दा आएको आनन्दपन अलिपछि भिडियोमा देखेपछि अनुभूत हुने सन्दर्भ थियो। 

पृथ्वीको सहयोगी पात्र सानो झरना, सलीलको पिङ र अस्मिनाको भिडियो मोनिटर थियो। हुन त यसको एक वर्षअगाडि नै ‘मनसुन हार्मोनी’ नामक कला कार्यशाला यही ओशो तपोवनमा आयोजना भएको थियो। त्यहाँ पनि यस प्रकारको पर्फोर्मेन्स कलाको प्रयोग भएको थियो। जहाँ सुदर्शन राणा, प्रकाश चाँडवाकरले अलग अलग किसिमका पर्फोर्मेन्स कला गरेका थिए। संयुक्त रूपमा भिजुअल आर्टिस्टभन्दा फरक सर्जक सरिता मिश्र (तवलावादक), सलील सुवेदी (अस्ट्रेलियन बाजा डिजेरो डु वादक) र अशेष श्रेष्ठ (फोटोग्राफर)ले मिलेर पर्फोर्मेन्स कला गरेका थिए। पर्फोर्मेन्स कलाको पृष्ठभूमि वा श्रोतका रूपमा मान्ने गरिएको फ्युचरिस्ट आर्ट र दादा आर्ट मुभमेन्टमा यसरी नै मल्टिडिस्सिप्लिनरी आर्टिस्ट संयुक्त रूपमा कलाको निर्माण गर्थे। दादा कलाको मुभमेन्ट एक अलग्गै स्वभाव, उद्देश्य र क्रियाकलापमा आबद्ध रहे पनि कलाको स्वरूप र प्रस्तुतिमा आजको पर्फोर्मेन्स कलासँग धेरै नजिक देखिन्छ। पर्फोर्मेन्स आर्टको एउटा स्वरूप ह्यापेनिङ कलाको उद्भव यसै वेला भएको हो। नेपालमै पनि एकताका ह्यापिनिङ कलाको राम्रो उदाहरण अस्मिनाले निश्चित समयमा एकैपल्ट एफएमहरूमा घन्काउन लगाएर सडकमा आफू लगायत हुल दौडेको परिदृश्य प्रस्तुत गरेकी थिइन्। यो कला राजनीतिक मुद्दामा आधारित थियो।

झरना र सानो पोखरीमा रहेको फोहोर कसिंगर सफा गर्ने अनि विविध रङ राखेर आफू र आफ्नी पाँच वर्षकी छोरीसँग नाच्दै, उफ्रँदै, खेल्दै आफू आनन्दित भएको सन्दर्भ सुदर्शनको कलामा थियो। पोखरीबीचको ढिस्कोमाथि समाधि कसी आफूलाई बसालेर प्रकाशले पर्फोर्मेन्स कला गरे। तीन कलाकार सरिता, अशेष र सलीलको काम मात्र एउटा क्रियाकलापका रूपमा दृश्यावलोकन भएको थियो। पोखरीभित्र बसेर सलीलले डिजेरो डु बजाए, बाहिर बसेर सरिताले तबला बजाए, अनि चारैतिर घुमीघुमी अशेषले मात्र फोटो खिचेको खिच्यै गरे। यही नै यिनीहरूको पर्फोर्मेन्स कला थियो।  

नेपालको पर्फोर्मेन्स कलाको विकासमा मनसुन हार्मोनी कला वर्कसपलाई विशेष रूपमा लिनुपर्ने हुन्छ। किनकि यसभन्दा पहिला भएको बंगलादेश र नेपालको संयुक्त कला प्रदर्शनीमा मात्र कला वर्कसपको अवधारणा राखिएको थियो। यसैमा परम्परागत सोच र शैलीभन्दा अलग्ग पाराले मात्र तीन कलाकार सुदर्शन कलापे्रमी श्रेष्ठ र सुनीता राणाले काम गरेका थिए। तथापि व्यक्तिगत रूपमा आएको यो नौलो सोचले नेपाली समसामयिक कलाको नयाँ मोडको परिकल्पनाको संकेत दिएको भने मान्नुपर्छ। तर मनसुन हार्मोनी कलाकारको समूहले समूहगत रूपमा निश्चित उद्देश्य साथ कलाको नौलो प्रवृत्तिलाई नेपालमा पदार्पण गर्ने कोसिस गरेका थिए। नौलो प्रवृत्तिमध्ये पर्फोर्मेन्स कला पनि एक हो। यो कलाको प्रवृत्ति सुरुकै कालदेखि आइसोलेसनका आउन सकेको देखिँदैन। अझ पछिल्लोकालमा त यो कला धेरै अन्य कलाको प्रवृत्तिसँग विधागत एकतामा, कोल्याबोरेटिभ रूपमा देखापरेको छ। सम्भवतः आउँदा दिनमा यसको परिधि अझ चाक्लो भएर अगाढि बढ्नेछ। अझ रमाइलो पक्ष चाहिँ यसैमा पनि अहिले सोलो कला प्रदर्शन गर्ने परम्पराको विकास भएको देखिन्छ। अन्य कलाझैँ यस विधामा पनि समूहगत र एकल कला प्रदर्शनीको विशेषता आउन थाल्नु अझ थप अग्रगामी कदम मान्नुपर्छ।

अझ खास रूपमा भन्नुपर्दा सन् १९९५ मा पोखराको लुम्ले र काठमाडौंको सुन्दरीजलमा भएको बंगलादेशी कलाकार र नेपाली कलाकारको संयुक्त कला कार्यशालालाई उल्लेख गर्नुपर्ने हुन्छ। जहाँ गोपाल कलापे्रमी श्रेष्ठले गरेको पर्फोर्मेन्स कलालाई अहिलेसम्मको प्राप्त भएको पर्फोर्मेन्स कलामध्ये प्रथम कला मान्नुपर्ने हुन्छ। बग्दै गरेको खोलामाथिको ढुंगामा बसी माटोको सुन्दर मूर्ति बनाएको परिदृश्य अनि उफ्रँदै उफ्रँदै यसैमाथि आफू समाधि कसेर बसेको प्रकृति उनको कलामा समाहित थियो। रातभरि मात्र अस्तित्वमा रहेको यो उनको कृति भोलिपल्टै खोलाले बगाएर लग्यो, त्यहाँ केही अस्तित्व रहेन। यो काम इन्स्टलेसन पर्फोर्मेन्स थियो। यो एउटा कलाको स्वभावसँग सन् १९७० मा बनाएको रोबर्ट स्मिथसनको ‘स्पाइरल जेट्टी’को नजिक देखिन्छ। स्मिथसनले ढुंगा र बालुवाले बनाएको इन्स्टलेसन काम गरेका थिए, जसलाई उनैले हेलिकप्टरको सहयोगले माथिबाट खिचेका थिए, सोही फोटो मात्र आज छापा चित्रमा अभिलेखन भएको छ। यसको वास्तविक अस्तित्व त्यसैवेला पानीले बगाएर लगिसकेको थियो।  

मूलतः सन् १९९५ र २००३ बीच पनि यस्ता कलाका क्रियाकलाप फाट्टफुट्ट भइरहे, सन् २००० मा सुजनले विनोदसँग मिलेर एक कला प्रदर्शनी गर्दा सुजनले मास्कको प्रयोगबाट द्वैध चरित्रको प्रकृति देखिने गरी भिडियो आर्ट बनाए र ठूलो मनिटरमा प्रस्तुत गरेका थिए। सम्भवतः त्यतिवेलासम्म कसैले यो प्रकृतिको डकुमेन्टेड पर्फोर्मेन्स गरेको थिएन। अहिले भिडियो आर्टका यस्ता काम सामान्य भइसकेका छन्। सम्भवतः २०५९ भदौ १ गते काठमाडौं वसन्तपुरको खुला प्रांगणमा भएको ‘विचलित वर्तमान’ पर्फोर्मेन्स कलाको शक्तिशाली प्रस्तुति थियो। यस वेला विशेष गरेर अस्मिना, संगी श्रेष्ठ, सुविना श्रेष्ठ, अनुप बराल (नाट्यकर्मी) र मनीष श्रेष्ठका पर्फोर्मेन्स कला चर्चामा रहेको थियो।

माओवादीको सशस्त्र आन्दोलन चरम उत्कर्षमा पुगेका वेला यसले आम मान्छेलाई पारेको नकारात्मक असर यी जम्मै कलामा छर्लंग देखापरेका थिए। त्यसबखत रातो रंग रगत (हत्या र हिंसाको प्रतीक)को दरिलोे प्रतीक बनेको थियो। सम्भवतः यसैले पनि चहकिलो रातो रंग यस बखतका कलाकारले पनि अत्यधिक मात्रामा प्रयोग गरेका छन्। अस्मिनाले भुइँभरि रातो रंगका आहाल बनाई बगुन्द्रो जुत्ता र चप्पल, स्यान्डिल फाली हत्याको त्रासदि वातावरणलाई उजागर गरेका थिए। सुविनाको काममा मुखमा पट्टी बाँधी आफ्नै टाउको माथि प्लास्टिकको पोकाबाट रातो रंग झारी रक्ताम्ये भएको दृश्य अवलोकन हुन्थ्यो। अनुपले आफूलाई काँडेतारले कसेर बाँधेको दृश्य पनि कम हृदयविदारक थिएन। संगीले रातो रंगका भुस थुपारेर दनदनी आगो बालिन्। यिनले नीलो रंगको प्रयोग गरेकी थिइन्, जसको आसय शान्तिको कामना थियो। मनीषले रातो, नीलो रंगका कपडा, क्यानभास, घन्टीलाई गहकिलो प्रतीकात्मक वस्तुसँग चल्दै खेल्दै पर्फोर्मेन्स कलाको निर्माण गरेका थिए।  

पर्फोर्मेन्स आर्टको भावार्थ  

पर्फोर्मेन्स आर्टको स्पष्ट व्याख्या यसरी गरिएको छ। पर्फोर्मेन्स आर्ट यस्तो कलाको काम हो, जसमा कलाकारले एक्सनद्वारा आफ्नो कामलाई प्रदर्शन गर्छ। यो कला लाइभ पनि हुन सक्छ वा विविध अन्य माध्यममा डकुमेन्ट गरेर प्रदर्शन गरेको पनि हुन सक्छ। भिडियो आर्टका रूपमा यसको प्रकृति स्वस्फूर्त हुने गर्छ भने ललितकलाकोे सन्दर्भमा आम जनसमुदाय अगाडि यो प्रस्तुत हुने गर्छ। परम्परागत वा इन्टरडिस्सिप्लिनरी दुवै प्रकृतिमा देखिन सक्ने यसको स्वभाव हुन्छ। यसैले यसलाई आर्टिस्टिक एक्सन पनि भन्ने प्रचलन छ। मूलतः यसले चारवटा तत्व (टाइम, स्पेस, बडी र कलाकारको उपस्थिति) बोक्नुपर्ने नितान्त आवश्यक छ। यसका साथै भावक र सर्जकबीचको नाता पनि देखिनुपर्छ। सँगसँगै सर्जक र भावकबीचको क्रिया–प्रतिक्रिया रहनैपर्ने बाध्यात्मक सर्त पनि हो।  

यस्ता कला मूलतः कलाका दीर्घा, संग्रहालयमा हुने गर्छन्। तथापि अहिले यसलाई विशेष रूपमा तयार गरिएका खुला ठाउँमा पनि गर्न थालिएको छ। कुनै पनि समयमा गर्न सकिने यसको विशेषता हुन्छ। भावकको प्रतिक्रिया जेनेरेट गर्ने यसको प्रमुख लक्ष्य हुन आवश्यक छ। यो कला एस्थेटिक्सको भाव र बोधले वशीभूत हुन आवश्यक छ। यस्तो कला बडी (शरीर)लाई केन्द्रमा राखेर कलात्मक क्रियाकलापका साथ अगाडि बढ्ने गर्छ। आफ्नो शरीर विशेष गरेर अनुहारलाई विविध रङ पोत्नेदेखि थप आँखा, थप मुख बनाई प्रस्तुत हुने गर्छ। यसबाहेक विविध प्रकारमा मास्क लगाएर पर्फम गर्ने गरिन्छ। शरीरका अन्य भागमा आफैँ वा अन्य कसैलाई यसमाथि लेख्न लगाएर, खेल्न लगाएर कलाको प्रस्तुति गर्ने पनि गरिन्छ। यसैले यसलाई बडी आर्ट पनि भन्ने गरिन्छ। अर्कोतर्फ आफ्नो शरीरसँग कुनै अन्य वस्तुसँगको सहकार्य वा प्रतिक्रियात्मक अन्तक्र्रियाको सरोफेरोमै कलाको निर्माण पनि भइरहेको हुन्छ।  

तथापि यस्ता कलामा स्वस्फूर्तता (तत्काल उब्जेको भावना, विचार र यसलाई प्रवाह गर्न तत्क्षण बनेका हाउभाउ वा मौन रहने प्रक्रिया) का साथै तत्कालीन भावकको प्रतिक्रिया र अन्तर्क्रिया संलग्न रहने विशेषता हुन्छ। अधिकांश ठाउँमा भावक उत्तेजित भएर आफैँ यो काममा समाहित हुन्छन्। बडी आफैँ एक क्यानभास बनिदिन्छ। यसैले कलाविद्ले यसलाई एक्सन आर्टको पुनर्व्याख्या भनेर वर्णन गर्ने गर्छन्। यस्ता कला सामान्यतः कलाकारको निजी अनुभवसँग ज्यादा गाँसिएको हुन्छ। तथापि सामाजिक, राजनीतिक मुद्दासँग पनि यस्ता कला जोडिएर रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। जापानी प्रख्यात पर्फोर्मेन्स कलाकार याको ओनो भन्ने गर्थिन्– सायद कला संज्ञा होइन, यो क्रिया हो। यसैको मूर्तरूप दिन उनले सन् १९६४ मा एउटा कलाको सिर्जना गरिन्, जसको नाम कट पिस थियो। जहाँ भावकलाई कैँची दिएर आफूले लगाइराखेको कपडा टुक्राटुक्रा गरी काट्न उनले आग्रह गरेकी थिइन्। सम्भवतः यसले उत्पन्न गर्ने भावकको मनोभाव र यसबाट प्रतिक्रियास्वरूप गर्ने क्रियाकलाप आदि नै उनको कलाको ध्येय थियो। यस्ता प्रयोग नेपालमा पनि भएका छन्, यसलाई तल अलग्ग व्याख्या गरिएको छ।  

विश्वमा यस्तो कलाको प्रवृत्ति ६० को दशकको उत्तरकालमा देखापरे पनि पर्फोर्मेन्स टर्मको स्पष्ट देखिएको र फैलिएको सन् १९७० मै हो। हुन त यस्तो कलाको प्रकृतिलाई सन् १९१० मा देखापरका फ्युचरिस्ट आर्ट र क्याबरे डान्समा मुखरित भएको कलाविद्ले उल्लेख गरेका छन्।  

नेपालमा सन् २००३ पछि  

ओशो तपोवनको कार्यशालाले नेपाली समसामयिक कलाको स्वरूप, सिर्जना र प्रस्तुतिमा आमूल परिवर्तन ल्याइदियो। कति कलाकार यही नवीन प्रवृत्तिमा आफूलाई निरन्तर संलग्न गराए। कति युवा र पाका कलाकार रहरकै रूपमा एकपल्ट मात्र भए पनि यो नौलो प्रवृत्तिमा कलाको सिर्जन गर्न उद्यत भए। यसले नेपाली समसामयिक कला इतिहासमा स्पष्ट एक अलग्ग धार सिर्जना गर्‍यो। सूत्रले यसपछि पनि धेरै कला कार्यशाला गर्‍यो। हरेक कार्यशालामा एक अलग्ग प्रकारको प्रस्तुतिलाई समेटिएको हुन्थ्यो, जसले गर्दा यो उत्तरआधुनिक कलाको प्रवृत्तिमा अनेक उपविधा थपिने क्रम बढ्दै गयो। यसैभित्र पर्फोर्मेन्स कलाको अनेकौँ स्वरूप देखापर्‍यो– इन्स्टलेसन पर्फोर्मेन्स, भिडियो पर्फोर्मेन्स, इन्टर्याक्टिभ पर्फोर्मेन्स, कोल्याबोरेटिभ पर्फोर्मेन्स, सोलो पर्फोर्मेन्स, डकुमेन्टेड पर्फोर्मेन्स, ह्यापेनिङ आदि। जसले गर्दा राजनीतिक, सामाजिक सन्देशलाई प्रवाह गर्न कलासँग सम्बन्धित नभएका निकायले पनि पर्फोर्मेन्स कलाका कार्यक्रम गर्ने लालसा देखाए। निकै ठूलै रूपमा एनजिओ, आइएनजिओले यो विधालाई सन्देश प्रवाह गर्ने प्रभावपूर्ण माध्यमका रूपमा अंगीकार गरेको देखियो।

कलासँग सम्बन्धित कला संस्था त यस्ता कलाको प्रवृत्तिलाई मलजल गर्न अझ क्रियाशील भएर लागे। यस्ता संस्थामा अस्मिनाको लजना र नेक्सस, पृथ्वी र सौरगंगाको बिन्दु, जुपिटरको स्पेस ए, सरोज र महिमा सिंहको विकल्प र मनीषको ग्यालरी एम क्युब मुख्य रूपमा देखापरे। यस्ता कलाको माहोल चारैतिर हुँदा कुनै पनि कला संस्था, कला दीर्घा यसबाट अछूतो भएनन्। सिद्धार्थ ग्यालरीदेखि सिर्जना कलेज वा ललितकला क्याम्पस र केयु आर्ट एन्ड डिजाइनका धेरै कलाका विद्यार्थीले कुनै न कुनै अवसरमा यस विधालाई अपनाएको देखिन्छ। यसबाहेक आर्टुडियो, खोला १०१, सत्य मिडिया कलेक्टिभ्स आदि पनि यो विधाबाट अछूतो रहेनन्। सबैजस्तो संस्थाले पर्फोर्मेन्स कलाका कार्यक्रममा राष्ट्रिय मुद्दा, सामाजिक र राजनीतिक सवाललाई केन्द्रमा राखेर सामूहिक रूपमा गर्ने गरेका छन्।

तथापि यसमा पर्फोर्मेन्स कलालाई मात्र अलि बढी सम्बोधन गर्ने क्रममा बिन्दु अग्रपंक्तिमा देखियो भने भिडियो आर्ट (डकुमेन्टेड पर्फोर्मेन्स कला)मा स्पेस ए अगाडि आएको देखियो। यसैगरी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले उपत्यकाभित्र र मोफसलमै पर्फोर्मेन्स कलाका कार्यक्रमलाई उत्साहपूर्ण रूपमा आयोजना गरेको देखियो। विशेषगरी विश्वमा समसामयिक कलाको परिभाषा बोकेको यो कलाको प्रवृत्ति भएका कारण यता नेपालमा प्रायः सबैजसो युवा कलाकार यो विधातर्फ आकृष्ट भएको देखिन्छ। मूल रूपमा यो कला उत्तर आधुनिक कलाको एक रूप भएका कारण इन्स्टलेसन, भिडियो आर्ट र कन्सेप्चुअल आर्ट आदि समग्रमा देखापर्ने बढी प्रचलन देखिएको छ। विस्तारमा पर्फोर्मेन्स कलाकै मात्र अनुसन्धान र अभिलेखन भएको छैन। यसको स्वरूप अस्थायी भएका कारण यसको अभिलेखन कमजोर भएको देखिन्छ।  

केही शक्तिशाली पर्फोर्मेन्स कला  

यसैबीच व्यक्तिगत हिसाबमा केही पर्फेन्स काम शक्तिशाली रूपमा देखाप¥यो। समसामयिक वर्तमान राजनीति र संस्कारलाई समन्वयमा राखेर सन् २०१५ मा गरिएको सुजन चित्रकारको ‘द मार्क अफ आवर टाइम’ नामक पर्फोर्मेन्स कला सर्वाधिक चर्चामा रह्यो। यो कला बडी आर्टका रूपमा निर्माण गरिएको थियो। करिब ४० वर्षदेखि छुटिरहेको आफ्नो बाजेको श्राद्धलाई उनले तिथि मिलाएर आफ्नो कलामार्फत श्राद्ध गरे। सामान्य जनमानसअगाडि सुजनले कपाल मात्र खौरेनन्, तत्कालीन संविधान बन्न आलटाल भइरहेको अवस्थालाई पनि व्यंग्य गरे। यसो गर्न उनले कला अवलोकन गर्न घेरिएर बसेका भावकलाई आफ्नो शरीरभरी सेतो रङले भाव विचार लेख्न लगाएका थिए। कार्यक्रम सकिँदा उनको नांगो जिउ सेताम्मे देखिन्थ्यो। उनी भने नितान्त मौन थिए। तथापि संस्कार र बन्न नसकेको संविधानको गहकिलो सन्देश भने तिखो रूपमा प्रवाह भइरहेको थियो। 

यसै प्रकार सन् २००४ को ‘चपाइएका अनुहार’ पनि त्यतिवेला यथेष्ट चर्चामा आएको उनको शक्तिशाली काम थियो। यसबाहेक अस्मिनाका तीनवटा काम चर्चामा रहे। पहिलो काममा जेन्डर सवालमा आधारित घन्टौँसम्म आफू र माटाको घैँटोलाई टीका लगाउँदै र टीका उप्काएर फाल्दै गरेका पर्फोर्मेन्स थिए। अर्को, समयमा आधारित आफैँमाथि सुईले घोपेको काम थियो। गाईको निबन्ध पाठ गर्दै गरेको अर्को उनको शक्तिशाली काम थियो। पछिल्लो कामचाहिँ जोसेफ ब्यइसले सन् १९६५ मा गरेको काम ‘हाउ टु एक्सप्लेन पिक्चर टु अ डेड हेयर’को नजिक देखिन्छ। जहाँ ब्यइसले मरेको खरायो च्यापेर आफ्नै कलाकृतिको वर्णन गरेको छ। मुखभरि मह र गोल्ड लिफले पोतेर आफ्ना बुटमा फलामको मोटो टुक्रालाई टाँसेर एक अलग्गै रूपको प्रदर्शन गरेका थिए। अस्मिना सँगसँगै सुनील सिग्देल, जुपिटर प्रधान, पृथ्वी, सरिता डंगोलका घतलादा धेरै शक्तिशाली काम गरेका छन्। यी सबैलाई उल्लेख गरेर साध्य छैन।  

विशेषगरी गतका दशकदेखि यस्ता कला द्रूत गतिमा बढेर गएको छ। बिन्दुले पर्फोर्मेन्स कलालाई मात्र समेटेर एक अलग्ग कार्यशालाको आयोजना गर्‍यो, जुन सम्भवतः पहिलो नै होला। लामो समयदेखि निरन्तर रूपमा आजको दिनसम्म सक्रिय भइरहने पर्फोर्मेन्स कलाकारमा अस्मिना, पृथ्वी, सौरगंगा, जुपिटर, सुन्दर लामा, सविता डंगोल, इसान परियार, अनिल सुब्बा प्रमिला लामा, ऋतेश महर्जन, मुना बडेल, महिमा सिंह आदि छन्। यी सबैजसो कलाकारले एक दर्जनभन्दा बढी काम गरिसकेका छन्। यी सबै कलाकार फिगरेटिभ आर्टमा अब्बल रूपमा जमेका चित्रकार हुन्। यसो भएकाले यस्ता अति राम्रा, गुणस्तरका चित्र सिर्जना गर्न र निरन्तर रूपमा प्रदर्शन समेत गर्ने गरेका छन्। यस बाहेक कार्यशालामा संलग्न भएका र वेला वेला यस्ता पर्फोर्मेन्स कला गर्नेको कलाकारको लर्को त धेरै लामो छ, यहाँ सबैको उल्लेख गरेर साध्यै छैन।  

(मल्ल कलाकार र कला समीक्षक हुन्।)

प्रकाशित: १२ असार २०७८ ०३:२५ शनिबार

नेपाली पर्फोर्मेन्स आर्ट ऐतिहासिक रूपरेखा