कला

वैराग्य

लघुकथा

आचार्य प्रभा  

 

अहिले बल्ल उस्को आँखा खुलिंदैछ । जब आफ्नी पत्नीलाई कोभिडले गाँजेको बेला हरेक अस्पतालहरू चाहार्दा पनि बेड र अक्सिजन नपाउँदा कसरी पत्नीले मृत्युवरण गर्नुपर्यो ? ऊ यतिखेर सम्झिंदैछ आफू राज्यको ठूलै ओहोदामा रहँदा देशलाई आएका विदेशी सहयोगहरू कुम्ल्याएर ऊ लगायत उसँगैका कार्यकर्ताहरूले देशको ढुकुटी रित्याएका थिए । एवं रितले यो प्रथा देशमा हाबी भई रह्यो।  आखिर देश अवन्नतिको ओरालोतिर झर्यो।तर यस्ता प्रवृत्तिहरू उकालो चढ्दै गए । नतिजामा देश भिखारी बन्यो। केही काइते जनताहरू र यस्तै खलपात्रहरू धनाढ्य बने।

अहिले देशलाई कोरोनाले गाँजेको छ तर सरकार निरीह छ । अक्सिजनको पूर्ति गर्न नसकेर।  संसारभर बसेका नेपाली र केही देशभित्रकै युवाहरूको सहयोगको आशामा आश्रित बनेर । यदि ती स्वार्थीहरूले लुकाएका धन राज्यको ढुकुटीमा भएको भए आज देशले यस्तो अप्ठ्यारो स्थितिको सामना गर्नुपर्ने थिएन सायद । व्यक्तिगत सन्दुक भरिएर देशको ढुकुटी रित्तिएपछि परिआएको बखत निजी पैसा, ओहोदा र सम्पत्ति पनि काम नआउने रहेछ भनेर ऊ सोच्न बाध्य बन्यो र पत्नीको मृत्युपश्चात आफ्नो सारा सम्पत्ति राष्ट्रको नाममा गरेर आफू समाजसेवी बन्दै  बाँकी जीवन जिउने बाचा गर्यो ।

– भूपू सांसदज्यू त वैरागी बनेछन् नि! श्रीमतीको मृत्युपछि। कसैलाई चार पैसा नछिराउने आफ्नो सारा सम्पत्ति राज्यको नाममा गरेछन् ?

प्रीतमले साथीसँग जिज्ञासा राख्यो।

– ‘अनि राज्यको सम्पत्तिहरू त्यस्ता भ्रष्टहरूले कुल्म्याएर त देश रित्तो बनेको हो। यदि यस्ताहरूले कुम्ल्याएका पैसाहरू सारा राज्यको ढुकुटीमा हुँदो हो त, देश किन निरीह बन्थ्यो ? बल्ल उसको चेत आयो। जब देश यस्तो विपत्ति थेग्न नसक्ने स्थितिमा रहेछ भन्ने बुझ्यो।’

साथीले यस्तो जवाफ दिएपछि फेरि प्रीतमले थप्यो – मान्छेलाई जब आफैलाई पर्छ नि तब चेत आउँछ। अनुदानमा आएका सहयोगहरू सब झ्वाम पारेपछि कसरी विपतमा सहज हुन्छ ? त्यसैले देश धनी होस् , जनता परिश्रमी र नेताहरू इमानदार अनि मात्र देशले विपत्तिको भुमरीमा पर्नु पर्दैन।

प्रकाशित: ९ असार २०७८ ०८:२० बुधबार

अक्षर