ममता मृदुल
लिची लटरम्म फलेको देखेर उस्ले भनी, ‘आहा कति धेरै लिची फलेको रहेछ ।’
तलाई लिची मन पर्छ । ल हिँड बोटमा भनेर टिपेर अघाउन्जेल खान दिए ।
हामीलाई देखेर आमाले लिची टिपेर घर लैजाऊ भनेर झोलाभरि लिची दिनुभयो। ऊ खुसी भएर गई।
हप्ता दिनपछि उसको जन्म दिन रहेछ। मैले केही मन परेका सामान उपहार दिए।
प्राय म उसलाई केही दिइरहन्थे।
हाम्रो घर नजिक भएकाले ऊ आइरहन्थी। आज मलाई चटपटे खान मन लाग्यो । साथीको घरमा लटरम्म कागती फलेको देखेकी थिएँ । साथीको घरमा गए । ओछ्यानभरि मैले दिएको उपहार छरपस्ट राखेर मिलाउँदै गरेको देखे । मलाई देखेर हाँस्दै बस्न भनी ।
–मलाई दुईटा कागती देऊ न , मैले भनें ।
– म भरे आमा आएपछि दिन्छु ल, उसले भनी।
म केही नबोली पसलमा गएँ।
चारवटा कागती किनेर घर आएँ।
चारवटा कागती देखेर छक्क पर्दै आमाले भन्नुभयो – हाम्रोबाट त जे पनि झोला भरेर लैजाने तेरी साथीले चारवटा मात्र कागती दिई ।
प्रकाशित: २ असार २०७८ ०९:२३ बुधबार