कला

वृद्ध बाआमाको आवाज

कविता

रुपा कुँवर

 

उमेरको सिँढी चढ्दै गर्दा  

अनि सपनालाई कल्पनामा बदल्दै गर्दा  

हेर त छोरा !

कति चाँडै उमेर ढल्केर असी पुगिसेकेछु म

कुनै समय तिम्रो सहाराका  लागि  

समर्पित यी हातहरू

आज तिम्रो साथको याचना गर्दै  

फैलाउँदै छु तिम्रो माझ ।

 

बुढेसकालको सुख सम्झँदै  

बगाएका ती रगत र पसिनाका धाराहरू

खै ! कहाँ गएर मिसिएका छन् ?

प्रश्न गर्दै छु म  

यो वृद्ध आश्रमको बन्द कोठाबाट ।

वरिपरि छन् मजस्ता वृद्ध बा र आमाहरू यहाँ  

अभैm पनि पोयोमा अडिएको सासले भनिरहेछ  

छोराछोरी लिन आउँछन् भन्ने आश छ ममा ।

 

उभिने सहारा लौरो छ साथमा  

तिम्रो हातको प्रतिविम्वका रूपमा

वृद्धाश्रमको पर्खाल छ अग्लो  

बाहिरी संसार ढाक्ने  

आफ्नै  मुटुको टुक्रा तिमी  

बिर्सन सक्दिनँ म  

भ¥याङ चढ्दा बढ्छ धड्कन

उक्लन सक्दिनँ म

मेरै काँधमा चढी पाइला चाल्न सिकेका तिमी

मेरै मायालु खास्टोमा बेरिई  

ठुला भएका तिमी  

कति चाँडै पराईको भइसकेछौ  

गुनको बदला बैगुन दिएर  

नयाँ संसार रचिसके छौ ।

 

तिम्रो बोली मात्रै सुन्दा पनि खुसी हुने म  

तिम्रो आवाज सुन्न महिनौदेखि तड्पिरेछु  

तिमीलार्ई ‘को खाई, को खाई’ भन्दै  

खुवाउने यी हातहरू हेर्दै  

निर्जीव भएको छु म ।

 

मन त भन्छ ,  

खुसीले बाँच्न चाहन्छु तिमीसँग  

तिम्रो खुसीमा समर्पित गर्न चाहन्छु आफूलाई  

आँखा भरिएर आउँछन्,

धड्कन बढेर आउँछ  

तिम्रो यादले सताएका पल ।

 

वरपरका दौँतरीहरू  

नातिनातिनासँग खेल्दा होलान्  

कथा र किस्सा सुनाउँदा होलान्  

तोते बाली निकाल्दै  

बाललोहोरी गाउँदा होलान्  

तर म आफ्नै जीवनसँग  

विगत कोट्याएर पिलो निचोरिरहेछु  

आँखा रसाएर मन हलुका पारिरहेछु ।

 

शरीर शिथिल भएर थलिएको छ आज

गलामा अड्किएको छ सास अभैm पनि  

परपर अन्तस्करणमा गुन्जिएको सुन्छु तिम्रो स्वर  

बन्द कोठामा तिम्रो छायाँ चलमलाएको देख्छु  

त्यसैले मेरो छोरा !

मेरो मुटुको टुक्रा !  

अन्तिम पटक भए पनि भेट्न आऊ  

 

म यो भेन्टिलेटरमा अक्सिजनको सहाराले  

सङ्घर्ष गरिरहेछु ।

तिम्रो मुहार हेर्ने अन्तिम इच्छा पूरा गर्न  

तिमीले बिर्सिए पनि  

म कहाँ भुल्न सक्छु र ?

म आमा हुँ तिम्री  

तिम्रै पर्खाईमा तड्पिरहेछु  

तड्पिरहेछु ...!

प्रकाशित: २ असार २०७८ १२:४६ बुधबार

अक्षर