कला

कुमालेको चक्र

लघुकथा

इन्दिरा गौतम  

          

बाबुआमाकी एउटी मात्र सन्तान थिई परी। सानैदेखि लाडे स्वभावमा हुर्केकी। दिनदिनै ठुली र राम्री हुँदै  गई। सुगा  

बाबुआमा भने मिठोमिठो चाराको जोहो गर्न बगैँचामा घुम्ने गर्थे। उसलाई फकाउन ठिटा सुगाहरू चारो टिप्ने निहुँमा गुँडको वरिपरि आउने गर्थे तर आमा टिक्नै दिन्नथी।

एकदिन आमा नभएको मौका छोपेर भाले सुगाले फकायो। परी लाजले भुतुक्क हुँदै बाबुआमा नभएको मौका छोपेर भागी। नयाँ ठाउँ चारैतिर हरियाली। कहिले पहाड कहिले तराईको प्राकृतिक दृश्य उपभोग गरायो। बाबुआमाकी लाडे परीलाई भाले मायाले रानी भनेर बोलाउँथ्यो।

रानी पातली शान्त र झन् भन्दा झन् राम्री हुँदै गई। भाले पनि आँखामा लुकाएर राख्न खोज्थ्यो। छेउछाउका अरू चराहरू आरिसले मर्थे। दिन बित्तै गयो। भालेलाई कानमा खुसुक्क खुसीको खबर सुनाई। उसको खुसीको सीमा रहेन। छेउछाउका सबै साथीहरूसँग खुसी व्यक्त गरो उनीहरूले फराकिलो र सुरक्षित गुँड बनाउने  सल्लाह दिए।

रानीलाई मन पर्ने खोर्सानी, अम्बक, मेवा र आँपहरू चारचौरास डुलेर खोज्थ्यो। ऊ फलफूल औधी रुचाउँथी। छेउछाउको चारो सकिँदै जाँदा टाढाबाट खोजी गर्नुपर्दा दुर्बल देखिन्थ्यो तर यता रानी चै मोटाउँदै गई। भाले सुगाले रानीलाई सकेसम्म स्याहार ग¥यो  

दिन पुगेपछि बडो होसले अण्डा पारी र दुवैले आफ्नो लगन र मेहनतले पालो फेरो गर्दै ओथारा बसे। एकदिन बडो होसियारीको साथ बच्चा जन्मिए। भाले सुगाको दायित्व बढ्दै गयो। बच्चा दिनभरि रानीको न्यानो काखमा रहे पनि राति भालेले छातीमा च्यापेर सुत्थ्यो। शुक्लपक्षका जूनजस्तै बच्चा दिनदिनै हुर्किदै गए। प्वाँख पलाए। उड्न थाले र चारो पनि टिप्न सिके। रानी र भाले सुगाको खुसीको सीमा रहेन।

आफ्नो दायित्वबाट दिनदिनै फुर्सद हुँदै गए।  फेरि पहिलाजस्तै रानीलाई लिएर खोलाको बगरतिर जाने गर्थ्यो त कहिले नजिक टाढाका बगैंचातिर। दुईटा बच्चाकी आमा भए नि झन् भन्दा झन् राम्री भनेर जिस्काउने गर्थ्यो । उतै रमाइला गफ गरेर ढिलो घर आउन थाले।

यसरी नै एकदिन घर पुग्दा  बच्चा गुँडमा थिएनन्। रानी चरी डाँको छोडेर रुन थाली। भाले सुगाले घाइते मुटु लिएर यताउता खोजी गर्यो। कतै पत्तो लागेन। बच्चाको सम्झनाले रानी दिनदिनै दुर्बल देखिन थाली र भालेले गुँड छोडेर अन्तै जाने निर्णय गर्यो।

त्यतिबेला पल्लो गुँडको बुढो सुगाले भन्यो– छोरी यो कुमालेको चक्र हो । तिमीले पनि आफ्ना बाबुआमालाई त्यागेर आयौ। उनीहरूलाई पनि आफ्ना सन्तानले यसरी नै त्याग्नेछन्। यसरी नै यो क्रम निरन्तर चलिरहने छ....,चलिरहने छ ।  

प्रकाशित: ४ असार २०७८ १३:४५ शुक्रबार

अक्षर