कला

रामकृष्ण ढकालद्धारा हेलम्बुका बाढीपिडितलाई आर्थिक सहयोग

गायक रामकृष्ण ढकालले हेलम्बुमा बाढी–पहिरोबाट  विस्थापित भएका पीडित परिवारको लागि सहयोग जुटाएका छन् । हाल अमेरिकामा रहेका गायक ढकालले त्यहाँ रहेका नेपाली समुदायसँग आग्रह गरेर एक लाख रुपैयाँ जुटाएका हुन् ।  

सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक ढकालले उक्त रकम ‘के फाउण्डेसन ग्लोबल’ नामक संस्थालाई सहयोगको लागि रकम प्रदान गरेको जानकारी दिए ।  

‘थोरै मात्रामा भएतापनि बाढी–पहिरोका कारण विस्थापित परिवारलाई सहयोग गरौ भन्ने उदेश्यका साथ यहाँका नेपाली दाजुभाईहरुलाई सहयोगका लागि आग्रह गरेको थिएँ । मनकारी नेपाली तथा भुटानी नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनीहरूले खुला हृदयले सहयोग गर्नुभएको छ’, उनले भने, ‘थोरै भएपनि विपद्को बेला पिडित परिवारको उद्धारमा सहयोग पुग्नेछ।’  

देशमा आइपरेको प्राकृतिक विपद्ले पुगेको क्षतिलाई केही हदसम्म बाढीप्रभावित क्षेत्रको जनजीवनलाई राहात पुग्ने उद्धेश्यले सहयोग जुटाएको गायक ढकालले  बताए ।  

‘यही जुन १६ मा  पेन्सल भेनियामा कार्यक्रम गर्दा करिब १२ सय डलर रकम संकल भएको थियो । त्यसबाट संकलन भएको  नेपाली एक लाख रुपैयाँ ‘के फाउण्डेसन ग्लोबल’लाई प्रदान गरेको छु’, उनले भने ।

त्यस्तै संकलन भएको बाँकी रकम पनि कोरोना महामारीमा फ्रन्टाइलनमा काम गर्नेहरुका लागि अन्य संस्थामार्फत प्रदान गर्ने गायक ढकालले बताए ।  

त्यस्तै ‘के फाउण्डेशन ग्लोबल’का प्रवन्ध निर्देशक  सौरभ रिमालले गायक  ढकालको आर्थिक सहयोगले हेलम्बुका बाढी विस्थापित परिवारका लागि ठूलो राहत पुग्ने बताए ।  

‘यस्तो विषम परिस्थिपितमा पनि उहाँले हामीलाई विश्वास गरेर रकम पठाउनु भएको यसको लागि रामकृष्ण दाईप्रति हामी आभारी छौं’, उनले भने, ‘हामीले विस्थापित परिवारलाई आवश्यक सामग्री वितरण गर्ने छौं ।’  

यसअघि अमेरिकाबाट गायक ढकालले  कोरोना संक्रमितकाहरुका  लागि अक्सिजन व्यवस्थापनको लागि १८ लाख रुपैयाँ सहयोग जुटाएका थिए । उक्त रकम महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रलाई प्रदान गरिएको थियो ।  

प्रकाशित: ९ असार २०७८ ०८:१६ बुधबार