कला

कृषिक्रान्ति

लघुकथा

हरिचन्द्र ढकाल

 

‘अब किसानका दिन आए। कोही किसान समस्यामा पर्यो भनेर टाउकोमा हात लगाउनुपर्ने दिन गए। अब देशमा कृषिक्रान्ति हुनेछ । यो देश किसानले चलाउने छन् ।’ परर तालीको गडगडाहाट भयो। एक हप्ता अगाडि कृषि मन्त्री भएपछि धनराज आफ्नो क्षेत्रमा आएर लामै भाषण गरे। सबै उपस्थित किसानको ओठमा खुसी देखियो।

‘अब हजुरबाट केही आश पलाएको छ। पहिलाका जस्ता खन्चुवा नहुनु बाबु ! मेरो आशीर्वाद छ।’ चोलाकान्त बाजेले धनराजलाई शुभकमाना दिए।

दिन, हप्ता र महिनाहरू कसैको वास्ता नगरी बिते । किसानका पीडा बिसका उन्नाईस भएनन् । मन्त्री पटकपटक आफ्नो क्षेत्र आउने कुरा पनि भएन।

‘उफ ! यसपालि पनि पाँच बिघा जग्गामा लगाएको उखु त्यसै खेर जाने भयो कान्छा । भाउ नै नपाइने भयो।’ लामो सुस्केराका साथ चोलाकान्तका जेठा छोराले कान्छा भाइलाई भने।

‘हो दाइ यो साल सबैतिर प्रसस्त मात्रामा उखु खेती भएको छ रे ! त्यसैले हो कि !’ कान्छाले समस्या प्रकट गर्यो।

‘अब यो उखुबाली नासेर तरकारी बालीतिर लाग्ने पो हो कि भन्ने सोचें त कान्छा’ जेठाले कान्छासँग राय मागे।

‘तरकारीले भाउ पाउला त दाइ ?’ कान्छाले प्रतिप्रश्न गर्यो ।

चोलाकान्त नाति भेट्न शहर गएका थिए । ‘चिया खानुपर्छ कि नाति’ चोलाकान्तले नातिलाई भने ।

– हामी त तातो पानी मात्र खान्छौ हजुरबा । चिनी तीन सय रुपियाँ केजी पुगेको छ महँगिएर । चिनी त किन्नै नसकिने भयो बा ! नातिले गुनासो पोख्यो ।

टिभीमा कृषि समाचार आइरहेको थियो । ‘यसपटक उखुको अभावका कारण चिनीको भाउ आकासिएको’ भन्ने जानकारी कृषिमन्त्रीले टिभीको अन्तर्वार्ताबाट चोलाकान्तले थाहा पाए।

माइलाका छोरा पनि बजारमा नै बस्थे हिमालबाट आएका थिए उनी छोरा भेट्न । ‘स्याउको भाउ कसरी ?’

चार  सय रुपियाँ किलो, साहुजीको उत्तरले माइला झस्किए । आफ्नो खरबारीमा उब्जिएका स्याउ तीस रुपियाँ केजीमा नबिकेर लोकल रक्सी बनाएको झल्याँस्स सम्झे ।

 ‘एकछाक राम्रो तरकारी खान पनि बोर्डर नै पार गर्नुपर्ने भो माइला’ बाबुछोराको लामो भलाकुसारी भयो ।

‘खै कृषिप्रधान देश भन्छन्, के हो के हो?’ माइलाले बालाई सम्झाउन सकेन।

‘देशका विभिन्न जिल्लामा किसानले उब्जाएको तरकारीको भाउ नपाएर तरकारी नष्ट गरिँदै’आजको मुख्य समाचार बाबु र छोराले आफ्नै घरमा बसेर टिभी हेरिरहेका थिए।

‘यस महिना करोडौंको तरकारी विदेशबाट आयात‘ दोस्रो समाचार पनि सुन्न पाए उनीहरूले।

‘धनराजले कृषिक्रान्ति गर्छु भन्थ्यो यही त होला है केटा हो ?’ छोराहरूतिर फर्केर चोलाकान्तले भने । छोराहरूको ध्यान टिभीमै थियो।

धनराजको छोरालाई भारतीय राजदूतावासले छात्रवृत्तिमा अध्ययनका लागि भारत पठाउने भएछ । धनराजले गरेको कृषिक्रान्ति गाउँलेले चाल पाए।

केही समयपछि फेरि चुनावको रौनक आयो। नेता भनाउँदा त्यसै गरी चुनावमा भोट माग्न आए।

‘मलाई काम गर्न दिइएन, बर्खामा लगाउने धान बाली बाढ़ीले बगायो, हिउँदमा तुषारोले बालीनाली नष्ट पार्यो । विदेशीले समयमा मल दिएन । भने जस्तो बिउ परेन। त्यसकारण कृषिमा क्रान्ति गर्न सकिएन। अब ढुक्क हुनुस् यसपटक चुनावमा जितेर फेरि मन्त्री भएपछि पक्कै कृषिमा आमूल परिवर्तन गर्छु’ मन्त्रीको अन्तिम भाषणसम्ममा  मंचमा बस्ने अतिथिबाहेक कोही थिएनन् । गाउँका जनताले चुनाबमा धनराजलाई लोप्पा खुवाइदिए।

प्रकाशित: १० असार २०७८ ०९:४९ बिहीबार

अक्षर