कला

मेरो जन्मभूमि

इम्प्रेस थिङ

कक्षा–९

जेनिसिस एकेडेमी, भुवलडाँडा, काठमाडौँ ।

भनिन्छ ‘आफ्नो जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ ।’ मलाई यो कुरा एकदमै ठिक हो भन्ने त्यसबेला लाग्यो जतिबेला म जापान गएकी थिएँ । मेरो घर चितवनको भण्डारामा पर्छ । मेरो जन्म चितवन भएकाले मलाई मेरो गाउँ, मेरो ठाउँ, मेरो परिवार अत्यन्तै प्यारो लाग्छ। मेरा बाबाममी जागिरका सिलसिलामा जापान जानुभएको थियो। उहाँहरू छुट्टीमा नेपाल आएका बेला मलाई पनि लिएर जानुभयो । म त्यहाँ एक वर्ष जति जापानमै बसेँ । मलाई त्यहीँको एउटा विद्यालयमा भर्ना गरिदिनुभएको थियो । त्यहाँका प्रायः विद्यार्थीहरू साइकलमा चढेर स्कुल जाँदा रहेछन् । कोही –कोही मात्र हिँडेर जाँदा रहेछन्। म पनि साथीहरू जस्तै साइकमा स्कुल जान्थेँ । मैले त्यहाँ जापानिज भाषा पनि सिक्ने अवसर पाएँ । त्यसबेला मसँग एक जना मिल्ने साथी थिई । उसको घर पनि हामी बसेको घर नजिकै थियो। म यसैसँग खेल्थेँ । उसैसँग स्कुल जान्थेँ । त्यहाँको वातावरण सुन्दर र रमाइलो थियो तर म त्यहाँको वातावरणमा भिज्न सकिनँ त्यसैले म मेरो मातृभूमि फर्केपछि धेरै खुसी भएँ। अहिले म काठमाडौँको भुवलडाँडामा अवस्थित जेनिसिस एकेडेमीमा पढ्दै छु । यहाँ मेरा बाबा ममी हुनुहुन्न। हजुरबा हजुरआमा पनि हुनुहुन्न । मेरो गाउँठाउँ पनि छैन तर पनि म खुसी छु किनभने मेरा दौँतरी साथीहरू छन् यहाँ । होस्टलमा मेरी ममी बिर्साउने मेम हुनुहुन्छ। बुबाले भैmैं माया गर्ने सरहरू हुनुहुन्छ। म साथीहरूसँग लुकामारी खेल्छु, लुँडो र ध्वाईँ खेल्छु । होस्टलको खुला वातावरणमा साथीसँग बसेर खाना खाँदा पनि मलाई आफ्नै घरमा बसेर खाना खाएको अनुभूति हुन्छ ।  

मैले जापान बसेका बेला बाबाममीले कहिलेकहीँ घुमाउन लैजानुहुन्थ्यो । मैले त्यहाँ बस्दा धेरै अनौँठा कुराहरू पनि देखेँ । अचम्म लाग्दा खानेकुरा पनि खाएँ । त्यहाँका मानिसहरू हामीले जस्तै दाल, भात र तरकारी खाँदा रहेछन् । उनीहरूको भाषामा भातलाई गोहान भन्दा रहेछन्। त्यसैगरी तरकारीलाई चाहिँ यासाई भन्दा रहेछन्। उनीहरूले सबैभन्दा मन पराएको खानेकुरा भने रामेन रहछ ।  जापानबाट नेपाल आएको एक वर्ष पुग्न नपाउँदा मैले फरि जापान नै जाने अवसर पाएँ। विश्वमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि असर पर्ने ठानेर नेपाल सरकारले २०७७ साल चैत्र महिनामा लकडाउन गर्ने हल्ला चलेपछि मलाई बाबाममीले जापान नै बोलाउनुभयो । एक त बाबाममीसँग भेट हुने भएकाले जापान जान पाउँदा म खुसी थिएँ भने अर्को त यहाँका साथीहरू छोडेर जानुपर्दा निकै दुःख पनि लागेको थियो ।  

म जापान पुगेको केही महिनापछि मेरो बहिनी जन्मिई । उसको नाम इसा हो । ऊ जापानमा जन्मेकी हुनाले होला ऊ ठ्याक्कै जाप्निजजस्तै देखिन्छे । ऊ मसँग खेल्न पाउँदा खुसी हुन्थी। हामी फुर्सदको समयमा साकुरा भन्ने पार्कमा जान्थ्यौँ ।  यो पार्क हामी बसेको घरभन्दा थोरै टाढा थियो । त्यसैले हामी त्यहाँ जाँदा साइकलमा चढेर जान्थ्यौँ । त्यो पार्क यति राम्रो थियो कि त्यसको वर्णन गर्न नै सकिँदैन । त्यहाँ खोला पनि थियो । त्यस खोलामा माछाहरू पनि थिए । हामी त्यहाँ गएका बेला माछा पनि मार्ने गथ्र्यौँ ।

एक दिनको कुरा हो । हामी खोलाको छेउमा बसेर माछा मार्न लागेका थियौँ । खोलाले मेरो जुत्ता नै बगाएर लग्यो । अँध्यारो बढ्दै गएको थियो। हामीले निकै प्रयास गरयौँ तर सफल भएनौँ । बरु जुत्ता निकाल्ने हुँदा मेरो ज्यान नै त्यस खोलामा झन्डै गएको थियो । पानीको वहावसँगै बग्दै गएको मेरो जुत्ता निकै तल पुग्यो । एउटा मान्छेले त्यो जुत्ता भिकिदियो।  हामीले उसलाई धन्यवाद दियौँ । त्यस दिनदेखि हामी घुम्न जाँदा चाँडै नै घर फर्केर आउन थाल्यौँ ।  

लकडाउन खुलेपछि विद्यालयहरू भौतिक रूपले सञ्चालन हुन थालेपछि म फेरि नेपाल फर्केर आएँ । मलाई लिन एयरपोर्टमा मेमसँग मेरा साथीहरू पनि आएका रहेछन् । उनीहरूसँग भेट हुँदा मलाई धेरै खुसी लाग्यो । विद्यालयमा धमाधम पढाइ हुँदै थियो । फेरि दोस्रो लहरको कोरोना फैलिएको हल्ला चल्यो । २०७८ वैशाख १६ गतेदेखि नेपालमा लकडाउन भयो । हामीले अनलाइनबाटै परीक्षा दियौँ । अहिले पनि लकडाउन नै छ । म मेरा साथीहरूसँग बसेर अनलाइन कक्षा पढ्दै छु । कक्षा सकिएपछि साथीभाइसँग रमाइलो कुराकानी हुन्छ । समय मिलाएर खेल्ने, नाच्ने, गाउने पनि गर्छौँ । बेलाबेलामा म बाबाममीसँग भिडियो कलमा कुराकानी पनि गर्छु । मसँग बहिनी पनि तोतेबेलीमा बोल्छे । म जापान गएर बसे पनि मलाई मेरो मातृभूमिको मायाले तानेर नेपाल नै ल्याएको छ । म यसमा खुसी छु । लकडाउनको बेला जापान गएर पनि मेरो मिल्ने साथीलाई भेट्न नपाएकोमा भने दुःख लागिरहेको छ ।  

प्रकाशित: ४ असार २०७८ ०७:२८ शुक्रबार

अक्षर