कला

आडम्बर

लघुकथा

आचार्य प्रभा  

 

एउटा ठुलो रूखमुनि केही मानिसहरू भेला भएका थिए। रूखमा बुद्धको ठुलो तस्बीर टाँगिएको थियो। हेर्दा लाग्दथ्यो ती सब बुद्धका अनुयायीहरू हुन् । एउटा कुर्सीमा हर्कवीर गेरुवस्त्रमा सजिएर बुद्धझैं शान्त मुद्रामा बसेका थिए। उनी त्यहाँ आएकाहरूलाई बुद्धका उपदेशहरू सुनाइरहेका थिए। वातावरण शान्त र सुन्दर थियो। बुद्धको उपदेशका कुराहरू सुन्नालाई सब मौन थिए। हेर्दा लाग्थ्यो, हर्कवीर बुद्धकै प्रतिमूर्तिझैं।

उनी बुद्धका वचनहरू सुनाउँमै व्यस्त थिए।

त्यही बीचबाट एउटी नारीले उठेर भनिन्, ‘तपाईको मुखारवृन्दबाट बुद्धको वाणी सुन्दा यस्तो लाग्यो। आज बुद्ध नै हामीसामु प्रकट हुनुभयो। तर बुद्ध पनि हामीजस्तै मान्छे हुन् , उनी देवता होइनन् भनेको सुन्दा यस्तो लाग्यो– आखिर बुद्ध पनि मान्छे नै हुन् भने। तपाई पनि मान्छे नै हुनुहुन्छ तर किन तपाईको प्रवृत्ति भने राक्षसको जस्तो त ? बुद्धको वाणीको अनुसरण गरेर मात्र हुन्न। त्यसलाई प्रयोगमा पनि ल्याउन सक्नुपर्छ। क्षणिक गेरुवस्त्रमा सजिएर बुद्धको प्रवचन फलाक्दैमा बुद्ध भइन्न। त्यसैले मान्छेलाई भ्रमको जालोमा नपार्नुहोस्।’

अचानक ती स्त्रीको कुरा सुनेर सब चकित बनेर  मुखामुख गर्न थाले। हर्कवीर रणभुल्लमा परे।  उनले त्यो भिडमा  अन्याय,हिंसाबाट आजित आफ्नी  श्रीमती पनि छिन् भनेर  सोचेकै थिएनन्  । केही समयपछि ती स्त्रीले आफ्नो विगतका सबै घटना छर्लङ्ङ पारेपछि सबैले एकैस्वरमा भने –हो अहिलेको समयमा धर्मको नाममा हिंसा गर्नेहरू धेरै छन्। यी सब धर्मभीरु भनाउँदाहरू हामी जस्तालाई पंगु बनाएर धर्मकै बद्नाम गर्नेहरू हुन्। हामी अन्धभक्त हुनुहुन्न। मुखले बुद्ध वाणी अलाप्दै व्यवहारमा कुटिल बन्ने धर्मात्माहरूसँग होसियार हुनुपर्छ।  त्यत्ति भन्दै सब बाटा लागे। 

हर्कवीर किंकर्तव्यविमूढ बनेर त्यहीँ उभिरहेको थियो।

प्रकाशित: २ असार २०७८ ११:१७ बुधबार

अक्षर