प्रेम पुन मगर
चौध वर्षमा पाइलो टेक्दै गरेकी चञ्चले छोरीको चालामाला नियालिरहेकी रानीले श्रीमानसँग भन्छिन्।
‘सुन्नुहोस् त पुजाको बा! त्यो मास्टरको चालामाला त ठिक लागेन है मलाई त समयमै होस् पुराउनुपर्छ। काम बिग्रेपछि रोएर काम छैन।’
‘हुन्छ। लागेको त मलाई पनि त्यस्तै हो। बरु यो मास्टरलाई हटाएर त्यो पाण्डे सरलाई बोलाउनुपर्यो।’ गम्भीरतासाथ उनले भने।
पचहत्तर बर्से पाण्डे सरलाई ट्युसनका लागि बोलाइयो।
ट्युसन सकेर सर जानुभयो।
रानीले छोरी पुजालाई दुई झ्याप् हान्दै भनिन्, ‘नकच्चरी अलि टाढै बसेर पढ्न सक्दैनस्? त्यो बुढा मास्टरसँग टाँस्सिएरै बस्नुपर्छ ?’
रन्थनिदै पुजाले भनी, ‘मैले के गरेँ र ? टाढा बसेर कसरी पढ्नु त?’
अझै मुखमुखै लाग्छस् हेर विन्दुको हालत मास्टरकै पेट बोकी के हालत भयो उनीहरूको इज्जतको? त्यस्तै होलास् नि तँ? रानीले मुर्मुरिदै स्पष्टीकरण दिइन्।
पुजा भन्दै थिइन् – आमा! विन्दु नै किन विन्दु जस्ता कति होलान् तर तपाईले किन मलाई बिग्रेकाहरूसँग तुलना गरेर हेर्नुहुन्छ? के गर्नुहुन्छ, के हुँदैन त्यो मलाई थाहा छ नि। यति थाहा नभए मान्छे भएर जन्मेको के काम लाग्यो र ? आमा! आफ्ना छोराछोरीलाई विश्वास गर्न नसक्दा पनि हो धेरैका छोराछोरी कुबाटोमा लागेका छन्। विश्वास नै ठुलो कुरो हो। हरेक नाता विश्वासमा नै अडेको छ। जहाँ विश्वास छ। त्यो नाता सुन्दर बन्छ। विश्वासबिनाको कुनै पनि नाता सुकेर जान्छ।
प्रकाशित: ११ असार २०७८ १२:३२ शुक्रबार