कला

न्यायमूर्ति

लघुकथा

दुर्गा वनवासी शिवाकोटी

 

धेरैका प्रिय र आदरणीय रहेछन् ती कालाकोटे। न्यायको दुनियाँमा ‘न्यायमूर्ति’ उपनामले चिनिने उनी दीनदुःखीका मुद्धा बिनाशुल्क लडि़दिन्छन् रे ! उनले हेरेका मुद्धाले कहिल्यै पराजित हुनु पर्दैन रे।

सन्तान नभएको निहुँमा लोग्ने र परिवार मिलेर अर्की आइमाई भित्र्याउनु मात्र नभएर घरबाट निकाला गरे मलाई। त्यही सिलसिलामा मैले मुद्धा लड्नु थियो न्यायका निम्ति । मेरा मामाले चितवनबाटै पनि खूब साथ, सुझाव र आर्थिक तथा भावनात्मक सहयोग गर्दै हुनुहुन्थ्यो मलाई। कुरैकुरामा एकजना शुभचिन्तकले ती न्यायमूर्तिका बारेमा भनेकाले भेट्न गएकी थिएँ।

सुनेकोभन्दा बढी पाएँ। त्यसै न्यायमूर्ति भनिएका होइन रहेछन् । शालीन व्यक्तित्व, नम्र स्वभाव तथा ध्यान दिएर सुन्ने धैर्य प्रचुर रहेछ उनीमा। एउटा तस्विर पनि लिएँ उनीसँग उनकै भव्य बैठक कोठामा। तस्वीरको पृष्ठमा उनका दिवंगत मातापिताको श्रद्धासाथ हार लगाइएको तस्वीर पनि थियो। यो मामालाई मेसेन्जरमा पठाएँ।  

मामाले तुरुन्तै कल गरेर अर्को वकिल खोज्न भन्नुभयो। तीनछक्क परें। त्यसपछि मामाले भन्नुभयो– भान्जी, त्यो पातकी कुनै न्यायमूर्ति होइन ।  उसकी विधवा बहिनी यहाँ एउटा सानो चियापसल गरेर गुजारा गर्छिन् । बिहे भएको दुई महिनामै पति बितेपछि परिवारले अलच्छिनी भनेर खेदेछन्। निकै ठूलो पहुँचवाला परिवार रहेछ। ठूल्ठूला नेतादेखि शहरका नामुद डनहरूसँग उठबस भएकाले त्यो कायर न्यायमूर्तिले आफ्नी सहोदर बहिनीलाई न्याय दिलाउन सकेन। त्यति मात्र हो र ? कम्तीमा आफ्नो त्यति ठूलो घरमा यसो एकछेउमा अटाएको भए के जान्थ्यो त्यसको? एउटा अलि गतिलो पसल नै खोलिदिएको भए पनि त हुन्थ्यो। धेरै दुखले गुजारा गरिरहेकी छिन् विचरा। गुण्डाको डरले आफ्नै बहिनीलाई न्याय दिलाउन नसक्ने र श्रीमतीको डरले बहिनीको अलि गतिलो व्यवस्था पनि गर्न नसक्ने त्यो लाछी केको न्यायमूर्ति ?

मामाको आवेशपूर्ण स्वरले न्यायमूर्तिका साथमा तस्वीर लिन पाउँदाको गौरव सेलाएर गयो।  मन भिजेर आयो।  चिसा परेली पुछ्दै मैले मुबाइलबाट त्यो फोटो डिलिट गरें ।

प्रकाशित: ३ असार २०७८ १०:२८ बिहीबार

अक्षर